
ककस्तुप पन्त गीतकार, संगीतकार तथा गायक हुन् । दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनका थुप्रै लोकदोहोरी तथा आधुनिक गीतहरु सफल छन् । ‘फुलको थुङ्गामा’, ‘धोका दिनेलाई के भनौं र खोई’, ‘मधुवनैमा’, ‘बिर्सियौकी कुन्नी, ‘जिन्दगी पानीको फोका’ लगायत कस्तुपका हिट गीत मानिन्छन् । उनै कस्तुपसँग अनलाइनखबरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
१. बिहान कति बजे उठ्नुहुन्छ ?
म त हरेक दिन ५ बजेतिर उठ्छु ।
२. उठेपछि के गर्नुहुन्छ ?
एक–डेढ घण्टा मर्निङवाकमा निस्कन्छु ।
३. चिया कतिबेला पिउनुहुन्छ ?
मर्निङवाकबाट फर्किसकेपछि काममा लाग्नुभन्दा अगाडि चिया पिउने बानी छ । मेरो स्वभाव अलि अनौठो छ, म चिया खान अत्याधिक रुचाउने मान्छे हुँ । कालो चिया पिएपछि साधनामा लाग्छु । त्यसको केही समयपछि दुध चिया पिउँछु ।
४. आजको कार्यक्रम के छ ?
नयाँ गीतको तयारीमा छु । मेरो लय, शब्दमा कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीले गाउनुभएको छ । ‘सिलौटोमा चटनी’ भन्ने गीत हो । सकेसम्म चाँडो सार्वजनिक गर्ने तयारी छ ।
५. घरायसी काम गर्न कत्तिको जाँगर चल्छ ?
म जस्तो कामदेखि पनि भाग्दिनँ । तर, आफ्नै काममा बढी व्यस्त भइरहेको हुन्छु । समयले भ्याएसम्म घरायसी काम गरिरहेकै हुन्छ ।
६. घरमा को–को हुनुहुन्छ ?
काठमाण्डौमा श्रीमती, दुई छोरा, एक छोरी । छोरी होस्टेलमा बसेर पढ्छिन् ।
७. श्रीमान–श्रीमतीबिच मनमुटाव हुन्छ ?
यो पेशामा लागेपछि मनमुटाव गर्नुहुदैन जस्तो लाग्छ । हामी क्रियसन गर्ने मान्छेलाई परिवारको एकदमै ठूलो साथ चाहिन्छ । किनकी, क्रियशन भन्ने नयाँ कुरा जन्माउने कुरा हो । यसले, नयाँ कुरा जन्माउन गाह्रो पर्छ । कतिपय साथीहरुको पारिवारिक तनाव देखिन्छ ।
हार्मोनियम बजाउने समयमा एउटा चम्चा खस्यो भने त्यसको आवाजले काम गरिरहेको समयमा समस्या पार्छ भने मनमुटावले कति असर गर्छ होला । कहिलेकाँही परिहाल्यो भने छोराछोरीका कुरामा होला । उनीहरुका चिन्ता र चासोका विषयमा हुन्छ ।
८. यात्रा के मा गर्नुहुन्छ ?
गाडीमा हिड्छु ।
९. कति भयो गाडी लिनुभएको ?
२०६४ सालमा सारथी म्युजिक प्रा.लि. खोलेपछि आफ्नो कमाईले पहिले किनेको बाइक हो । ९–१० वर्षसम्म बाइकमै यात्रा गरेँ । गाडी लिएको ३ वर्ष भयो ।
१०. बाइक र गाडीको यात्रामा फाइदा–बेफाइदा के छ ?
काठमाण्डौमा सुरक्षा, स्वास्थ्यका हिसावले गाडी नै राम्रो हुन्छ । तर, काम छिटो गर्नका लागि भने दुई पांग्रे ठिक हो ।
तर, गाडी चलाउन लागेपछि आफूले हिजो बाइक चलाउँदा धेरै कमीकमजोरी गरेर चलाएको महशुस हुँदो रहेछ । बास्तवमा गाडी चलाउनेलाई हामीले अन्याय गरिरहेका रहेछौं भन्ने महशुस हुन्छ ।
११. दिनभर काम छैन भने कसरी कटाउनुहुन्छ ?
प्रायः काम नै हुन्छ । सांगीतिक क्षेत्रका काम, घरायसी कामहरु हुन्छ । त्यो नभए सांगीतिक क्षेत्रका साथीहरुसँग बसेर व्यवसायीक, सांगीतिक चिन्ताका कुुराहरु हुन्छ । धेरै समय संगीत क्षेत्रकै लागी बित्छ ।
१२. दैनिक कति जनासँग भेट हुन्छ ?
ठ्याक्कै यति भन्ने त हुदैन । दुई–चारजना साथीहरुसँग भेटघाट हुन्छ । कहिलेकाही राजनीतिक क्षेत्रमा मानिसहरुसँग पनि भेट हुन्छ । हामीले राजनीतिप्रति चासो लिने काम पनि केही रहन्छ । विशेषगरि बचेको समयमा समाचारहरु हेर्छु, पढ्छु ।
१३. फेसबुक कत्तिको चलाउनुहुन्छ ?
त्यति धेरै चलाउँदिन । समाचार हेर्नका लागि भने खोलिरहेको हुन्छ । साथीहरुको गीत आयो भने प्रमोशन गर्छु । साथीहरुले पनि मेरो गीतहरु आउँदा प्रमोशन गरिरहनुभएको हुन्छ ।
१४. लकडाउनयता कति गीतहरु सिर्जना गर्नुभयो ?
२ वटा आधुनिक गीत तयार गरेँ । एउटा तीजको गीत, एउटा भैलो तयार गरेँ । मेरो एल्बम ‘जीन्दगी पानीको फोका’ दशैंअघि रिलिज गरेको थिएँ । त्यो गीत राम्रो भएको छ । अर्को ‘जिन्दगी घामछायाँ’ भन्ने गीत सिर्जना गरेँ । अहिले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा छु ।
अहिलेको समयमा मेरो आम्दानी त राम्रो छैन । कोरोना महामारीको यो समयमा हामीले आफ्नो क्षेत्र र हामीलाई माया गर्ने स्रोता दर्शकहरुलाई अडाइराख्नुपर्ने भएकाले पनि नयाँ सिर्जना गर्न रोक्नु हुँदैन ।
१५. बेलुका कतिबेलासम्म घर पुग्नुहुन्छ ?
म चक्रपथ भन्दा बाहिर बस्ने भएकाले पनि फर्किने बेलामा काठमाण्डौको ट्राफिक जामलाई ख्याल गरेर जाम कम भएपछि मात्र फर्किन्छु । प्रायः म अनामनगर क्षेत्रतिर हुन्छु । ७ बजेतिर फर्किन्छु, घर पुग्दा ८ बज्छ ।
प्रस्तुतिः सुशिल नेपाल
प्रतिक्रिया 4