
२३ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले ताजा जनादेशमा जाने विषय प्रधानमन्त्रीको आदेशको भरमा नहुने बताए ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले संविधानअनुसार ५ वर्षमा मात्र ताजा जनादेश लिने व्यवस्था रहेको धारणा राखे ।
‘५ वर्षमा हुने चुनावलाई अढाइ वर्षमा झार्ने हुकुमी शासन कहाँबाट प्राप्त भयो ? संवैधानिक सर्वोच्चताको सिद्धान्त हामीले अंगालेका छौ । यो देशको ठूलो संविधान हो । संवैधानिक सर्वोच्चता ठूलो हो । वैशाखमा चुनाव हुन्न । प्रधानमन्त्रीले फटाहा बोलेको हो भन्ने साबित हुन्छ’ उनले भने ।
प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पाउने संसदको अधिकार भएकोले त्यससँग डराएर प्रधानमन्त्रीले संसद विघटन गर्न नहुने विडारीको भनाइ छ ।
पार्टीले काम गर्न नदिए अध्यक्ष असफल भएको मानिने र अविश्वास प्रस्ताव आउन लागे प्रधानमन्त्री असफल मानिने भन्दै उनले पार्टीको विवादमा प्रधामन्त्रीले संसद र व्यवस्थामाथि प्रहार गर्नु उचित नभएको बताए । वैशाखमा चुनाव नहुने भन्दै उनले प्रधानमन्त्रीले झुठो बोलेको साबित भएको पनि बताए ।
सांसद विडारीले भने, ‘पार्टीले काम गर्न दिएन भने पार्टीको अध्यक्ष असफल रहेछन् भन्ने जान्नुपर्यो । संसदले अविश्वास प्रस्ताव ल्याउने भयो भने प्रधानमन्त्री असफल भयो त । अविश्वास ल्याउने त संसदको अधिकार हो । ३ वर्ष बजेट पारित गरिदियो । कार्यनीति पारित गरिदियो । विधेयक पारित गरिदियो । विवाद पार्टीमा भयो । प्रहार संसदलाई गर्ने ? जनता र व्यवस्थाको विरुद्ध प्रहार गर्ने ?’
सांसद बिडारीले संविधान निर्माण गर्दाताका देश विदेशका विज्ञहरुसँग परामर्श गरी प्रतिनिधि सभा प्रधानमन्त्रीको सनकको भरमा भंग गर्न नसकिने बनाइएको पनि स्मरण गरे ।
सरकारको अलोकप्रियता बढ्दै गएकाले यो व्यवस्था, बहुदलीय प्रतिस्पर्धा हुने प्रणाली र आफ्नै पार्टीका विरुद्धमा संसद विघटनको घोषणा गरिएको उनको भनाइ थियो ।
राष्ट्रियता, संघीयता, एकता, तथा गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई समेत संसारका अगाडि लज्जित बनाउने दुष्कार्य भएको सांसद विडारीले बताए ।
प्रतिक्रिया 4