News Summary
Generated by OK AI. Editorially reviewed.- पीएम कप क्रिकेटको फाइनल खेल त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच हुने पक्का भएको छ ।
- शीर्ष ६ टोलीमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश परेका छन् ।
- त्रिभुवन आर्मी क्लब लिग चरणमा अपराजित रहँदै शीर्षस्थानमा छ ।
२ वैशाख, काठमाडौं । पीएम कप क्रिकेटको लिग चरणका सबै खेलहरू सकिएका छन् । बुधबार दुई खेलहरू भएसँगै लिग चरणका सबै खेल सकिएका छन् ।
त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच फाइनल खेल हुने पक्का भइसक्दा शीर्ष ६ टोलीको टुंगो भने आज अन्तिम दिन मात्र लागेको हो । शीर्ष ६ टोलीले आगामी संस्करणको जय ट्रफी खेल्ने छन् ।
यसअघि शीर्ष ४ टोलीले जय ट्रफी खेल्ने प्रावधान भएपनि नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफीको दायरा बढाउँदै ६ टोली खेल्ने प्रावधान राखेको थियो ।
शीर्ष ६ मा पीएम कप र जय ट्रफीको साविक विजेता नेपाल पुलिस क्लबसँगै अर्का विभागीय त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसँगै सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश परेका छन् ।
त्रिभुवन आर्मी क्लब लिग चरणमा अपराजित रहँदै शीर्षस्थानमा छ भने ९ खेलमा १२ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो । यी दुई टोली उपाधिका लागि खेल्ने छन् ।
यस्तै एपीएफ क्लब र मधेश प्रदेशले ९ खेलमा समान ११ अंक जोडेर क्रमश: तेस्रो र चौथो स्थानमा रहेका छन् । नेपाल पुलिस क्लब पाँचौं र लुम्बिनी प्रदेश छैटौं स्थानमा रह्यो । दुवैको ९ अंक छ ।
समान ९ अंक भएको गण्डकी प्रदेश भने नेट रनरेटमा पछाडि पर्दै शीर्ष ६ मा पर्न सकेन । यसअघि जय ट्रफी खेलेको बागमती प्रदेश भने यसपटक ८ अंक मात्र जोड्दै आठौं स्थानमा सीमित रह्यो ।
३ अंक भएको कर्णाली प्रदेश नवौं अनि जितविहिन कोशी प्रदेश १०औं स्थानमा रह्यो ।
पहिलो संस्करणको जय ट्रफीमा आर्मी र पुलिससँगै बागमती प्रदेश र मधेश प्रदेशले खेलेका थिए । यस्तै दोस्रो संस्करणको जय ट्रफीमा मधेश बाहिरिँदा एपीएफले खेलेको थियो ।
प्रतिक्रिया 4