Comments Add Comment

बागमती प्रदेश स्तरीय छनोट खेलमा आदिल खानको दोहोरो शतक

इशानको ५ विकेटमा काठमाडौं विजयी

१६ पुस, काठमाडौं । प्रधामन्त्री (पीएम) कप राष्ट्रिय पुरुष प्रतियोगिताको लागि बागमती प्रदेश स्तरीय छनोट खेलमा आदिल खानले दोहोरो शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान बिहीबारदेखि सुरु भएको बागमती प्रदेश स्तरीय छनोट प्रतियोगितामा ललितपुरका लागि खेलेका आदिलले घरेलु टोली त्रिभुवन विश्वविद्यालय (टीयू) को टिम विरुद्ध दोहोरो शतक प्रहार गरेका हुन् । आदिलले २०१ रन बनाए ।

घरेलु क्रिकेटमा यसअघि मेहबुब आलमले एकै खेलमा नटआउट २५६ रन बनाएका थिए । सन् २००५ मा इस्टर्न रिजन स्तरीय खेलमा मेहबुबले उदयपुर विरुद्ध २५६ रन बनाएका थिए । उनले १२३ बल खेल्दै २६ चौका र १८ छक्का प्रहार गरेका थिए ।

४० ओभरको खेलमा ओपनिङ गरेका आदिलले २०१ रन बनाए । उनले १२१ बल खेल्दै १६ चौका र १५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट मात्रै १५२ रन बनाएका हुन् । पहिलो विकेटका लागि आदिल र आशुतोस घिरइयाले १७४ रनको साझेदारी गरेका थिए । आशुतोसले ८३ रन बनाए । यस्तै दोस्रो विकेटका लागि आदिलले विकेट किपर दुर्गेश थापासँग १४८ रनको शतकीय साझेदारी गरे । दुर्गेशले ५३ रन बनाए ।

आदिलको दोहोरो शतक अनी आशुतोस र दुर्गेशको अर्धशतक मद्दतमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर ३७५ रनको विशाल स्कोर बनाएको थियो । विवेक राना मगर १० रनमा अविजित रहे । टीयूका लागि अभय घर्ती मगर र आयुश बानियाले समान १ विकेट लिए ।

३७६ रनको विशाल लक्ष्य पछ्याएको टीयूले २९.४ ओभरमा सबै विकेट गुमाएर ८४ रनमा अलआउट भयो । टीयूका लागि राष्ट्रिय टिमबाट खेलिसकेका पृथु बास्कोटाले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । पृथुले ४८ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे ।

टीयूलाई अलआउट गर्न ललितपुरका सुमित झाले ६.४ ओभरमा २ ओभर मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिए । यस्तै योउनेश थापा र तिलक राज भण्डारीले समान २ तथा विपिन आचार्यले १ विकेट लिए ।

इशानको ५ विकेटमा काठमाडौं विजयी

यस्तै बिहीबारै भएको अर्को खेलमा काठमाडौंले भक्तपुरलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भक्तपुरले ३३.४ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो । भक्तपुरका लागि विकेटकिपर अदित सुवेदीले सर्वाधिक ३६ र कृष कार्कीले २७ रन बनाए । यस्तै धिरज अधिकारीले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका लागि बलिङमा इशान पाण्डेले ७.४ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । यस्तै सुमन उदयले ७ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए ।

९८ रनको लक्ष्य काठमाडौंले २३.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौंका लागि जितेन्द्र सिंह ठकुरीले सर्वाधिक ३८ रन बनाए भने विकेटकिपर रविन जोशीले २७ र विभत्सु थापाले १६ रन योगदान गरे । भक्तपुरका सुबास खत्रीले ८ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ४ विकेट लिए । यस्तै धिरज अधिकारीले २ विकेट लिए ।

काठमाडौंका इशान पाण्डे म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment