Comments Add Comment

सडकबाट प्रचण्ड–माधवको चेतावनी : ओली नसच्चिए सकिन्छन्

१४ पुस, काठमाडौं । संसद विघटनविरुद्ध नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकामा भएको प्रदर्शनमा जनसहभागिता उत्साहजनक रहेको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए ।

यो समूहले मंगलबार बागमती प्रदेशबाहेक सबै जिल्लाहरु जिल्लास्तरीय विरोधसभा गरेको छ । काठमाडौंमा केन्द्रित गरिएको बागमती प्रदेश स्तरीय प्रदर्शन राजधानीका विभिन्न स्थानबाट शुरु भएर प्रदर्शनीमार्ग पुगी सभामा परिणत भएको थियो । यो सभालाई शीर्षनेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गरे ।

सम्बोधनका क्रममा नेताहरुले असंवैधानिक र अराजनीतिक ढंगबाट गरिएको संसद विघटनको निर्णय स्वीकार्य नहुने बताए । सँगै, आगामी संघर्षको कार्यक्रम कस्तो हुन्छ भन्ने सन्देश पनि नेताहरुले दिए । नेता योगेश भट्टराईका अनुसार बुधबार पेरिसडाँडाबाट आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरिने छ ।

माफी मागे ओलीसँग मिल्न तयार

केपी शर्मा ओलीलाई गैरकम्युनिष्ट र तानाशाहीकै संज्ञा दिएका नेताहरुले संसद विघटन गर्ने कदमप्रति ओलीले गम्भीर माफी माग्दै सच्चिन तयार भए फेरि पनि मिल्न राजी हुने प्रष्ट पारे । विशेषगरी प्रचण्ड र माधव नेपालले ओलीले माफी मागे सबै कुरा बिर्सन तयार हुने बताएका थिए ।

अझै पनि पार्टी एकता कायम राख्ने प्रयासमा जुटिरहेका नेता वामदेव गौतमप्रति संकेत गर्दै नेपालले भने, ‘केपी ओलीलाई सुधार्न भनेर कोहीकोही कमरेडहरु प्रयास गरिरहनु भएको छ । त्यो प्रयास जारी राख्नुहोस् । बालुवाटारको बालुवा पेल्दापेल्दा तेल निस्कन्छ कि ! तेल निकाल्न सक्नुहुन्छ भने म स्याब्बास भन्छु ।’

ओली सच्चिए सबै कुरा बिर्सन तयार हुने पनि नेपालले बताए । ‘अझै पनि त्यो असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ, सच्चिनु हुन्छ भने हामी सबै कुरा बिर्सन तयार छौं’, नेपालको भनाइ थियो ।

तर, त्यसका लागि ओलीले पश्चाताप गर्नुपर्ने प्रचण्डले सर्त राखे । ‘जबजम्म केपी ओलीले पश्चात गर्ने छैनन्, आफैंले बनाएको संविधानको बलात्कार गरेँ, म अपराधी हुँ भन्ने छैनन्, तबसम्म इतिहासले माफी दिने छैन, नेपाली जनताले क्षमा दिने छैनन्’, प्रचण्डको सर्त थियो ।

यो पनि पढ्नुहोस वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन् : प्रचण्ड

यदि, ओली नसच्चिए आफ्नो तर्फबाट कुनै पहलकदमी नहुने पनि दुवै नेताले प्रष्ट्याए । ‘भीरबाट लडेर मर्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन’, नेपालको भनाइ थियो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई देश र पार्टीका लागि कुपुत्र नबन्नसमेत आग्रह गरे ।

राजासँग तुलना

प्रचण्ड र नेपालजस्तै स्वरमा झलनाथ खनाल र अष्टलक्ष्मी शाक्यले पनि ओलीलाई तानाशाहीको आरोप लगाए । ‘बालुवाटार पुगेको दिनदेखि पार्टी बिर्सनु भो । यो पार्टीलाई भर्‍याङ बनाइदिनुभयो । त्यसपछि पार्टीको नीति बिर्सनुभयो’, खनालले ओलीलाई पञ्चायती प्रधानमन्त्रीसँग तुलना गरे, ‘यो तीन वर्षमा खेर गयो । यो तीन वर्षमा मरिचमान (सिंह) ले गरेजति पनि गरेनन् । नगेन्द्रप्रसाद रिजालले जति पनि काम गरेनन् ।’

यो पनि पढ्नुहोस झलनाथ खनालको प्रश्न : खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?

स्वागत मन्तव्य राखेकी शाक्यले राजतन्त्र विरुद्ध १६ वर्ष अगाडि भएको जनक्रान्तिसँग यो विरोधको तुलना गरिन् । संविधान र गणतन्त्र संकटमा परेकाले ओलीविरुद्ध सडकमा आउनुपरेको उनले बताइन् । ‘संघीय लोकतन्त्रमाथि ओली सरकारले धावा बोलेका छन् । गणतन्त्र माथि धावा बोलेका छन् । संविधानमाथि कू गरेका छन्’, शाक्यको भनाइ थियो ।

नेता नेपालले केपी ओली गणतन्त्र र धर्म निरपेक्षताविरोधी भएको बताए । ओलीमा कम्युनिस्ट शैली, प्रवृत्ति र आचरण नरहेको आरोप लगाएका नेपालले ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरे । उनले भने, ‘ठीक यही प्रवृत्ति थियो तत्कालीन राजा ज्ञानेन्द्रमा, मलाई बोलाएर भन्नुहुन्थ्यो, गिरिजाप्रसाद विदेशी दलाल हो, यसले त देश नै खाने भयो, नेपाली कांग्रेस काम नै लाग्दैन । म त्यहाँबाट हिँडेपछि गिरिजाबाबुलाई बोलाएर भन्नुहुन्थ्यो, कम्युनिस्टहरु तानाशाहहरु हुन्, नेपालमा यसको नामेट गर्नुपर्छ ।’

प्रचण्डले भने गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधीले सच्चिए भन्दैमा विश्वास गरेर प्रधानमन्त्री बनाउन पुगेकोमा जनतासँग माफी नै मागे । गणतन्त्रवादी आन्दोलनको पक्षमा नभएका ओलीको बयलगाढाको सिद्धान्त पनि थाहा भएको बताउँदै प्रचण्डले भने, ‘उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिएँ भन्नुभयो । हामीले सच्चिनुभयो होला भन्ने मान्यौं ।’

तर, संसद विघटन गर्ने प्रतिगामी कदम जनताले सडकबाटै सच्याउने अवस्थामा आउँदा ओली सकिने चेतावनी प्रचण्डले दिए । ‘जनता भनेको, झुक्याएपछि झुक्किहाल्छन् भन्ने सोचियो भने, समयमा सच्चिएनौ भने, अढाइ सय वर्षे राजतन्त्रलाई फाल्न सक्ने जनताले निरङ्कुशताका पुजारीहरुलाई सजिलै बढार्नेछन्’ प्रचण्डको चेतावनी थियो ।

नेताहरुले यो आन्दोलनलाई टेलर मात्रै भएको बताए । ०४६ मा मदन भण्डारीले गरेको भाषण सापटी लिँदै प्रचण्डले आगामी आन्दोलन झनै सशक्त हुने घोषणा गरे । ‘२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा एउटा सभामा मदन भण्डारीले भनेका थिए, यो टेलर मात्रै हो, भत्केउरो मात्रै हो । जन्ती आउनै बाँकी छ । बाजा बज्नै बाँकी छ ।’

प्रचण्डले यो आन्दोलन वैशाखसम्मै लम्बिने संकेत पनि गरे । ‘केपी ओली गोटी बनेका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि हुनेछैन । केपी ओलीको पत्तासाप हुनेछ । श्री ५ महाराजधिराज हुने छैनन्’, प्रचण्डले भने ।

नाम उल्लेख नगरे पनि प्रचण्डले नेपाली कांग्रेसलाई निर्वाचन हुन्छ भन्ने सपना नदेख्न आग्रह पनि गरे । ‘कतिपयले साथीहरुले मध्यावधि भइहाले निर्वाचन जितिहालिन्छ भनेर सपना देखेको देख्छु । यो निर्वाचन गर्न घोषणा भएकै होइन । निर्वाचन त हुँदैन, जबर्जस्ती लगिहाल्छौं भन्ने योजना छ’, प्रचण्डले भनाइ थियो ।

नेताहरुले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई पनि आफू वैधानिक नेकपा भएको सन्देश दिएका थिए । ‘सिंगै देशको जनताको भावना र संविधानको अक्षरलाई सम्मानित सर्वोच्च अदालतले सम्मान गर्नेछ । भरोसा व्यक्त गर्न चाहन्छ’, प्रचण्डले भनेका थिए । तर, संसद पुनर्स्थापनामा जनताको पूरा विश्वास भएको उनको भनाइ थियो ।

पार्टीको नाम र निर्वाचन चिन्ह दाबी गर्दै माधव नेपालले आवश्यक परे, डीएनए र रगत चेक गर्न तयार हुने बताए । पार्टी विभाजन हुनुअघि कायम ४३७ मध्ये २९५ जनाको हस्ताक्षर निर्वाचन आयोगमै बुझाएको उल्लेख गर्दै नेपालले भने, ‘लगाएका मास्क हटाउन मात्रै होइन, आवश्यक परे डीएनए चेक गर्न तयार छौं । रगत चेक गर्न तयार छौं ।’

केपी ओलीको सिफारिसमा पुस ५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसको पुनर्स्थापना गर्न र निर्वाचन आयोगलाई आफूहरु नै नेकपा भएको देखाउँदै पार्टी निर्माण उद्देश्यले नेकपाले चरणवद्ध भेला, बैठक र प्रदर्शन गरिरहेको छ ।

बुधबार, थप आन्दोलन घोषणा गर्ने तयारी यो समूहले गरेको छ । दोस्रो चरणको विरोधसभालाई सर्वदलीय बनाउने यो समूहको योजना छ । यसअघि पुस १३ मा कांग्रेस र पुस १२ मा जनता समाजवादी पार्टीले देशभर संसद विघटन विरुद्धमा प्रदर्शन गरेका थिए ।

यो पनि पढ्नुहोस संसद विघटनविरुद्ध प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment