Comments Add Comment

बहुमत अल्पमतको टुंगो चुनावपछि हुन्छ : ओली

‘राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजियो’

फाइल तस्वीर

१७ पुस, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत अल्पमतको टुंगो चुनावपछि हुने बताएका छन् ।

संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको छ । प्रचण्ड–माधव समूहले बहुमत रहेको भन्दै नेकपाको अधिकारिकता दाबी गरेको छ ।

तर ओली समूहका अध्यक्ष ओलीले भने बहुमत अल्पमतको टुंगो अहिले नहुने बताए । प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै उनले भने, ‘उहाँहरु बहुमत छ भनेर सडकमा कराइरहनु भएको छ । बुहमत अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । चुनावपछि बहुमत को हो, अल्पमत को हो ? प्रमुख पार्टी को हो ? तपाई हामीले देख्ने छौं ।’

प्रचण्ड–माधव समूहसँग बहुमत भएको भए उनीहरु संसदीय अभ्यासअनुसार वा पार्टी बैठकमा आउने उनको दाबी छ ।

ओलीले प्रचण्ड–माधव समूहले दुई अध्यक्ष घोषणा गरेकोमा समेत व्यंग्य गरे । आफैं पार्टीको नवौं महाधिवेशनबाट छानिएको नेता भएको र दुई पार्टी मिल्दा दुबैको सम्मान होस् भनेर दुई अध्यक्षको व्यवस्था गरेको भन्दै उनले भने, पद लोलुपताको पनि हद हुन्छ ! कुन मञ्चबाट, कुन महाधिवेशनबाट पार्टी ?’

पार्टीमा देखिएको समस्याको सकारात्मक निकास निकालौं भनेर आफूले धेरै काँध थापेको तर केही नेता अलग भएको उनले बताए । पार्टी फुटेको नभई केही नेता अलग भएर सडकमा गएको र ठूला नेता हुँ भन्नेहरुबाट तमासा देखाउने काम भएको ओलीले बताए ।

उनले भने, ‘देश, पार्टी र जनताको कुरामा छैन । पार्टी कार्यालय कब्जा गर्ने, बैंक खाताबाट पैसा निकालेर गायब गर्नेतिर उहाँहरु लाग्नु भएको छ । कार्यकर्तालाई भिडन्त गराइरहनु भएको छ ।’

‘लोकतान्त्रिक प्रणाली ठीक होइन, संघीयता ठीक होइन भन्ने निष्कर्ष निकाल्न उद्दत हुनु भएको छ । राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजिएको छ’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment