Comments Add Comment

खेलकुदलाई कोरोनाले कक्रक्क पारेको वर्ष

१६ पुस. काठमाडौं । वर्ष २०२० भन्नेबित्तिकै महामारीको बर्षको रुपमा चिनिन्छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस महामारीले गर्दा विश्वभर सबै क्षेत्रमा प्रभाव पर्यो । त्यसमा खेलकुद पनि अछुतो रहेन ।

कोरोनाले विश्वभरका खेलकुद गतविधि नै केही महिना ठप्प बनेको थियो । विस्तारै युरोपियन फुटबल लिगहरु बिनादर्शक मैदान फर्कन थाले । तर खेलकुदको महाकुम्भ ओलम्पिक देखि टी–२० विश्वकप, युरो कप लगायत २०२० मा तय भएको प्रतियोगिताहरु स्थगित भए ।

नेपालमा पनि धेरै खेलकुद गतिविधिहरु हुन पाएनन् । सन् २०१९ को अन्त्यमा सागमा सफलता हात पारेको नेपाली खेलकुदले त्यसको खुशी राम्ररी मनाउन नपाउँदै कोरोना महामारीले हिट गर्यो । धेरै खेल गतिविधि स्थगित भए । खेलाडीहरु घरमै थन्किए ।

२०२० मा खेलकुद चलायमान हुन पाएन । तर केही गतिविधि भने भए । अझ मैदान बाहिरको गतिविधिहरु चर्चामा रहे । खेलकुदलाई कोरोनाले गाँजिरहँदा केही खेलाडी, प्रशिक्षक र खेलकर्मीहरु समेत संक्रमित बने ।

कोरोना महामारीका कारण मार्च दोस्रो सातादेखि नेपालमा सरकारले लकडाउन गरेको थियो । त्यसपछि खेलकुद कहिले फर्कन्छ भन्ने नै मुख्य चर्चाको विषय बनेको थियो । वर्षको अन्त्यसम्म आइपुग्दा खेलकुद अवयवहरु विस्तारै चल्मलाउन थालेका छन् ।

राष्ट्रिय फुटबल टिमले दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ । क्रिकेट टिमले प्रशिक्षण थालेको छ । घरेलु क्रिकेट प्रतियोगिताहरु हुन थालेका छन् ।

अन्य खेलहरुमा ब्याडमिन्टन, बक्सिङ, टेबलटेनिस लगायत खेलको प्रशिक्षण सुरु भएको छ । तर कोरोना महामारीपछि खेलकुद प्रतियोगिताहरु भने खासै हुन सकेका छैनन् । महामारीले गर्दा केही खेलको भर्चुअल प्रतिस्पर्धाहरु भए ।

कोरोना सन्त्रासअघि

२०१९ को डिसेम्बर १ देखि १० सम्म नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो । जसमा नेपालले अहिलेसम्मकै धेरै ५१ स्वर्ण जित्दै ऐतिहासिक उपलब्धी हासिल गर्यो ।

१३औं सागपछि शहीद स्मारक ए डिभिजन लिग आयोजना भयो । मछिन्द्रले क्लबले पहिलोपटक जित्दै इतिहास बनायो । सरस्वती युथ क्लब रेलिगेसनमा पर्यो । बी डिभिजन लिग पनि एन्फाले सुरु गरिसकेको थियो तर कोरोनाकै कारण बिचमै स्थगित भयो । सी डिभिजन लिग महिला राष्ट्रिय लिग जस्ता प्रतियोगिता सुरु हुनै पाएन ।

यस्तै क्रिकेटतर्फ नेपालले घरेलु मैदानमै खेल्दै विश्वकप लिग-२ मा डेब्यु गर्यो । ओमान र अमेरिका सम्मिलित उक्त ट्राइसिरिजमा नेपालले २ खेल जित्दा २ वटामा हार व्यहोर्यो । सिरिजपछि उमेश पटवालले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिए ।

लिग-२ को प्रदर्शनपछि नेपालले मार्चमा थाइल्याण्डमा एसीसी टी–२० इस्टर्न रिजन क्रिकेट खेलेको थियो । त्यसमा जगत टमाटाले कार्यवाहक प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेका थिए । इस्टर्न रिजन जित्दै एसिया कपमा छनोट हुने लक्ष्य राखेको नेपालले राम्रो प्रदर्शन गर्न सकेन । कोरोनाकै कारण एसिया कप पनि आयोजना हुन सकेन ।

यस्तै मार्च महिनामा तय भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) पनि स्थगित भयो । क्रिस गेल जस्ता विश्व चर्चित खेलाडीहरुलाई टीयू मैदानमा खेलेको हेर्ने रहर तत्कालका लागि अधुरै रह्यो । इपीएलको अर्को मिति अझै तय भएको छैन ।

एन्फाले गर्ने प्रतियोगितादेखि मोफसलका धेरै गोल्डकप प्रतियोगिताहरु पनि स्थगित भए । जापानमा हुने भनिएको टोकियो ओलम्पिक २०२० स्थगित भएपछि छनोट खेल्ने तयारीमा रहेका र नेपाली खेलाडीहरुको प्रशिक्षण पनि रोकियो । बक्सिङमा शनिल शाही र मिनु गुरुङले छनोट प्रतियोगिता खेले पनि अगाडि पुग्न सकेनन् ।

कोरोना महामारी चल्दै गर्दा मैदान बाहिरको ‘खेलकुद’ भने चलिरह्यो । नयाँ खेलकुद ऐन २०७७ कार्यान्वयनमा आयो, जसबाट नेपाली खेलकुदको कार्यकारी निकाय राखेपमा केही फेरबदल आयो । राखेप सदस्य सचिव पदबाट हटेका रमेश सिलवाल फेरि नयाँ प्रकियाबाट त्यही पदमा पुनःस्थापित भए ।

एन्फामा उपाध्यक्ष पंकज विक्रम नेम्वाङको नोट अफ डिसेन्टले मैदान बाहिरको माहोल गर्मायो ।

लकडाउनपछिको चहलपहल

कोरोना महामारीपछि लागु भएको लकडाउन खुकुलो हुँदै गएपछि नेपाली खेलकुद पनि विस्तारै चलायमान हुन थालेको छ । तर सरकारले खेलकुद प्रशिक्षण गर्नको लागि ढिलो अनुमति दिँदा खेलाडीहरु धेरै समय घरमै रहन बाध्य भए ।

लामो समय खेलकुदबाट टाढा हुँदा खेलाडीको फिटनेसमा समस्या देखियो । आफ्नो लय कायम राख्न उनीहरुलाई कठिन भयो । विज्ञहरुले खेलकुद खुलाउन धेरै अघिदेखि सुझाव दिए पनि सुनुवाइमा ढिलाइ भयो ।

लकडाउन खुलेर सरकारले पनि खेलकुद प्रशिक्षणका लागि अनुमति दिएपछि भने नेपाली खेलकुद विस्तारै मैदान फर्कन थाल्यो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरकारबाट अनुमति लिएर एक साता दशरथ रंगशालामा प्रशिक्षण गर्दै बंगलादेशमा गएर दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्यो । नेपालले एक खेल हार्दा अर्को खेलमा बराबरीको नतिजा निकाल्यो । केही खेलाडीलाई कोरोना संक्रमण देखिएपछि ८ नयाँ खेलाडीले पहिलो पटक टिममा स्थान बनाएका थिए । जसमा ६ खेलाडीले राष्ट्रिय टिममै डेब्यु गरे ।

उता नेपाल क्रिकेट संघ क्यानले पनि सरकारबाट अनुमति पाएपछि राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्प सुरु गर्यो । दुई साता टीयू मैदानमा अभ्यास गरेपछि राष्ट्रिय खेलाडीले चितवनमा गौतम बुद्ध कप टी–२० प्रतियोगिता खेले । त्यसमा अन्य खेलाडीले पनि अवसर पाए । यही प्रतियोगिताबाट नेपालमा क्रिकेटले मैदानमा पुनरागमन गर्यो ।

यस्तै क्यानले सेप्टेम्बरमा मुख्य प्रशिक्षक लगायत विभिन्न पदका लागि सूचना जारी गर्यो । डिसेम्बरमा डेभ वाटमोर नेपालको नयाँ मुख्य प्रशिक्षक नियुक्ति भए । राखेपको आर्थिक सहयोगमा क्यानले दाङमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गरिरहेको छ । पुरुषको राष्ट्रिय प्रतियोगिता भने महिलाको सकिएपछि काठमाडौंमा हुनेछ ।

यस्तै स्वास्थ्य मापदण्ड पालना गर्दै नोभेम्बरमा नेपालगञ्जमा म्याराथन आयोजना भयो । राखेप नेपाल ओलम्पिक कमिटी र नेपाल एथ्लेटिक्स संघले मान्यता दिएको उक्त म्याराथन ओलम्पिकको लागि छनोटसमेत थियो ।

सागमा ५ हजार मिटरमा स्वर्ण जितेका एपीएफका धावक गोपीचन्द्र पार्कीले म्याराथनको उपाधि जिते र ओलम्पिकका लागि छनोट भए । सागमा रजत जितेकी एपीएफकै पुष्पा भण्डारीले महिलातर्फ हाफ म्याराथनको उपाधि जितिन् ।

वर्षको अन्तिम महिना नेपाली क्रिकेटको लागि अर्को सुखद खबर आयो । युएईमा २०२१ जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुने टी–२० लिगमा नेपालका चार खेलाडी छनोट भए । अलराउण्डर पारस खड्काले यस पटक टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा अनुबन्ध भए । उनले गत सिजन त्यही टिमबाट खेलेका थिए । सोमपाल कामी, करण केसी र कुशल मल्ल भने पहिलो पटक टी–२० लिगमा छानिए । सोमपालले यसअघि ग्लोबल क्यानडा टी–२० लिग खेलेका थिए । करण र कुशलको भने यो पहिलो विदेशी लिग हो ।

यस्तै वर्षको अन्तिम महिना डिसेम्बरमा युवा तथा खेलकुद मन्त्रालका मन्त्री नै फेरिए । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ७ मन्त्रीले राजीनामा दिए भने पछि मन्त्रिपरिषद बिस्तार भयो । यस क्रममा जगतबहादुर सुनार विश्वकर्मा खेलकुद मन्त्रीबाट हटाइए । दावा तामाङ लामा नयाँ खेलकुद मन्त्रीको रुपमा आएका छन् ।

यो पनि पढ्नुहोस नेपाली खेलकुदलाई कोरोनाको असर, के-के रोकियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment