Comments Add Comment

साझा प्रकाशनको अध्यक्षको प्रतिस्पर्धामा नेकपा नेता

२१ पुस, काठमाडौं । निर्धारित मितिभन्दा साढे २ वर्षपछि साझा प्रकाशनको नेतृत्व परिवर्तनको लागि साधारण सभा सुरु भएको छ । पछिल्लो पटक २०७२ सालमा भएको साधारण सभा भएको थियो ।

मंगलबार ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालयमा नयाँ अध्यक्षका लागि मतदान सुरु भएको छ । विद्यमान ऐन अनुसार २०७५ को असार मसान्तभित्र अध्यक्ष सहितको सञ्चालक समितिको निर्वाचन भइसक्नुपर्ने थियो । तर राजनीति हाबी भएर साढे २ वर्षसम्म साधारणसभा प्रभावित बन्दै आएको थियो ।

साझा प्रकाशनको विनियम अनुसार ३ वर्षमा पदाधिकारी निर्वाचित गर्नैपर्ने हुन्छ । पछिल्लो सहकारी नियमावली २०७५ अनुसार पनि २०७५ असार मसान्तभित्र साधारणसभा गरिसक्नुपर्ने थियो ।

साझा प्रकाशनको अध्यक्षका लागि साहित्यकार डा. विजय सुब्बा र पूर्वसञ्चालक जीवनचन्द्र कोइराला प्रतिस्पर्धामा छन् । साहित्यकार सुब्बा पनि यसअघि पनि साझाको सञ्चालक समिति सदस्यको रुपमा काम गरिसकेका छन् । उनी नेकपा ओली समूहका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद पनि हुन् ।

साझा प्रकाशनले मंगलबारदेखि शुक्रबार ३ बजे सम्मका लागि कार्यालय परिसरभित्र मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ । निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले स्वास्थ्य सर्तकताका मापदण्ड अपनाएर मतदानको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

सदस्यसचिव भट्टराईका अनुसार अन्य ३ जना सञ्चालकहरू निर्विरोध चयन भइसकेका छन् । महिलातर्फ सीता कुमारी ओझा, खुल्लातर्फ डोरप्रसाद अर्याल र हरिप्रसाद भण्डारी निर्विरोध चयन भएका हुन् । दुई सदस्यीय लेखा सुपरीवेक्षण समितिमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।

अध्यक्षको निर्वाचनको मत परिणाम आगामी २५ गते सनिबार भर्चुअल रुपमा हुने साधारण सभामा जानकारी गराईने पनि निर्वाचन समितिका सदस्य सचिव भट्टराईले जानकारी दिए ।
सहकारी ऐन २०७४ अनुसार अब निर्वाचित पदाधिकारीको समायावधि ४ वर्ष को हुनेछ । साझा प्रकाशनको २०७०/७१ देखिलेखा परीक्षण हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment