News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी क्लबले वीरगन्जमा सम्पन्न पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको छ।
- आर्मीले प्रतियोगिताभर कुनै खेल नहारेको र लिग चरणका ९ मध्ये ८ खेल जितेको उनले बताए।
- सुदूरले १६१ रन बनाएको र आर्मीका इमरान शेखले अविजित ४६ तथा बसिर अहमदले ४५ रन बनाए भने उनले खुलाए।
४ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार वीरगन्जमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै आर्मीले तेस्रोपटक उपाधि जितेको हो ।
सुदूरले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । आर्मीका लागि इमरान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ रन बनाए ।
५६ रनमा ४ विकेट गुमेको अवस्थाबाट आर्मीका लागि बसिर र इमरान मिलेर इनिङ सम्हालेका थिए । यी दुई मिलेर पाँचौं विकेटका लागि ९६ रनको साझेदारी गरे ।
सुदूरका लागि हेमन्त धामीले २ विकेट लिँदा शेर मल्ल, अशोक धामी र विकास आग्रीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो । शीर्षक्रम र मध्यक्रम ब्याटिङ धराशायी बनेपनि तल्लोक्रमका ब्याटरले संयमित ब्याटिङ गरेका थिए ।
अशोक धामीले सर्वाधिक ४३ रन बनाए भने किरण ठगुन्नाले २५ अनि नारायण जोशीले २९ रन बनाए । हेमन्त धामीले १६ रन बनाए ।
आर्मीका आकाश चन्द र शाहब आलमले ३-३ विकेट लिए भने बसिर अहमदले २ अनि कुशल मल्लले १ विकेट लिए ।
आर्मीले प्रतियोगिताभर कुनै खेल पनि हारेन । आर्मीेले लिग चरणका ९ मध्ये १ खेलमा अंक बाँडेको थियो भने बाँकी ८ वटै खेल जितेको थियो ।
सुदूरले भने ९ खेलमा ६ खेल जितेको थियो र पहिलोपटक फाइनल खेलेको थियो।
आर्मीले सन् २०१७ मा पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको थियो । यस्तै सन् २०२१ मा पनि उपाधि जितेको थियो ।
हरेक संस्करणको फाइनल खेलेको आर्मी ५ पटक भने उपविजेतामा सीमित भएको छ । नेपाल पुलिस क्लबले ४ पटक उपाधि जितेको छ भने एपीएफ क्लबले २ पटक उपाधि जितेको छ ।
प्रतिक्रिया 4