Comments Add Comment

सिरी ए मा एसी मिलानको पहिलो हार, युभेन्ट्स ३-१ ले विजयी

२३ पुस, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको एसी मिलानले यस सिजनको पहिलो हार व्यहोरेको छ । गएराति भएको खेलमा मिलान घरेलु मैदानमै साविक विजेता युभेन्ट्ससँग ३-१ ले पराजित भएको हो ।

त्यसअघि दोस्रो स्थानको इन्टरमिलान पनि साम्पडोरियासँग पराजित भएको थियो । जसले गर्दा एसी मिलान अझै शीर्ष स्थानमै यथावत रहेको छ ।

एसी मिलानलाई उसैको मैदानमा पराजित गर्न युभेन्ट्सका लागि फेडेरिको चिएसाले दुई गोल गरे । उनले १८औं र ६२औं मिनेटमा गोल गरे । यस्तै वेस्टन म्याकेन्नीले ७६औं मिनेटमा गोल गरे । एसी मिलानका लागि ढेभिड कालाब्रिएले ४१औं मिनेटमा एक गोल गरे ।

हारपछि पनि मिलान १६ खेलबाट ३७ अंकसहित शीर्ष स्थानमा छ । यस सिजन आठौं जित हात पारेको युभेन्ट्स १५ खेलबाट ३० अंक जोड्दै चौथो स्थानमा उक्लेको छ ।

यस्तै इन्टर मिलान साम्पडोरियासँग २-१ ले पराजित भएको छ । साम्पडोरियाका लागि एन्टोनिओ कान्ड्रेभा र केइटा बाल्डेले गोल गरे । इन्टरका स्टेफान डे भिजले एक गोल फर्काए । त्यसअघि इन्टरका एलेक्सिस सान्चेज पेनाल्टीमा गोल गर्नबाट चुके ।

हारपछि पनि १६ खेलबाट ३६ अंकसहित इन्टर दोस्रो स्थानमै छ । साम्पडोरिया १६ खेलबाट २० अंक जोड्दै ११औं स्थानमा उक्लेको छ ।

यस्तै क्रोटोनेलाई ३-१ ले पराजित गर्दै १६ खेलबाट ३३ अंक जोडेको रोमा तेस्रो स्थानमा यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment