Comments Add Comment

एसी मिलान शीर्ष स्थानमा फर्कियो

२० पुस, काठमाडौं । बेनेभेन्टोलाई पराजित गर्दै एसी मिलान ६ घण्टापछि नै इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको मिलानले बेनेभेन्टोलाई उसैको मानमा २-० ले पराजित गरेको हो ।

बेनेभेन्टोको मैदानमा भएको खेलको १५औं मिनेटमा फ्रकान्स केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

३३औं मिनेटमा सान्ड्रो टोनालीले रातो कार्ड पाएपछि मिलान दश खेलाडीमा समेटियो ।

पहिलो हाफमा एक गोल गरेको मिलानले एक खेलाडी कम हुनका बावजुतपनि दोस्रो हाफमा गोल थप्यो । ४९औं मिनेटमा एन्टे रेबिकको पासमा राफेल लिएओले मिलानका लागि दोस्रो गोल गरे ।

६१औं मिनेटमा बेनेभेन्टोले पेनाल्टीको अवसर पाएको थियो । तर जियानलुका काप्रारीको पेनाल्टी प्रहार पोष्ट भन्द बाहिर गएको थियो ।

जितपछि १५ खेलबाट ३७ अंक जोडेको मिलानले सहरी प्रतिद्वन्दी इन्टरलाई १ अंकले पछि पार्दै पुन: शीर्ष स्थानमा पुगेको छ । समान खेलबाट ३६ अंकसहित इन्टर दोस्रो स्थानमा छ ।

रोनाल्डोको दुई गोलमा युभेन्ट्स विजयी

क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले उडिनेसीलाई ४-१ ले पराजित गरेको छ । जितपछि युभेन्ट्स पाँचौ स्थानमा उक्लेको छ ।

घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ३१औं र ७०औं मिनेटमा गोल गरे । यस्तै फेडेरिको सिएसाले ४९औं र पाउलो डिबलाले इन्जुरी टाइममा गोल गरे ।

५२औं मिनेटमा युभेन्ट्सका आरोन राम्सले गोल गरेपनि भिएआरले मान्यता दिएन ।

त्यसअघि खेलको ११औं मिनेटमा उडिनेसीका रोड्रिगो डे पउलले गोल गरेपनि भिएआरले गोलअघि फाउल भएको भन्दै मान्यता दिएन ।

जितपछि १४ खेलबाट २७ अंक जोड्दै युभेन्ट्स पाँचौ स्थानमा उक्लेको छ । ससुलो एनटलान्टासंग ५-१ ले पराजित भएपछि युभेन्ट्सलाई फाइदा पुगेको हो ।
यस्तै तेस्रो स्थानको रोमा र चौथो स्थानको नापोलीले पनि जित हात पारेका छन् ।

एडेन जेकोले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा रोमाले साम्पडोरियालाई पराजित गरेको हो ।

उता नापोलीले काग्लियारीलाई उसैको मदानमा ४-१ ले हरायो । नापोलीका लागि पिओर जिलेन्स्की र हिर्भिन लोजानोले दुई/दुई गोल गरे । काग्लियारीका जाओए पेड्रोले एक गोल फर्काए ।

जितपछि रोमाको १५ खेलबाट ३० अंक छ भने एक खेल कम खेलेको नापोलीको २८ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment