+
+
Shares

बैंकको ऋण लिँदा विचार पुर्‍याउनुपर्ने कुरा

सीमा वन सीमा वन
२०७७ पुष २० गते १६:०४

सामान्यतः भविश्यमा भुक्तान गर्ने गरी लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । ऋण लिने व्यक्तिलाई ऋणी भनिन्छ । कर्जा प्रवाह गर्नु बैंकको प्रमुख कार्य हो । सरकारले नै बैंकलाई कानुनी परिधिभित्र रहेर समाजमा तरलता आपूर्ति गर्ने जिम्मा सुम्पेको हुन्छ ।

देश र समाजमा पर्याप्त तरलता आपूर्ति भएमा उद्योग र व्यापारको विस्तार र विकास हुन्छ । यसले समग्र देशको उन्नति हुन्छ । बैंकले प्रभावकारी ढङ्गबाट जति कर्जा आपूर्ति गर्छ, त्यति मात्रामा अर्थतन्त्र स्वस्थ र प्रगतिशील हुन्छ । किनभने, बैंकले पर्याप्त कर्जा प्रदान गर्दा उद्योग व्यापारको स्थापना र वृत्ति विकास हुन्छ ।

बैंकले संकलित निक्षेप तथा पुँजी विभिन्न क्षेत्रमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रुपका भिन्दाभिन्दै विशेषता भएका अनेक प्रकारका कर्जाहरु उपलव्ध गराउँछ । यसले व्यवसायमा लगानी गर्न, उद्योग धन्दा चलाउन, सवारीसाधन खरीद गर्न, शिक्षा, स्वास्थ्य, घर निर्माण गर्न, विभिन्न प्रत्याभूतिहरु खरीद गर्न आदि प्रयोजनका लागि कर्जा प्रवाह गर्ने गर्दछ ।

व्यवसायिक पृष्ठभूमि नभएको हाम्रो नेपाली समाजमा बैंक, वित्तीय संस्थासँग कारोवार गर्न थालेको इतिहास त्यति पुरानो छैन । पञ्चायतकालीन अवस्थामा दुई सरकारी बैंकहरू राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडले वाणिज्य बैंकिङ्क कारोबार र कृषि विकास बैंकले विकास बैकिङ्ग कारोवार धानिरहेको अवस्थामा आ.व. ०४१/४२ को बजेटले नेपालमा बैंक तथा वित्तीय संस्था स्थापना गर्न खुला गरेपछि वास्तविक वित्तीय उदारीकरण भएको मानिन्छ ।

बैंकबाट ऋण लिनका लागि आफ्नो व्यवसायको बार्षिक आम्दानी, खर्च, सम्पत्ति, दायित्व र नाफा कति हुन्छ भनेर वित्तीय विवरण तयार पारी बुझाउनुपर्छ र त्यसैका आधारमा बैंकहरुले ऋण दिने कि नदिने भनेर निर्णय गर्छन् ।

उद्यम व्यवसाय गर्नका लागि आवश्यक पर्ने आर्थिक श्रोत परम्परागत रुपमा कुनै साहु महाजनबाट चर्को व्याजमा लिने गरिन्थ्यो भने अहिले बैंक तथा वित्तीय संस्थाबाट लिने प्रचलन बढी छ । बैंकले विभिन्न अबस्था र आवश्यकता अनुसार तपाई हामीलाई कर्जा (ऋण) दिने गर्दछ । व्याक्ति वा समुहबाट लिएको ऋणमा बढी ब्याज तिर्नुपर्ने, जथाभावी जरिवाना तिर्नुपर्ने हुन सक्छ । व्यापार व्यवसाय गर्न मात्रै नभएर अनपेक्षित आपत–विपत तथा छोराछोरी पढाउनकै लागि पनि पैसाको आवश्यकता पर्छ । जुन आफूसँग नहुन सक्छ, त्यसका लागि पनि बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्छन् ।

बैंकबाट लिएको कर्जालाई सही सदुपयोग गर्न सके यसले ऋणीलाई उत्पादनसँग जोड्छ र आर्थिक रुपमा समृद्ध बनाउँछ भने बैंकबाट ऋण लिएर यसको दुरुपयोग गरेमा ऋणका लागि राखेको धितोका साथै सामाजिक प्रतिष्ठासमेत गुम्छ । त्यसैले, बैंकसँग सहकार्य गर्दा वित्तीय साक्षरता, वित्तीय पहुँच, बचत, लगानी र आम्दानीको क्षेत्र लगायतका विषयमा परिपक्व भई वित्तीय अनुशासनमा रही कारोवार गर्ने गरी निर्णय गर्नु पर्दछ ।

कुनै पनि कार्यमा सफल हुनका लागि योजना बनाउन जरुरी छ । योजनाविनाको कार्य सफलता अँध्यारोमा तीर हान्नु जस्तै हो । त्यसैले कुनै पनि व्यवसायमा सफल हुनका लागि आफ्नो क्षमताअनुसारको व्यावसायिक योजनामा कुन व्यवसाय, कति लगानीमा, कसरी गर्न सकिन्छ, यसको वित्तीय व्यवस्थापनदेखि बजारको अवस्था के छ ? को–को व्यक्ति संलग्न हुने र यसबाट मासिक÷बार्षिक कति आम्दानी हुन्छ भन्नेबारेमा शुरुमै विश्लेषण गर्न सक्नुपर्छ ।

राम्रो व्यावसायिक योजनाले लगानीकर्ताको मन जित्न सहज हुन्छ भने त्यस्तो व्यावसायबाट आशातीत प्रतिफल प्राप्ति पनि सम्भवप्रायः हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि हिजो–आज व्यावसायका लागि ऋण प्रदान गर्नु अगाडि सम्भावित ऋणीको व्यावसायिक योजना अनिवार्य नै गरेका छन् ।

आफ्नो व्यावसायको सफल सञ्चालनका लागि व्यावसायिक योजना बनाइसकेपछि व्यवसाय सुरु गर्न कति कर्जा चाहिन्छ भन्ने कुराको टुङ्गो लगाउनुपर्छ र सो ऋण तिर्न सकिन्छ कि सकिँदैन भन्ने कुराको पनि ख्याल राख्नुपर्छ । बैंकबाट ऋण लिनका लागि आफ्नो व्यवसायको बार्षिक आम्दानी, खर्च, सम्पत्ति, दायित्व र नाफा कति हुन्छ भनेर वित्तीय विवरण तयार पारी बुझाउनुपर्छ र त्यसैका आधारमा बैंकहरुले ऋण दिने कि नदिने भनेर निर्णय गर्छन् । तर, बैंकहरुले यस्तो निर्णय गर्नुअघि आफूले पनि सकेसम्म अनावश्यक ऋण नलिनका लागि आफ्नो आवश्यकताको राम्रो मूल्याङ्कन गर्नुपर्छ । आवश्यकताभन्दा बढी ऋण लिँदा तिर्न नसक्ने हुन सकिन्छ भने कम ऋण लिँदा आफूलाई नपुग्न सक्छ । त्यसैले आफ्नो वार्षिक वित्तीय विवरण तयार पार्दा राम्रोसँग ध्यान पुर्‍याउनुपर्छ ।

व्यावसायिक योजना बनाइसकेपछि बैंकबाट ऋण लिनुअघि बैंक तथा वित्तीय संस्थाहरुमा गई ऋण लिनका लागि आवश्यक प्रक्रिया, दिनुपर्ने धितो बन्धकी, ऋण लिएबापत बुझाउनुपर्ने ब्याज तथा अन्य शुल्कहरु तथा ऋण भुक्तानीको तौर–तरिकाहरुको पनि जानकारी लिनुपर्छ ।

नेपालमा थुप्रै बैंक तथा वित्तीय संस्थाहरु छन्, जसले साना तथा ठूला व्यवसाय गर्नेहरुका लागि भनेर थुप्रैखालका ऋणहरु उपलव्ध गराउँछन । तीमध्ये सकेसम्म कम व्याजदर र अन्य शुल्कहरु, सहज प्रकृया भएको, आफूलाई पायक पर्ने शाखा भएको र नेपाल सरकारबाट मान्यता प्राप्त एवं विश्वासिलो बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा उचित हुन्छ । राम्रोसँग नबुझी व्यक्ति विशेषको प्रभावमा परेर ऋण लिँदा पछि आफैंलाई अप्ठ्यारो पर्न सक्छ ।

वर्तमान अवस्थामा कहीँ कतै बैंकलाई देखाउनकै लागि मात्र उद्यम व्यवसाय गर्ने र बैंकबाट ऋण लिएर अन्यत्र प्रयोग गर्ने तथा बैंक कर्जाअनुरुपको उद्यम सञ्चालन नगर्ने, बैंकका लागि कमसल धितो राख्न खोज्नु जस्ता प्रवृत्ति देखिएका छन्, जसले गर्दा क्षणिकरुपमा बैंकलाई ठगी गरी सन्तुष्टि प्राप्त भएता पनि दीर्घकालीन रुपमा बैंक कर्जा तिर्न नसकी टाट पल्टेका थुप्रै उदाहरणहरु हाम्रो सामु देखिएका छन् । यसो हुनुको प्रमुख कारण कर्जा दुरुपयोग तथा उत्पादनशील क्षेत्रमा कर्जा लगानी हुन नसक्नु हो ।

यदि तपाई बैंकसँग ऋण लिँदै हुनुहुन्छ भने कति ऋण लिने ? किन ऋण लिने ? ऋण लिनुअघि के–के कुरा बुझ्ने ? के–के कुरा गर्ने र के नगर्ने ? तपाईंले बैंक अथवा अरु संस्थाबाट लिएको ऋण तिर्नुभएन भने के हुन्छ ? बित्तीय संस्थासँग लिएको ऋण कस्ताखालका उद्यम÷ब्यवसायमा लगाउने भन्नेबारे पहिल्यै चनाखो हुनुपर्छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको पहुँच बढ्दै जाने, कर्जा लिनेको सङ्ख्या पनि बढ्ने तर कर्जाको ठीक सदुपयोग नभएपछि आर्थिक अवस्था झन बिग्रिएर घरवारविहीन हुनुपरेका उदाहरण पनि प्रशस्त छन् । त्यसैले कर्जा लिँदा स्पष्ट व्यावसायिक योजना बनाएर मात्र अघि बढ्नुपर्छ ।

मुख्यतः उपभोगका लागि ऋण लिने बानीलाई घटाउँदै जानुपर्छ । अर्थात पछि आम्दानी दिने काममा लगानी गर्नका लागि मात्र ऋण लिनु उपयुक्त हुन्छ । बैंकबाट ऋण लिनुअघि ऋण लिएको पैसा के काममा खर्च गर्ने, उक्त काम ऋण नलिई गर्न सम्भव छ कि छैन, ऋण तिर्नका लागि कति समय लाग्ला जस्ता कुराहरुमा ध्यान दिनुपर्दछ ।

समयमा ऋण तिर्न नसकेमा हर्जाना तिर्नुपर्ने, धितो लिलाम हुन सक्ने र अन्ततः कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत पर्न जाने र ऋण लिने व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने हुुँदा समयमै कर्जाको किस्ता बुझाउनेतर्फ सधैं सजग रहनुपर्छ ।

हामीकहाँ बैंकबाट ऋण लिने कुरालाई गरिब हुनु वा कमजोर हुनुसँग जोडिन्छ, यो एकदम गलत कुरा हो । बैंकबाट लिएको ऋणले जीवनस्तर परिर्वतन गर्नुपर्छ । उत्पादशील कार्यमा लगानी गरी मुनाफा आर्जन गरी आफनो परिवार मात्र होइन, देशको अर्थतन्त्रमा समेत योगदान पुयाउनु हो भन्ने कुरा बुझाउन सक्नुपर्छ । ऋण लिने व्यक्तिले पनि प्राप्त ऋणको सही सदुपयोग गर्न सक्नुपर्छ र ऋण प्राप्ति तथा समयमा कर्जा भुक्तानी नगर्दा के हुने जस्ता विषयहरुमा सचेत हुनुपर्छ ।

उत्पादनशील क्षेत्रमा लगानीको सही सदुपयोग हुँदा देशको अर्थतन्त्र बलियो बन्छ । नागरिकको उन्नती देशको अर्थतन्त्रसँगै जोडिएको हुन्छ । आज संसारमा पैसालाई परिचालन गर्न सक्नेहरु थोरै पैसाले पनि धेरै काम गर्न सक्षम भएका छन् । त्यस कारण पर्याप्त सोच, विचार गरेर मात्र ऋण लिनका लागि प्रोत्साहित बन्नुपर्छ । यसले ऋण लिने ब्यक्तिलाई सधैं ऋणी होइन, उसको जीवन समृद्ध बन्न मद्दत हुन्छ ।

(लेखक कृषि विकास बैंक बुटवल शाखाकी बरिष्ठ शाखा प्रवन्धक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?