
२७ पुस, काठमाडौं । चीनले आगामी बिहीबार डब्ल्यूएचओका वैज्ञानिकहरुको टोली आइपुग्ने बताएको छ । सोमबार चीनको नेशनल हेल्थ कमिसनले कोरोना भाइरस (कोभिड-१९) को उत्पत्तिबारे अनुसन्धानको लागि आउन लागेको टोली बिहीबार चीन आइपुग्ने बताएको हो ।
डब्ल्यूएचओको टोलीले जनवरीको सुरुबाट चीन भ्रमण सुरु गर्ने योजना बनाएको थियो । तर, गत साता डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले चीनले भिसा नदिएको कारण टोलीका केही मानिसहरुले चीन भ्रमण गर्न नसकेको जानकारी दिएका थिए ।
नेशनल हेल्थ कमिसनले टोलीको भ्रमणको मिति आधिकारिकरुपमा घोषणा गरे पनि यस विषयमा विस्तृत जानकारी भने दिएको छैन । सन् २०१९ को अन्तिममा चीनको वुहान सहरमा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । डब्ल्यूएचओले वुहान सहरमा कसरी र कहिले कोरोनाको उत्पत्ति भएको भन्ने अध्ययनका लागि टोली चीन पठाउन लागेको हो ।
लामो समयसम्म चीनले कोरोनाबारे अध्ययनको लागि अस्वीकार गर्दै आए पनि अन्ततः डब्ल्यूएचओको टोलीलाई अध्ययनको अनुमति दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4