Comments Add Comment

संवैधानिक इजलासमै उठ्यो ‘प्रधानमन्त्री र न्यायाधीश भेट’बारे प्रश्न

२ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठेको छ ।

संसद विघटनको मुद्धामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा सांसद शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी हुन् । रिट निवेदकको तर्फबाट बोलेकी उनले पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले राति ८ बजेदेखि ९ः१० बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको सुन्नमा आएको बताइन् ।

यस्तै पुस २७ गते न्यायाधीशद्धय हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले १ः२० बजेदेखि २ः५५ बजेसम्म भेटेको सुन्नमा आएको भन्दै भन्दै उनले अघि भनिन्, ‘न्यायालय स्वच्छ र निश्पक्ष होस् भन्ने चाहना हो । तर यो के हो ?’

उनी बोल्दाबोल्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘त्यस्तो कुरा नगर्नुस्, भयो भयो अब नकाउनुस् भन्दै रोकेका थिए । तर श्रेष्ठ बोलिरहिन् । उनले अघि भनिन्, ‘यो आचार संहिता विपरीत हो । जनताले न्यायाधीशहरुमाथि प्रश्न नउठाओस् ।’

इजलासबाट बाहिर आएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै सांसद श्रेष्ठले विचाराधीन मुद्दामा प्रधानमन्त्रीले न्यायाधीश बोलाएर कुरा गर्नुले प्रधानमन्त्री र न्यायाधीशमाथि नैतिक प्रश्न उठेको बताए ।

‘स्वयं न्यायाधीशहरु पनि आफ्नो आचारसंहिता विपरीत त्यसरी भेट्न जान हुने कि नहुने ?’ उनले भनिन् ‘एकातिर प्रधानमन्त्रीले संसद पुनर्स्थापना हुँदै हुँदैन भन्ने खालको कुरा गर्ने र अर्कातिर संवैधानिक इजलासबाटै (फैसला) हुनुपर्छ भनेर जे बोलिराख्नुभएको छ । यी घटनाहरु मिलिरहेको छ छैन ?’

उनले आफू रिट निवेदकको हिसाबले इजलासलाई यो कुरा जानकारी गराउनु आफ्नो कर्तव्य भएको बताए । ‘स्वतन्त्र न्यायालय र न्यायमूर्तिमाथि नै जनताले प्रश्न उठाएको कारणले त्यो विश्वास नडगमगाओस् भनेर मैले जानकारी गराएको हुँ’ श्रेष्ठले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment