Comments Add Comment

हवाई उद्योगमा कोरोना प्रभाव : साढे १७ अर्बको आम्दानी गुम्यो

१६ पुस, काठमाडौं । नेपालको हवाई उद्योगले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न परिस्थितिका कारण साढे १७ अर्ब भन्दा माथिको आम्दानी गुमाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको तथयांक अनुसार कोभिड १९ को प्रभावका कारण सबैभन्दा ठूलो असर राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई परेको छ ।

यो कम्पनीले आफूसँग भएका जहाजको उपयोग गर्न नपाएपछि करिब ५ अर्ब रुपैयाँ आम्दानी गुमाउन पुगेको छ ।

अन्तराष्ट्रिय उडानतर्फ अर्काे कम्पनीले हिमालय एयरलाइन्सले २ अर्ब बराबरको आम्दानी गुमाएको छ । नेपाल एयरलाइन्स र हिमालयले चार्टर्ड उडानमार्फत केही आम्दानी गरेपनि उनीहरुले नियमित उडान गर्न नपाउँदा ठूलो आम्दानी गुमाइरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार सन् २०२० मार्चदेखि नोभेम्बरसम्मको तथ्यांकमा यस्तो देखिएको हो ।

आन्तरिकतर्फ वायुसेवाहरुले भने यस अवधिमा १० अर्ब ६२ करोड रुपैयाँ बराबरको आम्दानी गुमाएका छन् । यसमा तालिका उडान गर्ने कम्पनी र हेलिकोप्टर समेतको हो । गत असोजबाट नियमित उडान सूचारु भएपनि पर्यटक आगमन ठप्प भएपछि हेलिकोप्टरको आम्दानी भने सामान्य हुन सकेको छैन ।

महानिर्देशक पोखरेलका अनुसार यस अवधिमा प्राधिकरणको आम्दानीमा समेत व्यापक कमी आएको छ । कोरोनाका कारण प्राधिकरणको आम्दानी ५ अर्ब ६९ करोडले गरेको छ । यो रकम अघिल्लो वर्षको मार्चदेखि नोभेम्बरसम्म प्राधिकरणले गरेको आम्दानीमा आधारित रहेर निकालिएको हिसाव हो ।

प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ का लागि कुल आय विमानस्थल शूल्कसहित ८ अर्ब ३३ करोड रुपैयाँ प्रक्षेपण गरिएको थियो । तर, आम्दानी भने मात्र २ अर्ब ६३ करोड ८२ लाख भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment