News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशले पीएम कपको अन्तिम लिग खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले हराउँदै जय ट्रफी क्रिकेटका लागि छनोट भएको छ।
- मधेशले पुलिसले दिएको १३१ रनको लक्ष्य २४.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो।
- प्रतियोगितामा पाँचौं जित निकालेको मधेशले ९ खेलमा ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।
२ वैशाख, काठमाडौं । मधेश प्रदेश आगामी संस्करणको जय ट्रफी क्रिकेटका लागि छनोट भएको छ । पीएम कपको अन्तिम लिग खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै मधेश जय ट्रफीका लागि छनोट भएको हो ।
बुधबार वीरगन्जमा भएको खेलमा मधेशले पुलिसलाई ४ विकेटले हराएको हो । पुलिसले दिएको १३१ रनको लक्ष्य मधेशले २४.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
मधेशका लागि अरनिको यादवले अविजित ६५ रन बनाए भने रुपेश सिंह पनि २७ रनमा अविजित रहे । ६५-२ को अवस्थाबाट ७७-६ को अवस्थामा पुगेपछि अरनिको र रुपेश मिलेर ५३ रनको साझेदारी गर्दै जित दिलाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस ४०.३ ओभरमा १३० रनमा अलआउट भएको थियो । कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । शंकर रानाले २७, राशिद खानले १८ तथा दिनेश खरेल र गुल्शन झाले समान १५ रन बनाए ।
मधेशका लागि पवन सर्राफ, रन्जित कुमार र आशिक बैठाले ३-३ विकेट लिँदा अरनिको यादवले १ विकेट लिए ।
प्रतियोगितामा पाँचौं जित निकालेको मधेशले ९ खेलमा ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।
हारका बाबजुद पुलिस भने शीर्ष ६ मा अटाएको छ र जय ट्रफी खेल्नेछ ।
प्रतिक्रिया 4