Comments Add Comment

२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति, आन्दोलन स्थगित

१३ पुस, काठमाडौं । १६ दिनदेखि आन्दोलतरत उखु किसान र सरकारबीच चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएको छ ।

यससँगै सर्लाही लगायतका जिल्लाबाट आएर काठमाडौंको माइतीघरमा धर्ना बसेका उखु किसाहरु आन्दोलन रोक्न तयार भएका छन् । ‘उद्योगीको बैंक खाता रोक्का गर्ने, यात्रामा प्रतिबन्ध लगाउने र २१ दिनभित्र सबै रकम भुक्तानी नभए जयजेथा राज्यले लिएर किसानलाई पैसा दिने समझदारी भयो’ उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले भने ।

सोमबार भएको सहमतिमा उखु किसानहरुको बक्यौता उठाउने जिम्मा मन्त्रालयले लिएको छ । साथै उखु किसानका अन्य समस्या समाधान गर्न अध्ययन कार्यदल गठन गर्ने सहमति भएको छ ।

कार्यदलको जिम्मेवारी पनि सहमति पत्रमै किटान गरिएको छ, जसअनुसार बक्यौता रकमबारे किसानले गरेको दाबी र चिनी उद्योगीको दाबीबारे अध्ययन गरेर कार्यदलले सुझाव पेश गर्नेछ भने सरकारले तोकेको समर्थन मूल्य किसानले पाए नपाएको पनि हेर्नेछ ।

उखु तथा चिनीको उत्पादन, बजारीकरण, अनुदान रकम भुक्तानी, सुख्खा कट्टी जस्ता विषयमा किसान तथा उद्योगीले भोगेको समस्या पहिचन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका लागि सुझाव पेश गर्ने र किसानले मिलमा उखु बुझाएपछि पैसा तिर्ने समय अवधि किटान गर्ने विषयमा पनि सुझाव पेश गर्न भनिएको छ ।

१० सदस्यीय कार्यदलमा उद्योग, अर्थ, गृह, कृषि मन्त्रालयबाट एक/एक जना, उखु किसानबाट ३ जना, चिनी उत्पादक संघबाट एक र उखु किसान संघर्ष समितिबाट दुई जना प्रतिनिधि रहनेछन् ।

आन्दोलनले उठायो ३३ करोड बक्यौता 

झण्डै ९० करोड रुपैयाँ बक्यौता पाउनुपर्ने भन्दै किसानहरुले मंसिर २८ गतेदेखि आन्दोलन सुरु गरेका थिए । आन्दोलनका क्रममा ३३ करोड रुपैयाँ बक्यौता उठेको समितिका संरक्षक राकेश मिश्रले बताए ।

‘गत वर्षको आन्दोलनबाट पनि आंशिक बक्यौता उठेको थियो यस पटक धेरै उठेको छ,’ मिश्रले थपे, ‘बाँकी रकम पनि उठ्छ भन्नेमा विश्वस्त छौं, पोहोरजस्तो धोका नहोला ।’

हेर्नुहोस् सहमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment