Comments Add Comment

कोरोनाले थलिएको नेपाली खेलकुद चलायमान बन्दै

१ माघ, काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै ठप्प बनेको नेपाली खेलकुद क्षेत्र विस्तारै चल्मलाउन थालेको छ । फुटबलदेखि क्रिकेट प्रतियोगिता र अन्य खेलकुद गतिविधिहरू सुचारु हुन थालेका छन् ।

अहिले राष्ट्रिय फुटबल टिमले एन्फा कम्प्लेक्समा विश्वकप छनोटका लागि प्रशिक्षण गरिरहेको छ । यस्तै राष्ट्रिय क्रिकेट टिमका खेलाडी फिटनेसमा काम गरिरहेका छन् । शुक्रबार र शनिबार पोखरामा ‘अरुणा शाहीलाई पल्सर स्पोर्ट्स अवार्डमा पिपुल्स च्वाइस विधामा जिताऔं’ अभियानको भलिबल खेल सुरु भयो । पुरुष प्रतियोगिता शनिबार सकिनेछ ।

शनिबारदेखि नै काठमाडौंको चन्द्रागिरी नगरपालिकामा १६ टिम सहभागी प्रथम प्रभातेश्वर पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल तेक्वान्दो संघले राष्ट्रिय टिमका खेलाडीहरूलाई आधिकारिक रुपमा प्रशिक्षण सुरु गरेको छ । यस्तै, ब्याडमिन्टन खेलाडी र टेबल टेनिस खेलाडीले पनि प्रशिक्षण गरिरहेका छन् । काठमाडौं बाहिर ३ वटा ब्याडमिन्टन प्रतियोगिता भइसकेका छन् ।

मंसिरमा चितवनमा गौतमबुद्ध कप टी–२० पुरुष क्रिकेट प्रतियोगिता आयोजना भयो । पुस ११ देखि १९ गतेसम्म दाङको लमहीस्थित देउखुरी मैदानमा पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न भयो । यसबाहेक भर्चुअल रुपमा तेक्वान्दो र कराँतेका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु निरन्तर भइरहेका छन् ।

टोकियो ओलम्पिक छनोट खेल्ने तयारीमा रहेका करातेका दुई खेलाडी प्रशिक्षणमा छन् । गत मंसिरमा नेपालगन्जमा छैटौं नेपालगन्ज म्याराथन सम्पन्न भयो । विजेता बन्दै गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका छन् ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करण पनि आयोजना भएको छ । कोरोनाका कारण नियमित समयमा आयोजना हुन नसकेपछि एनएसजेएफले यही २८ गते सातदोबाटोस्थित कराँते एकेडेमीबाट सेमी–भर्चुअल रुपमा स्पोर्ट्स अवार्ड आयोजना भएको हो । कराँतेका मन्डेकाजी र पौडीकी गौरिका सिंह वर्ष खेलाडी घोषित भएका छ । भलिबल टिमकी कप्तान अरुणा शाही लोकप्रिय खेलाडी बनिन् ।

मैदानभित्र भएका र हुँदै गरेका खेलकुदका गतिविधिहरू हुन् यी । यसअघि नोभेम्बरमा नेपालको राष्ट्रिय फुटबल टिमले बंगलादेशमा गएर दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर आएको थियो । यी सबै खेलकुद गतिविधि कोरोना महामारीले गर्दा लागु भएको बन्दाबन्दी र निषेधाज्ञा पछिका हुन् ।

यसबाहेक मैदानबाहिर प्रशासनिक रुपमा पनि विभिन्न कामहरु भएका छन् । राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अष्ट्रेलियन डेभ वाटमोर नियुक्त भएभने राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा समेत फेरबदल भएको छ ।

महिला क्रिकेटमा तोडिएको एपीएफको राज

खेलाडीको प्रदर्शन एकातिर राख्ने हो भने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको आयोजना सफल भएको मान्नुपर्छ । राखेपको आर्थिक सहयोगमा क्यानले कोरोना कालपछि ठूलो प्रतियोगिताको रुपमा महिला क्रिकेट आयोजना गर्यो । भलै २० ओभरको खेल भए पनि सातवटै प्रदेशले साविक विजेता एपीएफसँग प्रतिस्पर्धा गरे ।

यस पटक प्रदेश १ नयाँ च्याम्पियन बन्यो । एपीएफको एकछत्र राज तोडियो । गण्डकी र कर्णाली प्रदेशका युवा खेलाडीहरुले मैदानमा अरुको मन जिते । १३ वर्षीय ज्योत्सिना मरासिनीले कम उमेरमै राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्दै सबैको मन जितिन् ।

एक सयभन्दा बढी खेलाडीले दाङको देउखुरी मैदानमा ब्याटिङ, बलिङ र फिल्डिङ गर्ने अवसर पाए । प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनल खेल हेर्न दर्शकको उत्साहजनक सहभागिता रह्यो । यसले पनि क्रिकेट क्रेजलाई प्रस्ट पारिदिएको छ ।

यस प्रतियोगिताले तत्काल केही प्रभाव नपारे पनि भविष्यका लागि भने राम्रो संकेत देखाएको छ । खेलाडीको प्रदर्शन निखार्न, नयाँ प्रतिभा उत्पादन गर्न र राष्ट्रिय टिमको छनोट प्रतिस्पर्धात्मक बनाउन यस्ता प्रतियोगिता अझै हुनु जरुरी छ । राखेपबाट केही रकम छुट्याइए पनि क्यानले उधारोमै पीएम कप आयोजना गरेको हो ।

काठमाडौंमा प्रधानमन्त्री कप क्रिकेट

सुरुमा क्यानले एउटै मितिमा महिला र पुरुषको प्रतियोगिता आयोजना गर्ने गरी जिल्ला र प्रदेशमा तयारी गर्न भनेको थियो । तर बजेट अभावका कारण पालैपालो प्रतियोगिता आयोजना गर्ने भयो । महिलाको प्रतियोगिता दाङ देउखुरीको लमहीमा सकाएपछि क्यानले पुरुष प्रतियोगिता माघ २ गतेदेखि काठमाडौंमा सुरु गर्दैछ ।

सात प्रदेश र ३ विभागीयसहित कूल १० टिमले यस प्रतियोगितमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका खेलहरु टियू अन्तर्राष्ट्रिय मैदान र मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ । पुरुषको प्रतियोगितापछि क्यानले उमेर समूहको क्रिकेट प्रतियोगिताबारे केही निर्णय लिने आशा छ ।

१ जनवरी, २०२१ देखि नयाँ प्रशिक्षक नियुक्त भएका डेभ वाटमोर पनि प्रधानमन्त्री कप दौरान नेपाल आइपुग्ने सम्भावना छ । क्यानले एक वर्षका लागि वाटमोरलाई प्रशिक्षक नियुक्त गरेको हो । यस्तै क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल र फाइनान्स म्यानेजर रमेश कुमार न्यौपानेले १ जनवरीदेखि नै काम गर्न थालिसकेका छन् ।

क्यानले मार्चमा ओमान गएर विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिज खेल्नुअघि कम्तीमा नेपालमै एक अन्तर्राष्ट्रिय सिरिज खेल्नका लागि पनि तयारी गरिरहेको जनाएको छ ।

महिला राष्ट्रिय फुटबल लिगको प्रतिक्षा

गत वर्ष चैतमै अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय लिग आयोजना गर्ने घोषणा गरेको थियो । डबल राउण्ड रोविन लिगको आधारमा हुने लिगमा खेल्ने ७ टिमको टुंगोसमेत लागिसकेको थियो । खेलाडीदेखि एन्फा पदाधिकारीहरु सबै उत्साहित थिए । तर कोरोना महामारीले उत्साहमा ब्रेक लगाइदियो ।

जततउकस्ररधधध।यलष्लिभपजबदबच।अयmरद्दण्द्दण्रण्घरडद्धद्दघण्द्ध

महिला राष्ट्रिय लिग तोकिएको समयमा हुन सकेन । कोरोनापछि नेपालमा आयोजना हुन लागेको ठूलो फुटबल प्रतियोगिता महिला लिग नै हुनेछ । माघ ७ देखि काठमाडौंमा आयोजना हुने महिला राष्ट्रिय लिगमा तीन विभागीय टोलीसहित कूल ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

एपीएफ, आर्मी र पुलिससँगै गत माघमा आयोजना भएको उपमेयर कपको शीर्ष चारमा रहेका चन्द्रपुर विराटनगर वालिङ र चौदण्डी नगरपालिका राष्ट्रिय लिगका लागि छनोट भइसकेका छन् । त्यो बेला एन्फाले ६ महिनासम्म लिग सञ्चालन गर्ने बताएको थियो । तर अब हुने लिगमा कति खेल हुने, कति समय सञ्चालन हुने भन्ने एन्फाले सार्वजनिक गरिसकेको छैन ।

एन्फाले फागुन ११ गतेदेखि बी डिभिजन लिगका बाँकी खेलहरु पनि खेलाउने जनाएको छ । यस्तै चैत १ देखि सी डिभिजन लिग पनि हुँदैछ । माघकै दोस्रो साता एन्फाले विभिन्न ३ वटा प्रदेशको लिग पनि गर्ने तयारी गरिरहेको छ । त्यसैले यसपटक महिला लिग धेरै समय नहुने चाहिँ पक्का छ । कम्तिमा ७ टिमको डबल राउण्ड रोविन लिग भने हुने सम्भावना छ ।

एन्फाले दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा महिला लिग गर्ने लागि तयारी गरिरहेको छ । एन्फा कम्प्लेक्समा पुरुष टिमले तयारी गरिरहेकाले त्यहाँ महिला लिग हुँदा पुरुष टिम भने केही समय प्रशिक्षणका लागि पोखरामा जाने भएको छ । यस्तै मार्च (चैत महिनामा) नेपालमा विश्वकप छनोटका खेलहरु हुने भएकाले दशरथ रंगशाला पूर्णरुपमा तयार पार्ने काम भइरहेको छ । त्यसैले रंगशालामा महिला लिग खेल हुन्छ, हुँदैन त्यो हेर्न बाँकी नै छ ।

एन्फाले तीनवटा प्रतियोगिता आयोजना गर्दा खेलाडी र पदाधिकारीको लागि आइसोलेसन सेवा आवश्यक रहेको भन्दै सेवा प्रदान गर्न इच्छुकलाई प्रस्ताव पठाउन सूचनासमेत सार्वजनिक गरेको छ । एन्फाबाहेक मोफसलमा अन्य विभिन्न फुटबल प्रतियोगिताहरु समेत आयोजना भइरहेको छ ।

भलिबल खेलाडी कोर्टमा

नेपाल भलिबल संघ (एनभीए)ले अहिलेसम्म खेलाडीको प्रशिक्षण सुरु गर्न सकेको छैन । तत्काल अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति तय नभएको, आर्थिक अवस्था कमजोर रहेको र खेलाडीलाई सुरक्षित रुपमा प्रशिक्षण गराउन केही गाह्रो हुने भन्दै एनभीएले भलिबलको प्रशिक्षण सुरु गरेको छैन ।

पछिल्लो कार्यसमिति बैठकबाट महिला भलिबल टिमलाई आगामी अगष्टमा चीनमा हुने एसियन भलिबल च्याम्पियनसीपमा पठाउने निर्णय भने गरेको छ । तर टिमको प्रशिक्षणबारे अर्को बैठकबाट मात्रै निर्णय हुने एनभीएले जनाएको छ ।

नेपाल भलिबल संघ अघि नबढे पनि भलिबल गतिविधि भने सुरु हुन थालेको छ । गण्डकी प्रदेशका जिल्लाहरु सहभागी पुरुषको प्रतियोगिता शुक्रबार सुरु भएको थियो र शनिबार समाप्त भयो । त्यहाँ नेपाली महिला भलिबलका दुई बलिया र चर्चित टिम एपीएफ र न्यू डायमण्डबीचको खेल पनि भएको थियो ।

यसैगरी प्रभातेश्वर स्पोर्ट्स क्लबले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा प्रथम प्रभातेश्वर पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ । शनिबारदेखि सुरु प्रतियोगितामा कूल १६ टिमले सहभागिता जनाएका छन् । नुवाकोट, पोखरा र मुगुका क्लबसमेत रहेको प्रतियोगितामा रत्न राज्यलक्ष्मी क्लबको टिमसमेत रहेको छ ।

राष्ट्रियस्तरको प्रतियोगिता खेलिसकेका खेलाडीहरुले पनि प्रतियोगिता खेल्न नपाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख प्राप्त गर्नेछन् ।

म्याराथन धावक ढाकामा

फुटबल क्रिकेट र भलिबल बाहेक एथ्लेटिक्स खेलका गतिविधि पनि सुरु भएका छन् । मंसिरमा नेपालगन्जमा सुरक्षित तरिकाले म्याराथन सम्पन्न भयो । अन्य धावकहरु काठमाडौंमा प्रशिक्षण गरिरहेका छन् । आगामी जनवरी १० मा बंगलादेशको ढाकामा भएको सेख मुजिब ढाका म्याराथनमा सहभागिता जनाउन दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरे ।

१३ औं सागमा रजत जितेकी नेपालकी पुष्पा भण्डारीले दक्षिण एसियाली विधामा स्वर्ण जित्दै ऐतिहासिक उपलब्धी हासिल गरिन् । यस्तै १३औं दक्षिण एसियाली खेलकुद सागमा म्याराथनमा स्वर्ण जितेका किरण सिंह बोगटी भने दक्षिण एसियाली विधामा चौथो भए ।

सन्दीप अष्ट्रेलियामा जम्दै

नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछाने हाल अष्ट्रेलियामा बिग बास लिग (बीबीएल) खेलिरहेका छन् । यसअघि लगातार दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका सन्दीप यसपटक नयाँ टिम होबार्ट हुरिकेन्सबाट खेलिरहेका छन् । संयोगबस यस सिजनमा उनको पहिलो खेल पूर्व टिम मेलवर्न स्टार्सविरुद्ध थियो ।

ढिलो अष्ट्रेलिया गएका थिए सन्दीप । त्यहाँ १४ दिनको अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकोले उनले २०२० डिसेम्बरमा भएका सुरुवाती ६ खेल भने गुमाए ।

मौका पाउनासाथ आफ्नो उत्कृष्ट खेलमार्फत सन्दीपले अष्ट्रेलियामा नेपाली समर्थकलाई आकर्षित गरिरहेका छन् ।

टी–१० लिगको प्रतिक्षा

सन्दीप अष्ट्रलियामा जम्दै गर्दा नेपालका अन्य ३ खेलाडी पहिलोपटक युएईमा हुने टी–२० लिग खेल्ने प्रतिक्षामा छन् । सन्दीपले गत सिजन टी–१० खेलेपनि यस पटक बीबीएलमा व्यस्त छन् । उही समयमा पर्ने भएकोले सन्दीप टी–१० लिगमा हुने छैनन् । जनवरी २८ देखि फेब्रुरुअरी ६ सम्म हुने टी–१० लिगमा यसपटक नेपालबाट सोमपाल कामी, करण केसी र कुशल मल्ल छनोट भएका छन् ।

गत सिजन टिम अबुधाबीबाट खेलेका अलराउण्डर पारस खड्का भने त्यही टिमको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन् । अबुधाबीमै कुशल मल्ल खेलाडीको रुपमा छनोट भएका छन् ।

यस्तै सोमपाल मराठा अरेबियन्स र करण पुने डेभिल्समा छन् । करण र कुशल पहिलोपटक विदेशी लिगमा छनोट भएका हुन् । सोमपालको पनि यो पहिलो टी–१० लिग हो । करणले यसअघि गत वर्ष क्यानाडामा ग्लोबल टी–२० लिग खेल्दै विदेशी लिगमा डेब्यु गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment