
२४ पुस, काठमाडौं । अस्ट्रेलियाले चीनसँग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९)बारे अनुसन्धान गर्न पठाएको टोलीलाई मुलुक प्रवेशमा अनुमति दिन आग्रह गरेको छ । कुनै ढिलाइ नगरी डब्ल्यूएचओको टोलीलाई मुलुकमा प्रवेश दिन अस्ट्रेलियाले आग्रह गरेको हो ।
अस्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले चीनले ढिला नगरी डब्ल्यूएचओको टोलीलाई मुलुक प्रवेशको अनुमति दिने विश्वास व्यक्त गरेकी छिन् । उनले कोरोना भाइरसको उत्पत्तिको विषयमा अनुसन्धान हुनु निकै महत्वपूर्ण रहेको उल्लेख गरेकी छिन् ।
डब्ल्यूएचओले सन् २०१९ को अन्तिममा कोरोना भाइरसको उत्पत्ति भएको वुहान सहरमा अनुसन्धानको लागि एक टोली पठाउने तयारी गरेको छ । जसमध्ये पहिलो चरणमा चीनतर्फ लागेका दुईजनालाई चीनले प्रवेशको अनुमति दिएको थिएन । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले चीनले डब्ल्यूएचओको टोलीलाई मुलुकमा प्रवेश नदिनु दुखद् भएको बताएका थिए ।
बुधबार चीनले भने आफूहरु डब्ल्यूएचओको टोलीको भ्रमणको विषयमा अध्ययन गरिरहेको बताएको थियो । चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले चीनको छलफलबाट टोलीको भ्रमणको मिति सकेसम्म छिटो तय हुने बताएकी थिइन् । उनले यो निकै जटिल काम भएको भन्दै टोलीको काममा कुनै अवरोध नआओस् भन्नका लागि विशेष तयारी आवश्यक रहेको उल्लेख गरेकी थिइन् ।
प्रतिक्रिया 4