Comments Add Comment

जर्जियाको मत परिणाम उल्टाउन ट्रम्पले दबाब दिएको अडियो सार्वजनिक

२० पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको चुनावी परिणाम उल्टाउन दबाब दिएको अडियो सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा तरंग सिर्जना भएको छ ।

जर्जियाबाट जो बाइडनले चुनाव जितेका थिए । तर ट्रम्पले त्यही क्षेत्रबाट आफूलाई ११ हजार ७ सय ८० भोट चाहिएको भन्दै जर्जियाको सेक्रेटरी अफ स्टेट र रिपब्लिकन नेता ब्राड रफेनस्पेर्गरलाई फोन गरेको अडियो सार्वजनिक भएको छ ।

अडियोमा ट्रम्पलाई रफेनस्पेर्गरले जर्जियाबाट जे नतिजा आयो, त्यो सही नै भएको जवाफ दिएका छन् । ट्रम्पले भने धम्कीको शैलीमा रफेनस्पेर्गरलाई भन्छन्, ‘यदि मेरो काम भएन भने गम्भीर परिणाम भोग्नुपर्छ ।’

ह्वाइटहाउसबाट बाहिरिने दिन नजिकिँदै गर्दा ट्रम्पको अडियो प्रकरणले हलचल मच्चिएको छ । यो प्रकरणलाई बाइडन पक्षले अमेरिकी लोकतन्त्रमाथि हमला भनेको छ ।

यस्तै वाटरकाण्डको खुलासा गर्नेमध्ये एक जना पत्रकार कार्ल बेरन्स्टेनले यसलाई वाटरगेट काण्डभन्दा पनि खराब भएको टिप्पणी गरेका छन् ।

हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनले जर्जिया प्रान्तमा जितेका थिए । अमेरिकाका सबै ५० राज्यका इलेक्टोरल कलेज भोटमध्ये बाइडनले ३०६ भोट पाएका थिए । ट्रम्पले २३२ भोट पाएका थिए । अमेरिकाको राष्ट्रपति निर्वाचित हुन २७० भोट भए पुग्छ ।

यसैबीच अमेरिकाको संसद्को माथिल्लो सदन सिनेटका सांसदहरुको एक समूहले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा गडबडीको जाँचका लागि एक आयोग गठन नहुँदासम्म जो बाइडनको जितलाई प्रमाणीकरण नदिने बताएका छन् ।

टेक्सासका सिनेटर टेड क्रुजको नेतृत्वमा ११ सिनेटरहरुले कुनै प्रमाण नभएको आरोपको जाँचको लागि प्रक्रियामा १० दिन ढिलाइ गरिनुपर्ने माग गरेका छन् । यद्यपि उनीहरुको यो प्रयास सफल हुने सम्भावना कम देखिएको छ, किनकी अधिकांश सिनेटरले ६ जनवरीमा हुने मतदानमा बाइडनलाई नै समर्थन गर्ने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment