Comments Add Comment

सुन आयातको कोटा बढाउन व्यवसायीको माग

२४ पुस, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन आयातको कोटा बढाउन सरकारलाई आग्रह गरेको छ । विदेशी विनिमय सञ्चती गर्ने नाममा सरकारले सुनको कोटा घटाउँदा व्यवसायीहरु पसल बन्द गर्नु पर्ने अवस्थामा पुगेको महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्माले बताए ।
काठमाडौंमा सुरु भएको महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

बजारमा उपभोक्ताले माग गरे बमोजिम सुनको अभाव भएको भन्दै उनले कच्चा पदार्थ नभएर व्यवसाय गर्नै नसकिने अवस्थामा पुगिएको गुनासो गरे । ‘कोरोनाको नाममा व्यवसाय धर्मराएकै छ त्यसमाथी सरकारी कोटा प्रणालीले सिजनमै व्यवसाय चल्न सकेन,’ अध्यक्ष विश्वकर्माले भने सुनको आयात तत्काल नबढाउने हो भने धेरै व्यासायीहरु पलायन हुने अवस्था आउन बेर लाग्दैन ।’

दैनिक १० किलो सुनको आयातले सात प्रदेशमा वितरण गर्नै नपुग्ने उनको भनाई थियो । सामान्य अवस्थामा दैनिक १५ किलो र सिजनका बेला दैनिक ४० देखि ४५ किलो सुनको आयात गर्ने व्यवस्था गर्न पनि उनले माग गरे ।

सुन आयातको सम्बन्धमा सरकारी नीति अस्थिर भएको भन्दै अध्यक्ष विश्वकर्माले व्यवसाय प्रर्वधन नियमन गर्ने ऐन तथा कार्यविधि तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गराए । महासंघका अनुसार एक वर्षमा नेपालमा ५० अर्ब रुपैयाँ बराबरको सुन चाँदीको कारोबार हुने हुन्छ ।

देशभर २२ हजार व्यवसायी यो क्षेत्रमा संलग्न रहेको १२ अर्ब भन्दा धेरै कर राज्यलाई बुझाउने गरेको महासंघले जनाएको छ । महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशन काठमाडौंमा सुरु भएको छ ।

नयाँ कार्यसमिति चयन गर्दै शनिबार सकिने महाअधिवेशनको महासंघका संस्थापक सल्लाहकार एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरेका थिए ।

महासंघको साधारणसभा तथा अधिवेशनमा सहभागी हुन देशका ६६ जिल्ला र नगरसंघ तथा वस्तुगत र एसोसिएट सदस्यहरुगरी ६ सय भन्दा बढी प्रतिनिधि र पर्यवेक्षक काठमाडौंमा छन् ।

महासंघको बन्द सत्र तथा निर्वाचनको कार्यक्रम शनिबारलाई तोकिएको छ । निर्वाचनबाट ५५ सदस्यीय नयाँ कार्य समिति चयन हुने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment