Comments Add Comment

बाइडनको जित रोक्ने अन्तिम प्रयासमा ११ सिनेटर्स

१९ पुस, काठमाडौं । अमेरिकाको संसद्को माथिल्लो सदन सिनेटका सांसदहरुको एक समूहले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा गडबडीको जाँचका लागि एक आयोग गठन नहुँदासम्म जो बाइडनको जितलाई प्रमाणीकरण नदिने बताएका छन् । टेक्सासका सिनेटर टेड क्रुजको नेतृत्वमा ११ सिनेटरहरुले कुनै प्रमाण नभएको आरोपको जाँचको लागि प्रक्रियामा १० दिन ढिलाइ गरिनुपर्ने माग गरेका छन् । यद्यपि उनीहरुको यो प्रयास सफल हुने सम्भावना कम देखिएको छ, किनकी अधिकांश सिनेटरले ६ जनवरीमा हुने मतदानमा बाइडनलाई नै समर्थन गर्ने पक्षमा छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडनको जित स्वीकार गर्न अस्वीकार गर्दै आएका छन् । उनले निर्वाचनमा धोकाधडीको आरोप लगाउँदै आएका छन् । तर, उनले यस विषयमा कुनै प्रमाण भने दिएका छैनन् । यस विषयलाई लिएर सर्वोच्च अदालतमा पनि आपिल गरिएको थियो । तर, सर्वोच्चले यो अपिल खारेज गरिदिएको थियो । ट्रम्पलाई पेन्सिलभेनियाको उक पोस्टल ब्यालेटको विषयमा भने जित मिलेको थियो ।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सिनेटरहरुको बाइडनको जितमा आपत्ति जनाउने कदमको स्वागत गरेका छन् । जनवरी ६ मा अमेरिकाको संसदले गत महिना भएको इलेक्टोरल कलेजको नतिजाको प्रमाणित गर्नेछ । अमेरिकाका सबै ५० राज्यका इलेक्टोरल कलेजले बाइडनले ३०६ मत पाएको पुष्टि गरेका थिए । चुनावमा जित हात पार्न कम्तीमा २७० मत चाहिन्छ ।

मतदानको नतिजा वासिङटन पठाइन्छ र ६ जनवरीमा संसद्को संयुक्त सत्रमा आधिकारिक रुपमा त्यसको गणना हुनेछ । यो प्रक्रियाको एक भाग हो । यो प्रक्रियाअनुसार अन्तिममा उपराष्ट्रपति माइक पेन्स सिनेटको अध्यक्ष भएको कारण उनले नै जो बाइडनलाई विजेता घोषणा गर्नेछन् । त्यसपछि बाइडन र नवनिर्वाचित उप–राष्ट्रपति कमला ह्यारिसले जनवरी २० मा शपथ ग्रहण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment