Comments Add Comment

कोरोना महामारीकाबीच भारतमा विश्वकै ठूलो धार्मिक मेला सुरु

Photo Credit : Reuters

१ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी खेपिरहेको भारतमा बिहीबारदेखि गंगा नदीको किनारमा कुम्भमेला सुरु भएको छ । यो सम्मेलनका लागि लाखौं तीर्थायात्रीहरु उत्तराखण्डको हरिद्वार पुगेका छन् ।

आयोजकले भने कोरोना महामारीका कारण केही समस्या भए पनि संक्रमण फैलिन नदिन सुरक्षाका उपायहरु पालना गरिने बताएको छ । आयोजकले बिहीबार मात्र आठ लाखदेखि १० लाखसम्म मानिसहरु सहभागी हुने अपेक्षा गरेको छ । कुम्भ मेलालाई युनेस्कोले पनि अमूर्त सांस्कृतिक सम्पदाको मान्यता दिएको छ । गत वर्षको यसको संस्करण भारतको उत्तर प्रदेशको अल्लाहबादमा भएको थियो । ४८ दिनसम्म चलेको उक्त मेलामा पाँच करोड ५० लाख मानिसहरु सहभागी भएका थिए ।

यस वर्षको कुम्भ मेला सात सातासम्म चल्नेछ । यद्यपि यो मेलामा आउनेहरु भने कोरोना महामारीप्रति त्यति सचेत नदेखिएको एएफपीले उल्लेख गरेको छ । यो मेलामा आएका ५० वर्षीय सञ्जय शर्माले युरोपको भन्दा भारतीयको रोग प्रतिरोधी क्षमता बलियो रहेको कारण कोरोनाको जोखिम नरहेको बताए । यद्यपि अर्की एक सहभागी लक्ष्मी शर्माले भने महामारीका बीचमा हुन गइरहेको यो मेलामा भौतिक दूरी कायम राख्ने र सेनिटाइजरको प्रयोग गर्ने बताइन् ।

भारतमा यो साता अन्य केही धार्मिक मेलाहरु हुँदैछन् । जसमध्ये कोलकातामा हुन गइरहेको करिब १५ हजार मानिस सहभागी हुने गंगासागर मेला पनि एक हो । भारतमा बिस्तारै मानिसहरुको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको अवस्थामा विशेषज्ञहरुले भने कोरोनाको नयाँ लहर आउन सक्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment