Comments Add Comment

इरानले पुनः सुरु गर्‍यो युरोनियम संवर्द्धन, संयम रहन चीनको आग्रह

२१ पुस, काठमाडौं । इरानले २० प्रतिशत शुद्धीकरणसहितको युरेनियम संवर्द्धनको काम सुरु गरेको छ । सोमबार इरानको सरकारले दिएको जानकारीअनुसार भूमिगत परमाणु केन्द्रमा उसले युरेनियम संवर्द्धनको काम सुरु गरेको हो । यो सन् २०१५ मा विश्वका प्रमुख ६ शक्तिराष्ट्रहरुसँग भएको परमाणु सम्झौताको उल्लंघन हो ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेका थिए । त्यसयता इरानले उक्त सम्झौताको उल्लंघन गर्ने चेतावनी दिँदै आएको थियो । अमेरिकाको राष्ट्रपतिमा जो बाइडन विजयी भएसँगै अमेरिका पुनः उक्त सम्झौतामा जोडिन सक्ने अपेक्षा गरिएको अवस्थामा इरानले युरोनियम संवर्द्धन सुरु गरेको हो ।

इरानको यस्तो बताएसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको यो कदमको उद्देश्य परमाणु हतियार बनाउनु रहेको र इजरायलले इरानको लक्ष्य पूरा हुन नदिने बताएका छन् । परमाणु बम बनाउन ९० प्रतिशत शुद्ध युरेनियम आवश्यक पर्छ ।

इरानसँग सन् २०१५ मा भएको सम्झौतामा इरानले ३.६७ प्रतिशत शुद्ध युरेनियम संवर्द्धन गर्न पाउने उल्लेख थियो । तर, अहिलेसम्म इरानले ४.५ प्रतिशत शुद्ध युरेनियम संवर्द्धन गर्दै आएको थियो ।

यसैबीच चीनले यो विषय निकै संवेदनशील र जटिल रहेकाले सबै पक्षलाई संयम रहन आग्रह गरेको छ । चीनले अमेरिकालाई तत्काल विना शर्त इरानमाथिको प्रतिबन्ध हटाउन र सम्झौतामा फर्किन दबाव दिनुपर्ने बताएको छ । इरानले अमेरिकाले प्रतिबन्ध हटाए पुनः यसअघिको सम्झौताको पालना गर्न सुरु गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment