Comments Add Comment

ब्राजिलमा चिनियाँ कोरोना खोप ५० प्रतिशत प्रभावकारी

२९ पुस, काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा गरिएको परीक्षणको क्रममा ५०.४ प्रतिशत प्रभावकारी पाइएको छ ।

शोधकर्ताहरुले सार्वजनिक गरेको पछिल्लो नतिजामा चिनियाँ खोप नियामकको अनुमति पाउनका लागि आवश्यक ५० प्रतिशतभन्दा केही मात्र बढी प्रभावकारी देखिएको हो ।

ब्राजिलमा कोरोना खोपको लागि अनुमतिको पर्खाइमा रहेका दुईमध्ये चिनियाँ कोरोना खोप पनि एक हो । ब्राजिल कोरोनाबाट सबैभन्दा प्रभावित मुलुकमध्येको एक हो ।

सिनोभ्याकको कोरोना खोपको लागि अहिलेसम्म इन्डोनेसिया, टर्की र सिंगापुरले अर्डर दिइसकेका छन् । गत साता ब्राजिलको बुटान्टान इन्स्टिच्युटले सार्वजनिक गरेको तथ्यांक अनुसार चिनियाँ कोरोना खोप गम्भीर र सामान्य लक्षण देखिएका संक्रमितमा ७८ प्रतिशत प्रभावकारी देखिएको थियो ।

यद्यपि मंगलबार भने निकै सामान्य लक्षण देखिएका संक्रमितलाई पनि समावेश गर्दा यो खोप ५०.४ प्रतिशत प्रभावकारी देखिएको हो । बुटान्टान इन्स्टिच्युटले भने उपचार आवश्यक पर्ने संक्रमणबाट बचाउन यो खोप ७८ प्रतिशत प्रभावकारी देखिएको र गम्भीर लक्षणसहितको संक्रमणबाट बचाउन भने यो खोप शतप्रतिशत प्रभावकारी रहेको बताएको छ ।

सिनोभ्याक कम्पनीले परीक्षणको क्रममा विश्वभरबाट फरक फरक किसिमको नतिजा आइरहेको छ । टर्कीमा गरिएको परीक्षणको क्रममा यो खोप ९१.२५ प्रतिशत प्रभावकारी पाइएको थियो । इन्डोनेसियामा पनि सोही खोप ६५.३ प्रतिशत प्रभावकारी देखिएको थियो ।

ब्राजिलमा सिनोभ्याकले विकास गरेको र अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको कोरोना खोप सरकारबाट अनुमतिको पर्खाइमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment