Comments Add Comment

माघ ७ देखि तातोपानी नाका ३ साता बन्द हुने

२६, पुस, काठमाडौं । तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

‘बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २० जनवरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको छ,’ तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले अनलाइनखबरलाई बताए । पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागामा केही दिनअघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको उनले बताए ।

तिब्बतबाट प्राविधिक मगाएर चिनियाँ पक्षले पुलको अवस्था जाँच गरेपछि मर्मत गरिने निश्चित भएको उनको भनाइ छ । बढीमा तीन सातामा पुल मर्मत सकिने जानकारी चिनियाँ पक्षले नेपाललाई गराएको छ ।

पुल मर्मतकालागि नाका बन्द रहने भएपछि बाटोमा रहेका सामानहरु छिटो ल्याउन पहल भइरहेको भन्सारले जनाएको छ । हाल दैनिक १८ वटा कन्टेनरमार्फत नाकाबाट सामान भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ । पुल मर्मत गर्दा बाटोमा सामान नअडि्कयोस भनेर मा छिटो-छिटो सामान ल्याउँदा भन्सारको राजश्व बढेर तीन सातामा १८ करोड पुगेको भन्सार कार्यालयले जनाएको छ ।

साउन देखि मंसिरसम्म १७ करोड राजश्व संकलन भएकोमा पुस महिनाको तीन सातामा १८ करोड राजश्व संकलन भएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

कोभिड र बाढीका कारण चीनतर्फका महत्वपूर्ण व्यापारिक नाकाहरु लामो समयदेखि अवरुद्ध हुँदै आएका छन् । नाकामा भएको अवरोधले दुई देशबीचको व्यापार अवरुद्ध भएको भन्दै नेपाली व्यवसायी भने चिन्तित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment