Comments Add Comment

कोरोना संक्रमणको बेला राजनीतिको आत्मघात

१७ पुस, काठमाडौं । अध्यादेश प्रकरण र प्रतिनिधिसभा विघटनपछि विभिन्न आन्दोलन सुरू भए । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि पर्‍यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि निस्फिक्री सडक तताएका छन् ।

यसले जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई भने स्तब्ध बनाएको छ । डा. शरद वन्त यो कदमलाई आत्मघाती मान्छन् । उनकै शब्दमा, गलत समयमा चालिएको गलत राजनीतिक कदम कोरोना भाइरसभन्दा खतरनाक हुनसक्छ । भन्छन्, ‘जे भइरहेको छ, गलत भइरहेको छ । यसले भयानक असर पार्न सक्छ ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवो रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन यसरी निष्फिक्री हिँड्ने बेला भइनसकेको बताउँछन् । ‘राजनीतिक एजेण्डाले जनस्वास्थ्यको संवेदनशीलतालाई छायाँमा पारेको देखियो’, उनी भन्छन्, ‘जनस्वास्थ्यको मापदण्ड पालना गर्नै छाड्नु वास्तवमै खतरनाक छ ।’

हुन पनि अन्य देशहरूले अझै कडा रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गरिरहेका छन् । नयाँ वर्षसंगै अष्ट्रेलियाको सिड्नीमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने नियम लगाइएको छ । बेलायतमा स्वरुप परिवर्तन गरेको कोरोना भाइरस देखिनासाथ लकडाउन गरिएको छ । जर्मनीमा फेरि लकडाउनको तयारी छ ।

कोभिड–१९ विरुद्ध खोप लगाउन थालेका विकसित मुलुकहरुको यो स्तरको संवेदनशीलताले महामारी मध्यान्तरमा रहेको बुझ्नुपर्ने डा. पुन बताउँछन् । तर नयाँ स्वरुपको कोभिड देखिएको बेलायतबाट आएका पाँच नेपालीमा संक्रमण देखिँदा समेत नेपालमा आनुवांशीक अध्ययन हुन सकेको छैन ।

आनुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) को जिम्मा पाएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला आफैं अन्योलमा छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) भने विना अध्ययन कोरोनाको नयाँ स्वरुप फैलिएको छैन भनेर बसेको छ । ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डे नेपालमा भाइरसको नयाँ स्ट्रेन आएको भए यहाँ पीसीआर किटले पोजिटिभ नदेखाउने बताउँछन् ।

महामारी नियन्त्रणमा युद्धस्तरमा लाग्नुपर्ने सरकारी निकायहरू भाइरसलाई यसरी हलुका रुपमा सोचिरहेका छन् । सरकार, दल र समाजको व्यवहार उग्र छ । सार्वजनिक यातायात भरिभराउ छन्, चोकचोकमा दिनहुँ नारा जुलुस भइरहेका छन् । हात धुने, मास्क लगाउने जस्ता जनस्वास्थ्य मापदण्ड पालना हुन छाडेको छ ।

मानिसहरुको यो किसिमको व्यवहार र मनोविज्ञानमा राजनीतिक प्रभाव देख्छन् डा. पुन । ‘नेताहरूले नै लत्तो छाडेपछि महामारी सकिएको सन्देश गएर जनता पनि गम्भिर हुन छाडेजस्तो देखिन्छ’, उनी भन्छन्, ‘अहिले भइरहेका राजनीतिक निर्णय र गतिविधीहरुले घरघरमा संक्रमण फैलाउने वातावरण तयार पारेको छ ।’

लापरबाही गर्दा जर्मनीमा संक्रमण र मृत्युदर उच्च रह्यो । नेपालमा त झन भयानक लापरबाही देखिएको छ । जर्मनीमा जस्तो भयो भने नेपालले धान्न सक्दैन – डा. विमल पाण्डे, पाटन अस्पताल

महामारी सकिएको छैन

कोभिड–१९ विरुद्ध लडाइँको अग्रपंक्तिमा रहेका चिकित्सक, भाइरोलोजिष्ट, जनस्वस्थविद् सबै कोरोना महामारी होइन, त्यसको डर सकिएको बताउँछन् । उनीहरुका अनुसार नेपालमा भाइरसको डर र सावधानी उत्कर्षमा रहेको बेला समेत परीक्षण अत्यन्तै कम भयो । जनस्वास्थ्यविज्ञहरूले परीक्षण, परीक्षण भनिरहँदा सरकारी अधिकारीहरुले नसुनेझै गरिरहे । कन्ट्याक ट्रेसिङ, क्वारेन्टिन र अस्पतालमा बेड नपाउने समस्या भइरहँदा सरकारी अधिकारीहरू दक्षिण एसियामै उत्कृष्ट काम गरेको मिथ्या बोलिरहेका थिए ।

यो क्रम अहिले पनि जारी छ । हिजो बिहीबार प्युठान पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना विरुद्ध सरकारले अभूतपूर्व रुपमा राम्रो काम गरेको बताए ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी अझै पनि लक्षण भएका शंकास्पद संक्रमितहरूले परीक्षण नभइरहेको बताउँछन् । यो अवस्थामा संक्रमण दर घटेको भन्न नसकिने उनको कथन छ । पछिल्लो समय बढेको राजनीतिक नाराजुलुस र सभाहरुको असर दुई हप्तापछि देखिने उनी बताउँछन् । ‘अहिले एकबाट अर्को समुदायमा र एकबाट अर्को परिवारमा भाइरस फैलिइरहेको छ’ डा. सुवेदी भन्छन्, ‘हामीले यो भन्दा कठिन अवस्थाको सामना गर्नुपर्ने दिन आउनसक्छ ।’

अहिले दैनिक ८/१० जना संक्रमितको मृत्यु भइरहेको छ । भेन्टिलेटरमा पुग्नेको सङ्ख्या त्यही हाराहारीमा छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको बिहीकारको तथ्यांकअनुसार अहिले ३६ जना संक्रमित भेण्टिलेटर र २३६ जना आईसीयूमा छन् ।

यो तथ्यांकले महामारी नियन्त्रण भएको नदेखाउने डा.शरद वन्त बताउँछन् । किनकि,कोरोनाको डर उच्च भएको अवस्था र अहिले भेण्टिलेटरमा पुग्ने संक्रमितको अनुपात उस्तै थियो ।

पछिल्लो समय परीक्षण कम भएकाले संक्रमण कम देखिएको तर, संक्रमण विस्तार व्यापक भइरहेको उनको भनाइ छ । संक्रमितको सङख्या कम देखिंदैमा जोखिम नघट्ने बताउदै उनी भन्छन्, ‘अहिले तथ्यांकमा देखिएका संक्रमित मध्येपनि ६० प्रतिशतभन्दा बढी उपत्यकाकै भएकाले खतरा बढेको छ । यसमा पनि बाध्यात्मक अवस्था आइलागेर मात्र परीक्षण गराउने धेरै छन् ।’

किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठक हिजोआज धेरैजसो संक्रमित निकै ढिलो अस्पताल आउने गरेको सुनाउँछन् । ढिलो आएकाहरुलाई बचाउन गाह्रो हुने भन्दै उनी भन्छन्, ‘अहिले आइसोलेसनमा मानिस घटेका छन्, तर आईसीयू र भेण्टिलेटरमा चाप घटेको छैन । यो झन खतरनाक संकेत हो ।’

पाटन अस्पतालका कोभिड संयोजक डा. विमल पाण्डे एकहप्ता अघिभन्दा अहिले कोरोना संक्रमितको चाप बढ्न थालेको बताउँछन् । अस्पतालमा आईसीयू र भेन्टिलेटरमा बिरामी थपिँदा उपचारमा समस्या देखिएको उनले बताए । तर पछिल्लो राजनीतिक घटनाक्रम र भिडभाड देखेर डा. पाण्डे पनि स्तब्ध छन् । ‘लापरवाही गर्दा जर्मनीमा संक्रमण र मृत्युदर उच्च रह्यो । नेपालमा त झन भयानक लापरबाही देखिएको छ’, उनी भन्छन्, ‘जर्मनीमा जस्तो भयो भने नेपालले धान्न सक्दैन ।’

त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास पनि दैनिक आउने जटिल संक्रमित संख्या नघटेको बेला जताततै लापरबाही बढेको देखेर हैरान छन् । अहिले नै जनस्वास्थ्य मापदण्ड पालना नगरेको परिणाम भोग्न परिरहेका उनको कथन छ । ‘धेरैजना लापरवाहीकै कारण संक्रमित भएर गम्भिर अवस्थामा पुगेका छन्’, उनी भन्छन्, ‘अहिले नेताजीहरुबाट सिर्जना भएको माहोलले भयानक परिणाम देखाउन सक्छ ।’

यो पनि पढ्नुहोस नयाँ कोरोना भाइरस : नेपालमा के होला ?

मन्त्री सरुवाको महामारी प्रभाव

सडकमा मानिस उतार्ने राजनीतिक जोडबलकै बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पर्यटन मन्त्रालयमा सरुवा भएका छन् ।

सुरुमा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त उनलाई प्रधानमन्त्री केपि शर्मा ओलीले ४ मसिर २०७६ मा स्वास्थ्य मन्त्रालयमा ल्याएका थिए । स्वास्थ्यमा १३ महिना विताएका उनले अपेक्षा अनुसार काम गर्न नसकेका मात्र होइनन्, एकपछि अर्को विवाद र काण्डमा मुछिए । ओम्नी प्रकरणमा त उनीसहितका अधिकारीकै संलग्नतामा अनियमितता भएको भन्दै ससंदको सार्वजनिक लेखा समितिले थप अनुसन्धान गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।

भानुभक्त ढकाल र हृदयश त्रिपाठी ।

संसद विघटन भए लगतै मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले आफ्नो विश्वासपात्रलाई पर्यटन मन्त्रालयमा ‘सेफ ल्याण्ड’ गराएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । यो ‘पोलिटिकल ट्विस्ट’ले ढकाललाई हाइसञ्चो पारेको छ । स्वास्थ मन्त्रालयका अधिकारीहरूका अनुसार स्वास्थ्यमै रहिरहेको भए राजनीतिमा बाँकी रहेको उनको पूँजी सकिन्थ्यो ।

उनलाई पालो दिन स्वास्थ्यमा हृदयश त्रिपाठी आएका छन् । तर मन्त्री ढकालको सरुवाले महामारी नियन्त्रणमा केहि फरक नपर्ने मन्त्रालयका एक अधिकारी बताउँछन् । ढकालले गतिला निर्णयहरु गर्न नसक्दा महामारी नियन्त्रण बाहिर गएको भन्दै उनले भने, ‘नयाँ मन्त्रीलाई यहाँको हावापानी बुझ्न केही समय लाग्छ ।’

त्यसमाथि एकातिर चुनावी सरकार भएकाले महत्वपूर्ण नीतिगत निर्णय हुनै गाह्रो छ भने अर्कातिर सम्भव भएसम्म छिटो कोरोना खोप ल्याउनपर्ने दबाव कायमै छ । जनस्वास्थ्यविद डा. वन्तका अनुसार मन्त्रालयको समग्र प्रणाली राम्रोसँग चलिरहेको छ भने पात्र फेरिदैमा तात्विक असर नपर्नु पर्ने हो ।

पूर्वस्वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेती भने कोरोना महामारी नियण्त्रणमा नयाँ लय समात्न नीतिगत निर्णयहरु गर्नपर्ने भएकाले नयाँ मन्त्री त्रिपाठी चूनौतीमा भएको बताउँछन् । ‘उनका प्रभावकारीता प्रधानमन्त्री र मन्त्रालयका कर्मचारीको सहयोग–व्यवहारमा निर्भर हुनेछ’, भन्छन्, ‘मन्त्री त्रिपाठीलाई यो चूनौतीसँगै अवसर पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment