Comments Add Comment

प्रधानमन्त्रीले नेताहरुको फोन ट्यापिङ गरिरहेका छन् : वर्षमान पुन

१४ पुस, रोल्पा । निवर्तमान मन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीमाथि गैरकानूनीरुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा बोल्दै पुनले नेताहरुलाई तर्साउन प्रधानमन्त्रीले त्यस्तो गरेको आरोप लगाए ।

‘सबै नेताहरुको टेलिफोन ट्यापिङ भइरहेको छ, नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन’, पुनले भने, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरिएको छ, हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको मुलुकमा यो स्वीकार्य हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीका कारण राष्ट्रिय व्यवसायीहरुसमेत आतंकित बनेको पुनले बताए । सरकार बन्दै गर्दा सहयात्री दलको जिम्मामा परेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई नियतबस आफू मातहत राखेर प्रधानमन्त्री ओलीले सुरुमै सबै चिज आफूमा केन्द्रित गर्ने संकेत देखाएको पुनले बताए ।

‘सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग आफू मातहत राखेर उद्योगी व्यवसायीलाई तर्साएर आत्मसमर्पण गराउने र नगर्नेलाई कारबाही गर्ने काम भयो,’ उनले भने, ‘हामीले सबै अधिकार एउटै व्यक्तिका अधीनमा राखेर मानिसहरुलाई आतंकित पार्नेखालको लोकतन्त्र ल्याएका होइनौं ।’

शक्ति र सत्ताको दुरुपयोग दुई दिनको कुरा भएको भन्दै पुनले सत्ता र शक्तिको धम्कीबाट आफूहरु नडराउने बताए ।

प्रधानमन्त्री ओलीले संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले दलभित्र असहयोग भएको बहानामा जनताको अभिमतको अपमान गर्ने छुट संविधानले प्रधानमन्त्रीलाई नदिएको बताए ।

अस्वाभाविक रुपमा अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिस प्रधानमन्त्री भेटेर फर्कने र प्रधानमन्त्रीको पूर्वराजासँग साँठगाँठको चर्चा चलिरहेका बेला संसद विघटन हुनुलाई आफूहरुले गम्भीर रुपमा लिएको पुनको भनाइ छ ।

प्रधानमन्त्रीले चालेको प्रतिगामी कदम नसच्चिए योभन्दा कडा स्वरुपको आन्दोलनमा जाने चेतावनी पुनले दिए ।

रोल्पाली नेता पुनले संसद विघटनसँगै संघीयता, धर्मनिरपेक्षता, समावेशिता र गणतन्त्र मन नपराउने तत्वले धमिलो पानीमा माछा मार्ने अवसरका रुपमा प्रयोग गर्न खोजेको भन्दै १० औं हजारको बलिदानीबाट आएको परिवर्तन खोस्न नदिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment