Comments Add Comment

मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

४ माघ, काठमाडौं  । उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएका हुन् ।

यसअघि दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । अब मन्त्री सरहको सेवा सुविधा पाउने गरी दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् ।

देशको अर्थतन्त्रलाई माथि उकास्ने र सरकार निजी क्षेत्रलाई जोडेर देशलाई समृद्धिको दिशामा लैजाने गरी प्रधानमन्त्रीको टिममा रहेर काम गर्ने दुगडले अनलाइनखबरसँग बताए ।

को हुन् दुगड ?

विराटनगरमा जन्मेका दुगड सन् १९८४ देखि उद्योगधन्दामा छन् । उनका बुवा हरि सिंहले तेल उद्योग स्थापना गरेका थिए । पछि उनी आफैंले सेञ्चुरी मसला उद्योगको स्थापना गरे । बिराटनगरमा नै उनले चारतारे ह्यारिसन होटल पनि चलाएका छन् । दुगडका केही उत्पादनमूलक उद्योग पनि छन् ।

लामो समय व्यापार व्यवसायमै व्यस्त रहेका दुगड करिब एक दशकदेखि राजनीतिमा लागेका हुन् । तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको प्रेरणाले राजनीतिमा लागेको उनी बताउने गर्छन् । सुरुमा उनी सद्भावना पार्टीमै आवद्ध भएका थिए र सो पार्टीबाट सभासद पनि बने ।

पछि श्यामसुन्दर गुप्तासँग विवाद भएपछि सद्भावना फुटाएर उनी आफैंले नव नेपाल निर्माण पार्टी खोले । तर, दोस्रो संविधानसभा निर्वाचनमा उनको पार्टीले भोट पाउन सकेन । त्यसपछि अघिल्लो चुनावअघि उनले आफ्नो पार्टीलाई तत्कालीन एमालेमा विलय गराएका थिए ।

गत संसदीय चुनावबाट एमालेले उनलाई समानुपातिक सांसद बनाएको थियो । त्यसपछि भने २०७५ मंसिरमा उनले उद्योग मन्त्रालयमा राज्यमन्त्रीका रुपमा प्रवेश पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment