Comments Add Comment

उडानको चाप नभएपछि त्रिभुवन विमानस्थल सन्चालनको अवधि घटाउने तयारी

८ माघ, काठमाडौं । हवाई उडानको चाप नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनको अवधि घटाउने तयारी गरिएको छ ।

विमानस्थलका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार एक/दुई वटा उडानका लागि विमानस्थल भित्र रहेका सबै संयन्त्र खुला राख्नु पर्ने भएकाले सन्चालन खर्च बढी भएको भन्दै विमानस्थल सन्चालन अवधि घटाउने गृहकार्य शुरु गरिएको हो ।

अहिले त्रिभुवन विमानस्थल बिहान ६ बजेदेखि ३ बजेसम्म (२१ घण्टा) सन्चालन भइरहेको छ । यो अवधि कटौती गरी अब १८ घण्टा मात्र विमानस्थल सन्चालनको तयारी गरिएको हो ।

‘कुनै दिन रातमा एउटा मात्र उडान हुँदा पनि विमानस्थलमा रहेको भन्सार, अध्यागमन, सुरक्षा निकायसम्मले पूर्ण क्षमतामा जनशक्ति खटाउनु पर्ने भयो,’ कर्णले भने, ‘त्यसकारण अब हामी उडान समयमा परिमार्जन गर्ने तयारी गरिरहेका छौं ।’

उनका अनुसार अहिले अन्तर्राष्ट्रिय उडानमा दैनिक १३–१५ वटा मात्र उडानको तालिका छ । त्यति नै संख्यामा अवतरण हुन्छ । यो सामान्य अवस्थाको तुलनामा ३० प्रतिशत हाराहारी मात्र ट्राफिक हो । कोरोना भाइरसको संक्रमण अगाडि दैनिक ८०–९० उडान तथा अवतरण हुने गरेको थियो ।

चाडबाडको सिजनमा चाप रहेको आन्तरिक उडानसमेत क्रमशः सुस्ताएको छ । अहिले आन्तरिकमा औसत ८८ वटा उडान तालिका अनुसार हुने गरेको छ । त्यति नै संख्यामा जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्छन् ।

तालिका अनुसार हुने उडानबाहेक हेलिकप्टर उडान र चार्टर्ड उडान भने आकस्मिक रुपमा हुने उडान हो । पर्यटक नआएका कारण हेलिकप्टरले समेत विजनेश नपाइ थन्किएका छन् । काठमाडौं विमानस्थल कुनै बेला दैनिक ४ सय सम्म उडान–अवतरण थेगेको विमानस्थल हो ।

१९ अन्तर्राष्ट्रिय कम्पनीलाई नियमित उडानको अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विन्टर सिजनका लागि अन्तर्राष्ट्रिय उडानमा अहिले १९ वटा कम्पनीले उडान अनुमति पाएका छन् । यसमा नेपालका दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स समेत हो ।

यसबाहेक भारतबाट एयर इण्डियाले अनुमति पाएको छ । चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न र सिचुवान एयरलाइन्सले अनुमति पाएका छन् । फ्लाइ दुबई, एयर अरेबिया, जजिरा एयरवेज, सलाम एयर, थाइ एयरवेज, टर्कीस एयरलाइन्स, क्याथे ड्रागन, सिल्क एयर, मालिन्दो एयर र कतार एयरवेजसमेत नेपालमा उडानका लागि अनुमति पाएका छन् ।

तर, यी सबै कम्पनीको दैनिक उडान भने छैन । कुनै कम्पनीले सातामा एउटा मात्र उडान अनुमति लिएका छन् ।

औसत ४ हजार अन्तर्राष्ट्रिय यात्रु

अध्यागमन विभागका अनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट औसत चार हजार यात्रुले यात्रा गरिरहेका छन् ।

विभागका अनुसार बुधबार मात्र त्रिभुवन विमानस्थलबाट २ हजार १ सय ७१ जना यात्रु नेपाल भित्रिए । यसमध्ये २ सय ४७ जना विदेशी थिए । यस दिन २ हजार १ सय ५७ जना यात्रु नेपालबाट बाहिरिए । यसरी बाहिरिनेमा ३ सय ८९ जना विदेशी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment