
६ माघ, विराटनगर । प्रदेशसभाको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बसेको नेपाली कांग्रेस प्रदेश–१ को संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।
मुख्यमन्त्री शेरधन राई विरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । बुधबारदेखि सुरु हुने अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ । यो छलफलमा निर्णायक भूमिका भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको हुनेछ । किनभने कांग्रेसको साथले अविश्वास प्रस्ताव सफल वा असफलको टुंगो लाग्नेछ ।
तर मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले अविश्वास प्रस्तावमाथि कांग्रेसको कदम के हुने भन्ने विषयमा टुंगो लगाउन सकेन ।
बैठकमा बोलेका केही सदस्यले नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्नुपर्ने धारणा राखे । कतिपयले भने कांग्रेसले मुख्यमन्त्री नपाए सत्ता सहकार्यमा राम्रो प्रस्ताव गर्ने समूहसँग मिल्नुपर्ने राय राखेका थिए ।
‘बैठकमा सांसदहरुले आफ्ना कुराहरु राख्नु भएको छ । समग्र विषयमा छलफल भयो । तर निर्णय भएन’ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले भने ‘ प्रतिपक्षले ल्याउनुपर्ने प्रस्ताव सत्ता पक्षले नै ल्याएका छन् । सांसदमा टेबल भएपछि थप छलफल गर्छाैं ।’
कार्कीका अनुसार नेपाली कांग्रेससँग निर्णयका लागि अझै पर्याप्त समय छ । सत्तामा सहभागिताका लागि पार्टी केन्द्रको निर्णय महत्वपूर्ण हुने उनले बताए ।
प्रचण्ड माधव समूहसँग मुद्दा मिल्छ तर…
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला पनि हतारिएर निर्णयमा पुग्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘अविश्वासको प्रस्तावले लामो प्रोसेस लिन्छ’ उनले भने ‘छलफल गर्दैछौं । संसदमा टेबल नभई अगाडि बढ्न सक्दैनौं । टेबल भएपछि एउटा कोर्स लिन्छौं ।’
उनले नेपाली कांग्रेसले मुख्यमन्त्रीमा पनि दाबेदारी प्रस्तुत गर्ने बताए । ‘दुवै समूहसँग छलफल भइरहेको छ । वार्ताका लागि सबै अप्सन खुला छ’ उनले भने ‘केन्द्रसँग समन्वय गरेर ठोस निष्कर्षमा पुग्छौं ।’ यसै सन्दर्भमा संसदीय दलका नेता कोइरालासँग गरिएको कुराकानी :
आजको बैठकले के निर्णय गर्यो ?
बैठकमा भोलिको परिस्थितिलाई हेरेर कसरी अगाडि बढ्ने भन्ने छलफल भयो । त्यसका लागि केन्द्रसँग पनि समन्वय गरेर अघि बढ्नेकुरा भयो । माननीयज्यूहरुको बोल्नेक्रम जारी छ । भोलि हामी फेरि बस्छौं । अहिले हतारिएर निर्णयमा पुगिहाल्नुपर्छ भन्ने छैन ।
अविश्वासको प्रस्तावमा चाहिँ तपाईंहरुको मत के हो ?
अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । तर संसदमा टेबल (बैठकमा पेस) भएको छैन । सभामुखज्यूले टेबल नगरीकन कसरी अगाडि बढ्ने ? टेबल हुनुपर्यो, अनि एउटा कोर्स लिन्छौं ।
नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्छ कि गर्दैन ?
नेपाली कांग्रेसले वार्ताका लागि सबै विकल्प खुला राखेको छ ।
केन्द्रको निर्णय पर्खनु भएको हो ?
मुलक संघीयतामा गइसकेपछि केन्द्रले माथिबाट थोपर्छ जस्तो लाग्दैन । केन्द्रले पनि संसदीय दलसँग समन्वय गरेर, संसदीय दलले पनि केन्द्रसँग समन्वय गरेर ठोस निष्कर्ष निकाल्छ ।
सरकारमा सहभागिताका लागि नेकपाका दुई समूहले कस्तो प्रस्ताव गरिरहेका छन् ?
उहाँहरुले प्रस्ताव चाहिँ गर्नु भएको छैन । खाली हामीलाई सहयोग गर्नुपर्यो भनिरहनुभएको छ । कांग्रेसलाई झट्टै निर्णय लिन पनि गाह्रो छ । एकातर्फ हामी आन्दोलन गरिरहेका छौं । दोहोरो चरित्र पनि देखाउनु हुदैन । आन्दोलनलाई वडासम्म लिएर गएका छौं । आन्दोलनसँगै चुनावको तयारी पनि गरिरहेका छौं ।
अहिले बढी झुकाव कुन समूहसँग छ ?
मैले पहिले देखि नै भनिरहेको छु संसद् विघटनमा समग्र कम्युनिस्ट पार्टी नै दोषी हो । तर प्रचण्ड–माधव समूह आन्दोलनमा छ । नेपाली कांग्रेस पनि आन्दोलनमा छ ।
आन्दोलनमा भएकाले मुद्दा मिल्यो संसद् पुनस्थापनाको । तर संसद् विघटन हुनमा हाम्रो दलले समग्र कम्युनिस्ट पार्टीलाई दोषी मान्छ । तर यही समूहसँग मिल्ने भनेर झट्टै निर्णय हुन सक्दैन ।
यो पनि पढ्नुहोस् :
बागमतीमा अविश्वास प्रस्तावमाथिको मतदानमा कांग्रेसले के गर्ला ?
प्रतिक्रिया 4