Comments Add Comment

देउवालाई पौडेलको प्रश्न : त्यो आँधीले ओलीसँगै तपाईंलाई बगायो भने के हुन्छ ?

१६ पुस, पोखरा । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे प्रमुख विपक्षी नेपाली कांग्रेस विभाजित छ ।

पार्टी सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको फैसला पर्खिने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् ।

मेलमिलाप दिवसको अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले अहिले निर्वाचनमा गए कांग्रेसलाई फाइदा हुन्छ भनेर नसोच्न आग्रह गरे ।

उनले प्रतिनिधिसभा पुनर्स्थापना अहिलेको आवश्यकता भएकाले अलमलमा नपर्न आग्रह मात्र गरेनन्, फेरि सरकारमा जान पाइन्थ्यो भनेर सपना नदेख्न सचेत गराए । ‘चुनाव हुने परिस्थिति पनि छैन, त्यो मनसाय पनि छैन’ पौडेलले भने, ‘संसद पुनर्स्थापनाले नेपाललाई विग्रहबाट बचाउँछ, शक्ति केन्द्रको अखडाबाट बचाउँछ ।’

संसद विघटन गरेर केपी शर्मा ओलीले जनमतलाई सडकमा फालिदिएको र म शासक हुँ भनेको देखाएको उनको आरोप छ । संविधानले प्रधानमन्त्रीलाई विशेष अधिकार नदिएको भन्दै उनले भने, ‘आज एक जना नेताले जनताको सार्वभौमिकता केही होइन, मै विशेष अधिकार सम्पन्न व्यक्ति भन्न पाइन्छ ?’

पौडेलले अगाडि भने, ‘लोकतन्त्रमा त बराबरीका बीचमा १, २, ३ नम्बर हुने हो । बराबरीका बीचमा १ नम्बर हो प्रधानमन्त्री तर सर्बेसर्बा होइन । सर्वशक्तिमान त तानाशाह हुन्छ । मुखमा कानुन चलाउँछ । केपी ओलीको मुखमा कानुन छ ?’

तर प्रधानमन्त्रीको कदमबारे पार्टीमा देखिएको अलमलतर्फ इंगित गर्दै पौडेलले प्रश्न गरे ‘संसद पुनर्स्थापना पनि नहुने, चुनाव पनि नहुने अवस्था आयो भने के हुन्छ ?’

पार्टीमा छलफल हुँदा सभापतिले चुनाव नगरेर केपी ओली नेपालमा कहाँ बस्न सक्छ र ? भनेको भन्दै वरिष्ठ नेता पौडेलले भने, ‘जुन बेला ओलीलाई बगाउने आँधीबेहरी आउला, त्यो आँधीबेहरीले तपाईंलाई पनि बगायो भने के गर्नुहुन्छ ?’

उनले पार्टीमा कम्युनिस्टसँग कांग्रेस मिल्नु हुँदैन भन्ने आवाज उठिरहेको भन्दै त्यसको पनि विरोध गरे । कम्युनिस्टसँग मिल्दा कांग्रेसलाई घाटा नभएको भन्दै उनले प्रश्न गरे, ‘कम्युनिस्टसँग मिल्दा कांग्रेसलाई कहाँ बिग्रियो ? २०४६ सालमा गणेशमान सिंहले तिमीहरु वाम मोर्चा बनाएर आऊ र मिलेर पञ्चायत फाल्दिऊँ नभनेको भए, संयुक्त संघर्ष नभएको भए पञ्चायत जान्थ्यो ?’

वरिष्ठ नेता पौडेलले अघि भने, ‘२०४७ सालको आन्दोलनले हामीलाई त सत्तामा पुर्‍याएको थियो । २०६२ मा ज्ञानेन्द्रको तानाशाही सरकार आयो र संयुक्त संघर्ष भयो । त्यसको परिवर्तनबाट त्यो बेला हाम्रै सभापति प्रधानमन्त्री बन्नुभयो नि । अनि कम्युनिस्टसँग मिल्नेबित्तिकै सर्वनाश भन्ने हुन्छ ?’

आत्मविश्वास नभएको र नैतिक शक्ति नभएकाहरुले मात्र कम्युनिस्टसँग मिल्न नहुने कुरा गर्ने पौडेलको भनाइ थियो । ‘एउटा आत्मविश्वास नभएको मान्छेले त्यो भन्छ, अर्को दरबारपरस्त मान्छेले त्यसो भन्छ,’ उनले अघि भने ।

राजतन्त्र फालेर गल्ती भयो कि भन्नेहरु पनि यहीँ भएको नेता पौडेलले बताए । ‘बीपीले ल्याएको मेलमिलापको सबैभन्दा विरोधी को थियो ? त्यो दरबार थियो,’ नेता पौडेलले भने, त्यही दरबार होइन गिरिजाप्रसादलाई कोच्ने ?’

कांग्रेसमाथि निरन्तर खनिने र मिल्न पर्‍यो भन्ने राजालाई आजीत भएर जा भनेर फालिएको पौडेलले बताए । अहिले लोकतन्त्र जोगाउन ठूलो साहस देखाउनुपर्ने भन्दै उनले हर किसिमको संघर्षका लागि तयर रहन नेता कार्यकर्तालाई आह्वान समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment