Comments Add Comment

प्रचण्ड-माधवको बहुमत भए पनि ढुक्क छैनन् सुदूरपश्चिमका मुख्यमन्त्री

१३ पुस, कैलाली । केन्द्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादको बाछिटा सुदूरपश्चिम प्रदेशसम्म आइपुगेको छ । २०७४ को निर्वाचनपछि नेकपा नेता लेखराज भट्टको सिफारिसमा त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए ।

उद्योगमन्त्री समेत रहेका लेखराज प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन् । मुख्यमन्त्री त्रिलोचन भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षमा छन् ।

नेकपाको केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री त्रिलोचन ओलीले बोलाएको बैठकमा नगएर आफू प्रचण्ड-माधव पक्षमा लागेको स्पष्ट संकेत दिएका हुन । सुदूरपश्चिम प्रदेशमा उनको नेतृत्वमा ७ सदस्य मन्त्रिपरिषद् छ । उनीहरू मध्ये साविक एमालेबाट चार र साविक माओवादीबाट मुख्यमन्त्री सहित तीनजना मन्त्री छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट प्रचण्ड-माधव पक्षका हुन् । मुख्यमन्त्री त्रिलोचन र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरी मन्त्री प्रचण्ड-माधव पक्षमै छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा कुनै पनि पक्षमा खुलेका छैनन् । भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा ओली पक्षमा छन् ।

प्रचण्ड-माधव पक्षको स्पष्ट बहुमत

५३ जना प्रदेशसभा रहेको सुदूरपश्चिम प्रदेशमा नेकपाका ३९ सांसद छन् । उनीहरू मध्ये साविक एमालेबाट २५ र माओवादीबाट १४ जना सांसद छन् ।

सभामुख र उपसभामुख बाहेक प्रचण्ड-माधव पक्षमा ३० र ओली पक्षमा ७ जना छन् ।

प्रदेश सरकार गठनका लागि २७ सांसद पर्याप्त छन् । आफ्नो पक्षमा रहेका सांसदहरूलाई जोगाउन सक्दा प्रचण्ड-माधव पक्षसँग स्पष्ट बहुमत छ । तर प्रचण्ड-माधव समूहबाटै मुख्यमन्त्री त्रिलोचन भट्टलाई खतरा रहेको कतिपयको भनाइ छ । उनीविरुद्ध हस्ताक्षर भइरहेको एक नेताको दाबी छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव ओली भने सरकार परिवर्तनको गुञ्जायश नभएको बताउँछन् ।

आधा-आधा सरकार चलाउने सहमति-ओली पक्ष

प्रदेश सभा सदस्यसमेत रहेका ओली पक्षका कैलाली जिल्ला अध्यक्ष रतन थापाले अढाइ वर्षपछि सरकार परिवर्तन हुने सहमति भएको भन्दै सरकार परिवर्तन हुनुपर्ने बताए । ओली र प्रचण्डबीच आधा-आधा कार्यकालमा प्रधानमन्त्री सहमति भए जस्तै प्रदेशमा पनि त्यस्तै सहमति भएको उनको दाबी छ ।

‘अढाइ वर्षपछि सरकार परिवर्तनको छलफल भएको थियो,’ सांसद थापा भन्छन्, ‘त्यसो नभए पनि सरकार फेरिन सक्छ ।’

ओली पक्षबाट केन्द्रीय सदस्य थपिएका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा भने अहिले सरकार परिवर्तन गर्नु नहुँने बताउँछन् । ‘केन्द्रमा जे जस्तो भए पनि यता मिलेर जानु पर्छ,’ उनी भन्छन्, ‘यस्तो अवस्था सरकार परिवर्तन भए प्रदेशमा विकास निर्माणमा असर पुग्छ ।’

कांग्रेस र जसपाको मुड

ओली समूहले प्रचण्ड-माधव पक्षका ६ सांसदलाई आफ्नो पक्षमा ल्याउन सक्ने हो भने सरकार परिवर्तनको गणितीय सम्भावनालाई नकार्न सकिदैन । ६ सिट थपेपछि पनि १२ सिट भएको नेपाली कांग्रेस र २ सिट भएको जनता समाजवादी पार्टी (जसपा)लाई आफ्नो पनि मनाउनु पर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गरिरहेकाले कांग्रेसका प्रदेश नेताहरू भने अहिले नै सरकारमा जान हतार नगर्ने बताउँछन् । ‘हामी प्रधानमन्त्रीको कदमको बिरोधमा छौँ’ कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावल भन्छन् ‘हामीलाई सरकारमा जान हतार छैन ।’

त्रिलोचन भट्ट नेतृत्वको सरकारसँग रावल सन्तुष्ट भने छैनन् । उनी भन्छन्, ‘अहिलेको सरकारले राम्रो काम गरेको भए नयाँ सरकार बनाउँन आवश्यक थिएन ।’

जसपाले पनि तत्काल सरकारमा सहभागी नहुने बताएको छ । जसपाकी प्रमुख सचेतक मालामतीकुमारी राना भन्छिन्, ‘हामी आन्दोलनमा छौं, त्यसैले अहिले सरकारमा जाँदैनौं ।’

यो पनि पढ्नुहोस गण्डकी सरकारलाई जनमोर्चाको साथ, बलियो देखिए मुख्यमन्त्री गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment