Comments Add Comment

लण्डन अदालतको फैसला- विकिलिक्सका संस्थापक असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिँदैन

२१ पुस, काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई सुपुर्दगी गर्न बेलायतको एक अदालतले अस्वीकार गरेको छ । अमेरिकी सेनाका गोप्य दस्तावेज लिक गरेर सनसनी मच्चाएका असान्जलाई सुपुर्दगी अमेरिकाले आग्रह गर्दै आएको छ ।

लण्डनस्थित जिल्ला अदालतले असान्ज मानसिक रुपमा ठिक नभएको र अमेरिकाको हिरासतमा रहँदा आत्महत्या गर्न सक्ने भन्दै सुपुर्दगी गर्न नसकिने फैसला सुनाएको हो ।
असान्ज सन् २०१० मा लण्डनमा पक्राउ परेका थिए । अमेरिकीहरुले असान्जमाथि जासुसीका १७ आरोप लगाएका छन् । एक आरोप कम्प्युटरको दुरुपयोगसँग सम्बन्धित पनि छ । यी सबै आरोप पुष्टि भएमा उनीमाथि १७५ वर्ष जेल सजायँ हुनसक्ने छ । यद्यपि अमेरिकी सरकारले भने सजायँ चारदेखि ६ वर्षसम्म हुन सम्भावना रहेको जनाएको छ ।

असान्जमाथि लागेका आरोपहरुमाथि तीन हप्तादेखि लण्डनको अदालतमा बहस भइरहेको थियो । आफ्नो फैसला सुनाउँदै न्यायाधीश भनेसा बाराइस्टरले भनिन्, ‘असान्जको मानसिक अवस्थालाई हेर्दा सुपुर्दगी गर्नु ठीक हुँदैन । यदि अमेरिका पठाइयो भने उनले आत्महत्या पनि गर्न सक्छन् ।’

न्यायाधीशले यो फैसला सुनाउँदा नीलो सुट र हरियो मास्क लगाएका असान्जले आँखा चिम्लिएर सुनिरहेका थिए । उनकी श्रीमतीले आँसु चुहाएकी थिइन् ।

लण्डन अदालतको यो फैसलाविरुद्ध अमेरिकी अधिकारीले १४ दिनभित्र पुनरावेदन गर्न सक्ने बीबीसीले जनाएको छ ।

स्वीडेनको आग्रहमा असान्ज लण्डनमा पक्राउ परेका थिए । स्वीडेनले दुई महिलामाथि बलात्कार र यौन उत्पीडनको आरोपबारे असान्जसँग सोधपुछ गर्न चाहन्थ्यो । स्वीडेन जानबाट जोगिन असान्जले लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएर बसेका थिए । त्यसपछि उनी बेलायत र स्वीडेनका अधिकारीहरुको पहुँचबाट टाढै रहे ।

त्यसपछि अपि्रल २०१९ मा दूतावासबाट बाहिरिए र बेलायतको प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । स्वीडेनले सोही वर्ष यौन उत्पीडनको आरोप फिर्ता लियो । यद्यपि असान्ज लण्डनको जेलमै रहेका थिए । सुनुवाइ गर्दा उनलाई जेलको भ्यानमा राखेर अदालत लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment