Comments Add Comment

राष्ट्रिय एकद्वार प्रणाली आगामी सातादेखि सुरु हुने

७ माघ , काठमाडौं । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रको सेवा एकै प्रणालीमार्फत प्रदान गरिने प्रणाली कार्यन्वयनबारे भन्सार विभागले अर्थ, उद्योग र कृषि मन्त्रीलाई बुधबार ब्रिफिङ गरेको छ ।

तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा विस्तार गरिने र यसमा सरकारी र निजी क्षेत्र सहभागी हुने भन्सार विभागले जनाएको छ । एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुने दाबी भन्सारको छ ।

व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने विभागका महानिर्देशक सुमन दाहालले बताए । यस्तै लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरु विभाग तथा कार्यालयहरुमा पुगिराख्नु पर्ने छैन भने कागजी काम कारवाही बन्द हुने भन्सारले जनाएको छ ।

एकद्धार प्रणालीबारे बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान आवश्यक रहेको बताए  ।

यस्तै कृषि तथा पशुपंछि विकास पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउने बताउँदै सबै निकायमा पूर्ण रुपमा लागू गर्ने धारणा राखीन ।  अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंछि विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment