Comments Add Comment

चितवनमा कृषि-पर्यटन क्षेत्रमा मौसमको पूर्व सूचना दिने प्रणालीको तयारी

३, माघ, चितवन । चितवनमा कृषि र पर्यटनको क्षेत्रमा मौसमको पूर्वसूचना दिने प्रणालीको व्यवस्थापन गरिने भएको छ ।

कृषि र पर्यटन क्षेत्रको हवको रूपमा जिल्ला रहेकोले यूके एड न्तर्गतको इसिमोड र विभिन्न सरकारी निकायको साझेदारीमा ‘पाइलट प्रोजेक्ट’का रुपमा यस्तो सूचना प्रणालीलाई अबलम्बन गर्न लागिएको हो ।

कृषि ज्ञान केन्द्र चितवनसँग सहकार्य गर्न इसिमोडले सम्झौतासमेत गरिसकेको छ । जिल्लाका सातवटै स्थानीय तहका कृषि अधिकृतसँग मौसम सूचना प्रणाली र यसको प्रयोगबारेमा अन्तरक्रियासमेत भैसकेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए ।

मौसम सम्बन्धी पूर्वजानकारी दिन जिल्लाका कृषि क्षेत्रका विज्ञ, मौसम सम्बन्धी प्राविधिक र सातवटै स्थानीय तहका कृषि प्रमुखहरू रहेको डिजिटल एग्रो एडभाइजरी बोर्ड गठन हुनेछ । सो बोर्डले जिल्लाको कुन स्थानीय तहको मौसमको पूर्वानुमान गरेर सो अनुसारको जानकारी किसानहरु समक्ष पुर्‍याउने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए ।

‘चितवन कृषि क्षेत्रको हव हो, यहाँ मौसमको पूर्वानुमान गरेर काम गर्न नसक्दा समयमा नै बाली लगाउन र थन्काउन समस्या भएको छ,’ प्रमुख ढकालले भने, ‘मौसमको पूर्वजानकारी किसानहरुलाई सहजरुपमा उपलब्ध गराउन सके त्यसले कृषि क्षेत्रको उत्पादकत्व बढाउन र किसानहरुलाई योजना बनाउन सहज हुन्छ ।’

इसिमोडको कार्यक्रम संयोजक डा. मन्दिरा सिंह श्रेष्ठले पाइलट प्रोजेक्टका रूपमा चितवन किसान र पर्यटन व्यवसायीहरुलाई लक्षित गरी मौसम पूर्वानुमान सम्बन्धी जानकारी दिने प्रणालीको विकास गर्न लागिएको जानकारी दिइन् ।

सरकारकै जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांकलाई बोर्डमा जोडेर सूचना दिइने डा. श्रेष्ठले बताइन् । ‘चितवन कृषि उत्पादन बढी हुने र पर्यटनको राजधानी नै हो,’ डा. श्रेष्ठले भनिन्, ‘किसानलाई मौसमको पूर्वजानकारी हुँदा बाली उत्पादनमा सहजता हुन्छ, पर्यटन व्यवसायीलाई पर्यटक बोलाउन तथा आफ्नो योजना बनाउन सहज हुन्छ ।’

किसानहरूको तथ्यांक लिएर यस प्रणालीमा प्राप्त सूचना सिधैं किसानसमक्ष पुर्‍याउने योजना रहेको डा. श्रेष्ठले बताइन् । ‘किसानलाई कुन समयमा कुन बाली लगाउन ठीक हुन्छ, कुन मौसम उपयुक्त हो, बिउको छनौट उत्पादन प्रकृयालगायतका विषयमा पनि किसानलाई जानकारी ड्यास बोर्डमार्फत दिन्छौं,’ डा. श्रेष्ठले भनिन्, ‘समयमा नै सूचना पाउनु हरेक क्षेत्रको गुणस्तर र दक्षता बढ्नु हो ।’

बोर्डले स्थानीय तहका पनि विभिन्न क्षेत्रको मौसमको पूर्वानुमान गर्दछ । चितवन नै मौसमको विविधता भएको जिल्ला भएकोले एक क्षेत्रको सूचना अर्कोतिर नमिल्ने हुनसक्ने भएकोले स्थानीय भेगकै मौसम हेरिने ज्ञान केन्द्र प्रमुख ढकालले बताए ।

यो कार्यक्रम चितवनमा सफल भए अन्य जिल्लामा पनि क्रमशः विस्तार गर्दै लैजाने सहज हुने ढकालले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले पर्यटनको क्षेत्रमा मौसमको पूर्वानुमान झनै महत्वपूर्ण हुने बताए ।

‘पर्यटकहरू मौसमको अवस्था, सूर्योदय, सूर्यास्त, झरी बादल वर्षा हेरेर भ्रमणका लागि निस्कने/ननिस्कने गर्न यसले महत्वपूर्ण भूमिका खेल्छ,’ प्रमुख लामिछानेले भने, ‘सोही अनुसारको तयारी वा व्यवस्थापन गर्न पर्यटन व्यवसायीहरुलाई पनि सहज हुन्छ ।’

उनले पर्यटन क्षेत्रमा मौसमको पूर्वानुमानसहितको जानकारी एकद्धार प्रणालीबाट दिन सके निकै राम्रो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment