Comments Add Comment

जब चोरले नेपाल-भारत पेट्रोलियम पाइपलाइनमा चोसे गाँस्न खोजे…

२ माघ, काठमाडौं । नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास भएको छ । बुधबार बेलुकी भारतीय सुरक्षाकर्मीलाई छलेर चोरहरुले पाइपलाइनमा तीन चोसे गाँस्ने प्रयास गरेको नेपालतर्फ पाइपलाइन सञ्चालन र व्यवस्थापनको जिम्मा पाएको नेपाल आयल निगमको दुई नम्बर प्रादेशिक डिपो अमलेखगन्जले जनाएको छ ।

नेपाल भारत सीमा क्षेत्रबाट झण्डै एक सय किलोमिटर पर भारतीय भूमी सिवानमा तेल चोरीको प्रयास भएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले जानकारी दिए ।

‘पटनाबाट सिवानसम्म एउटै र त्यहाँबाट नेपाल आउने अमलेखगञ्जतर्फ र भारतको गोरखपुर जाने अर्को पाइपलाइन छ । नेपालतर्फको पाइपलाइनमा तीन चोसे गाँस्ने प्रयास भएको रहेछ,’ रेग्मीले अनलाइनखबरसँग भने ।

पाइपलाइन फुटाउन खोजिएको ठाउँ नेपाल भारत सीमाबाट एक सय किलोमिटर पर र गोरखपुरतर्फको ट्राइजक्सन (तीन चोसे) भन्दा २० किलोमिटर वर नेपालतर्फ रहेको अमलेखगञ्ज डिपोले जनाएको छ ।

हरेक दिन पाइपलाइन सुरक्षामा भारतीय सुरक्षाकर्मीको पैदल गस्ती हुने भएपनि सुरक्षाकर्मीलाई छलेर रातिको समयमा पाइपलाइनमा आक्रमण भएको जानकारी भारतीय पक्षले डिपोलाई गराएको छ ।

‘बिहीबार बिहान पाइपलाइन माथिको जमिन खनेको र डिजेलको गन्ध आएको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको तथा राति नै बरौनी डिपोमा पाइपलाइनको प्रेसर घटेपछि घटना बाहिर आएको जानकारी गराइएको छ,’ डिपो प्रमुख रेग्मीले भने । जमिन खनेर पाइपलाइनमा प्वाल पारेर भर्खरै तीन चोसे गाँसिएको अवस्थामा घटना बाहिरिएको निगमले जनाएको छ ।

आक्रमण भएको दिन बन्द थियो पाइपलाइन

नेपालतर्फको डिजेल भण्डारण ट्यांकी भरीएका कारण पाइपलाइन बन्द रहेकै बेला आक्रमणको प्रयास भएको अमलेखगञ्ज डिपोले जनाएको छ । बुधबारदेखि नै पाइपलाइन बन्द रहेको र सोही राती तीन चोसे गाँस्ने प्रयास भएको डिपो प्रमुख रेग्मीले बताए ।

घटनालगत्तै पुगेको भारतीय आयल कर्पोरेसनको उद्धार टोलीले पाइपलाइन टालेको र अहिले पाइपलाइन फेरि सञ्चलनमा आएको उनको भनाइ छ । पाइपलाइनको प्वाल टालेपछि अहिले प्रतिघण्टा दुई लाख ५० लिटरका दरले डिजेल आयात भइरहेको रेग्मीको भनाइ छ ।

नेपाल भारत पेट्रोलियम सम्झौताअनुसार दुई देशबीचको सीमा रक्सौलदेखि २.७ किलोमिटर वर नोनीयाबाट नेपालतर्फको भूमिमा हुने क्षति मात्रै नेपालले ब्यहोर्ने भएकाले हाल पाइपलाइनमा हुने क्षति भारतले नै बेहोर्ने निगमले दाबी गरेको छ ।

कसरी बिछ्याएको हुन्छ पाइपलाइन ?

गत वर्ष भदौंमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको पाइपलाइन नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर गरी ६९.२ किलोमिटर लामो छ ।

पाइपलाइन सुरक्षाको लागि नेपालतर्फ बिहान र बेलुका नेपाली सेनाले गस्ती गर्छ भने चौबिसै घण्टा रेखदेख गर्ने केही सम्बेदनशील क्षेत्रमा ग्रुप फोर सेक्युरिटीको गार्ड पनि परिचालन गरेको छ । तर गत मंसिरमा नेपाली भूमितर्फ नै सडक खन्ने क्रममा डोजरले पाइपलाइन खनेको थियो ।

आयल निगमका अनुसार पेट्रोलियम पाइपलाइन जमिनको सतहभन्दा डेढ मिटर मात्रै गहिराइमा छ । पाइपभन्दा माथि १५ सेन्टीमिटर बाक्लो बालुवा बिच्छ्याइएको छ भने बालुवामाथी एक फिट चौडाइ र पुरै पाइपलाइन बराबर लम्बाईको वार्निङ टेप राखिएको छ ।

यसका अलवा पाइपलाइनको हरेक ५० देखि एक सय मिटरको फरकमा पाइपलाइन रहेको भन्ने सूचना बोर्ड लगाइएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment