Comments Add Comment

राष्ट्रिय महिला क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुवात

१४ पुस, दाङ । सुदूरपश्चिम प्रदेशले दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले पराजित गर्‍यो ।

खेलमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो ।

ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहँदै ६ रन जोडिन् ।

बलिङमा सुदूरपश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुवँर, रितु कनौजिया र लक्ष्मी साउदले १-१ विकेट लिए ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि रेवती धामीले सर्वाधिक रन बनाइन् । ३६ बलको सामना गरेकी उनले २ चौकासहित २७ रन बनाएकी थिइन् । यस्तै कप्तान विन्दु रावलले १३ रन, मन्जु बोगटीले १० रन र रुवि पोदारले ५ रन बनाएकी थिइन् ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३-३ विकेट लिए भने अञ्जली विश्वकर्माले पनि पनि १ विकेट लिन सफल भइन् ।

यता प्रतियोगितामा समूह ‘ए’ बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका छन् । एपीएफ समूह विजेता हुँदै सेमिफाइनल पुग्दा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment