Comments Add Comment

यी स्टार किड्स, जसलाई लाग्यो पहिलो गाँसमै ढुंगा

बिहिबारबाट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा २ स्टार कलाकारका सन्तानले डेब्यू गरेका छन् । नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले यही चलचित्रबाट चलचित्र क्षेत्रमा डेब्यू गरे ।

स्टार किड्सका सन्तान भएकाले पनि दर्शकको चासो अझ बढी हुने अपेक्षा धेरैको थियो । तर, नायक शिव श्रेष्ठ र उनको टिमले चलचित्रलाई निकै फितलो तरिकाले बनायो र सोही अनुसार रिलिज गर्यो ।

चलचित्रलाई जोखिम मोलेर रिलिज गरिएको चर्चा गरियो । तर, शिवले निकै नै कमजोर शैलीमा चलचित्र निर्माण मात्र गरेनन्, प्रदर्शन पनि गरे । जसलेगर्दा, उनका छोरा शक्ति श्रेष्ठको डेब्यू चलचित्र नै असफल भयो । चलचित्र असफल हुँदा शक्तिलाई पहिलो गाँसमै ढुंगा लाग्यो । आफ्नो छोराको करिअरलाई नै जोखिममा राखेर शिवले किन चलचित्र बनाए र किन रिलिज गरे, यो उनले नै जान्ने कुरा हो ।

तर, शक्तिसँगै नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको चलचित्र यात्रामा नै असर परेको छ । कविता र शक्ति दुबैले चलचित्रको प्रमोशनमा साथ दिएनन् । कविताले चलचित्र क्षेत्रलाई अगाडि बढाउने संभावना कम रहेको उनकी आमा नायिका करिश्मा मानन्धरले यसअघि नै बताइसकेकी छिन् । शक्तिको भने नयाँ चलचित्र ‘लप्पन छप्पन २’ फागुणमा रिलिज हुँदैछ । पहिलो चलचित्र असफल भएपनि उनमा संभावना बलियो रहेको चलचित्रकर्मी नै बताउँछन् ।

उसो त, शक्ति र कविताको मात्र डेब्यू असफल भएको होइन । चलचित्र क्षेत्रमा केही स्टार किड्स पनि छन्, जसको पहिलो चलचित्र असफल भयो । तर, यसमध्ये केही अगाडि बढे भने केहीले आफूलाई बलियो रुपमा प्रस्तुत गर्न सकेनन् ।

निर्माता तथा निर्देशक अशोक शर्माका छोरा अंकित शर्माको डेब्यू चलचित्र ‘रातो टिका निधारमा’ पनि असफल भयो । अशोकले छोराका लागि प्रचारमा कुनै कसर बाँकी राखेनन् । छोराको डेब्यू चलचित्र भएकाले उनले नायिकको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुवन्धित मात्र गरेनन्, उनलाई महंगो पारिश्रमिक पनि दिए ।

तर, चलचित्र रिलिज भएपछि न त अंकितको कामको प्रशंसा भयो न त चलचित्रको नै । अंकितलाई पनि पहिलो गाँसमै ढुंगा लाग्यो । अशोकले छोराका लागि प्रचार त राम्रो गरेका थिए, तर चलचित्र राम्रो बनाउन सकेनन् । यसको असर बक्स अफिसमा देखियो । अंकितले अब चलचित्र क्षेत्रलाई निरन्तरता दिन्छन् या दिदैनन्, यो बिषयमा केही बताइएको छैन ।

नायक विश्व बस्नेतकी छोरी निरिषा बस्नेतले पनि चलचित्र क्षेत्रमा डेब्यू गरिन् । उनले अभिनय गरेको पहिलो चलचित्र थियो ‘जानी नजानी’ । यो चलचित्रमा उनले आफ्नो तर्फबाट उत्कृष्ट काम गर्ने कोशिश गरेकी थिइन् । चलचित्र बक्स अफिसमा फ्लप भयो । चलचित्र असफल भएपछि निरिषाले दोश्रो चलचित्र साइन गरेकी छैनन् । बरु, उनी मुम्बइमा रहेर भारतीय टेलिसिरियलमा काम गरिरहेकी छिन् ।

चलचित्र क्षेत्रमा केही स्टार किड्सको आगमन भएको छ । नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत चलचित्र क्षेत्रमा जमिरहेका छन् ।

पहिलो चलचित्र हिट भएपनि रिस्ता बस्नेत, गौरव पहारी, संयम पुरी लगायतका स्टार किड्सलाई यो क्षेत्रमा अगाडि बढ्न धौ–धौ परिरहेको छ । पहिलो चलचित्र ‘स्वर’ बक्स अफिसमा असफल भएपनि निर्देशक बद्र अधिकारीकी छोरी नायिका केकी अधिकारी चलचित्र क्षेत्रमा जमिरहेकी छिन् । उसो त, ‘छ माया छपक्कै’ बाहेक उनको हिट चलचित्र छैन ।

दर्शकले स्टार किड्सहरुलाई चासोको रुपमा हेर्छन् । तर, उनीहरुको काम नै गतिलो भएन भने दर्शकले स्टार किड्स भन्दैमा रुचाउने भन्ने हुँदैन । तर, कतिपय स्टार किड्सले भने डेब्यू चलचित्र नै गतिलो छान्न नजान्दा उनीहरुलाई समस्या परेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment