Comments Add Comment

प्रहरीले ज्यादती गरेको भन्दै बारामा स्थानीयको प्रदर्शन

१६ पुस, वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिका–८ का स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । प्रहरीले जनतालाई अनावश्यक रुपमा दुःख दिने गरेको भन्दै स्थानीयले टायर बाल्नुको साथै सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

भारतबाट भन्सार छलेर अवैध रुपम बाख्रा ल्याएको भन्दै प्रहरीले बिहीबार बिहान ५४ वटा खसी बोका नियन्त्रणमा लिएको थियो ।

तर स्थानीय व्यापारीले भने भारतबाट नल्याएको गाउँघरमै पालेको दावी गर्दै प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले प्रहरीले नियन्त्रणमा लिएको बाख्रा समेत खोसेर लगेका छन् । त्यसक्रममा दुई जना स्थानीय महिला घाइते भएका छन् । ३० वर्षीया बबिता खातुन, ६० वर्षीया लालदेवी खातुन घाइते भएका हुन् ।

स्थानीय व्यापारीलाई दुःख नदिन आग्रह गर्न जाँदा आफूमाथि पनि प्रहरीले दुर्व्यवहार गरेको सुवर्ण गाउँपालिका–८ का वडाध्यक्ष शैबुल्लाह मियाँले बताए । प्रहरी चौकी तेलकुवाका प्रहरी सहायक निरीक्षक राम नरेश यादवले आफ्नो कलर समातेर हातपत गरेको उनको आरोप छ । ‘स–साना व्यापारीको खसी लगेर प्रहरी कार्यालयमा राखेका रहेछन् । किन त्यसो गर्नुहुन्छ उनीहरुको रोजीरोटी त्यसैबाट चल्छ भनेर भन्न गएको थिएँ । तर सडकबाट समातेर भित्र लिएर गए । कलर समातेर गालामा झापड हाने, मुखबाट रगत आयो,’ उनले भने, ‘म लगायत गाउँका महिलामाथि पनि दुर्व्यवहार भयो । त्यसपछि स्थानीय आक्रोशमा आएर प्रदर्शन गरेका हुन् । ’

नहरदेखि ९ किलोमिटर पर सीमा क्षेत्र रहेकोले भारतबाट अवैध रुपमा खसीबोका भित्र्याएको भन्नु गलत भएको उनको भनाइ छ । ‘पर्शुरामपुरमा ४० जना जति खसीबोका व्यापारी होलान्, उनीहरुले गाउँघरबाट खसी बोका खरिद गरेर संकलन गर्छन्,’ वडा अध्यक्ष मियाँले भने, ‘ सोमबार र बिहीबार कलैया र बरियारपुर बजारमा लगेर उनीहरुले त्यसलाई बिक्री गर्ने गर्छन् ।’

वडा-६ का अध्यक्ष शिवधारी दास तत्मा पनि प्रहरीले स्थानीय व्यापारीलाई दुःख दिने गरेको बताउँछन् ।

सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले प्रहरीले जनप्रतिनिधिको समेत कदर नगरेर हातपातमा उत्रिनु दुःखद् भएको बताए । ‘जनताले अन्यायमा पर्‍यौं भनेपछि जनप्रतिनिधि जानु नै पर्छ । वडाध्यक्षलाई जाने बित्तिकै कलर समातेर झापड हानिदिएछन्,’ उनले भने, ‘ जनप्रतिनlधिको कदर नगर्ने प्रहरीलाई कारबाही हुनुपर्छ ।’

प्रदेश सभा सदस्य बच्चा यादवले विभिन्न बहानामा प्रहरीले स्थानीयलाई दुःख दिने गरेको बताए । ‘कहिले खसी बोका उतार्ने, कहिले भैंसी घेर्ने, कुखुरा नियन्त्रणमा लिएर खाइदिने, प्रहरीलाई जे मन लाग्छ त्यही गरिरहेको छ,’ उनले भने, ‘भारतबाट भित्रिएको भनेर कुनै चिन्ह हुन्छ ? गाउँमा पनि खसीबोका बाख्रा पालिन्छ । तस्करी भएको छ भने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी के हेरेर बसिरहेका छन् त ? अनाहकमा सर्वसाधरणलाई दुःख दिने काम भइरहेको छ ।’

प्रहरी ज्यादती विरुद्ध कसरी अगाडि जाने भन्ने बारेमा कलैयास्थित उद्योग वाणिज्य संघको हलमा छलफल भइरहेको उनले बताए ।

तर प्रहरीले भने भारतबाट अवैध रुमपा भित्र्याइएको खसी बोका नियन्त्रणमा लिने क्रममा महिलालाई अघि सारेर अवरोध गरेको बताएको छ । खोसाखोस गर्ने क्रममा प्रहरीतर्फ पनि एक जना हवल्दार सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

वडाध्यक्ष माथि हातपात र दुर्व्यवहार भएको विषयमा प्रहरी कार्यालयमा उजुरी नपरेको उनको भनाइ छ । ‘अवैध रुपमा भित्र्याइएको आशंकामा खसीबोका नियन्त्रणमा लिने क्रममा स्थानीयले अवरोध गरेका हुन् । त्यसक्रममा सामान्य खोसाखोसम्म भएको हो,’ उनले भने, ‘अरु कुरा मेरो जानकारीमा आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment