Comments Add Comment

विराटनगरमा नेकपा : तीनपैनी जाँदैन ओली समूह, पाञ्चाली पुग्दैनन् प्रचण्ड–माधव समूह

१६ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विराटनगरमा दुईवटा कार्यालय छन् । तत्कालीन माओवादी केन्द्रको भाडामा रहेको जिल्ला पार्टी कार्यालय तीनपैनीलाई एकीकरणपछि प्रदेश कार्यालय र तत्कालीन एमालेको विराटनगर पाञ्चालीमा रहेको पार्टी कार्यालयलाई जिल्ला कार्यालय बनाइएको थियो ।

पुस ५ अघिसम्म दुवै कार्यालयमा दुवै समूहका नेता–कायकर्ताको आउजाउ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेकपा दुई समूहमा विभाजित भयो । पार्टी विभाजनपछि जिल्ला कार्यालयमा ओली समूहले गतिविधि सञ्चालन गर्छ । प्रदेश कार्यालय तीनपैनी चोकमा प्रचण्ड–माधव समूहको गतिविधि हुन्छ ।

पछिल्लो समय ओली समूह तीनपैनी पुगेको छैन । प्रचण्ड–माधव समूह पनि पाञ्चाली गएको छैन । दुवै समूह कार्यालय पुग्दा झडप हुनसक्ने सम्भावना रहेकाले प्रचण्ड–माधव समूह जिल्ला कार्यालय नपुगेका हुन् । पार्टीको विभाजनले वैधानिकता पाएपछि पाञ्चाली जाने माधव–प्रचण्ड समूहको तयारी छ ।

नेकपा केन्द्रीय सदस्य महेश रेग्मी दुवै पार्टी कार्यालय आफ्नो समूहको भएको बताउँछन् । नेकपाबाट ओली समूहले पार्टी फुटाएको बताउँदै उनले पाञ्चाली र तीनपैनी चोकको कार्यालय बहुमत केन्द्रीय सदस्य रहेको नेकपाको रहेको बताए । नेकपा मोरङका सचिव गणेश उप्रेतीले पनि दुवै कार्यालय बुहमत केन्द्रीय सदस्य रहेको नेकपाको रहेको बताए । पाञ्चाली पनि जाने बताउँदै उनले नजिक भएकाले तीनपैनीमा छलफल हुने गरेको बताए ।

नेकपा मोरङ अध्यक्ष ऋषिकेस पोखरेल पार्टी विभाजन नभएकाले दुवै कार्यालय नेकपाकै भएको बताउँछन् । ओली समूहका नेता पोखरेलले सहजता र नजिकको हिसाबमा दुवै कार्यालयमा छलफल हुने गरेको बताए । कानुनी रुपमा पार्टी विभाजनपछि सबै विषय प्रष्ट हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment