८ माघ, काठमाडौं । विभागीय टोली एपीएफले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । समूह ए अन्तर्गत बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।
प्रतियोगितामा तेस्रो हार बेहोरेको गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले चार खेल खेल्दा एक खेलमा मात्र जित हात पारेको थियो ।
बलिङमा कमल सिंह ऐरीको ४ विकेट र आसिफ शेखको ७८ रनको मद्दतमा एपीएफले गण्डकीलाई सहजै पराजित गरेको हो ।
गण्डकीले दिएको १०७ रनको लक्ष्य एपीएफले १७.४ ओभर खेल्दा ४ विकेट गुमाएर पूरा गरेको हो । ओपनर सुबा खकुरेल र रित गौतम खाता नखोली आएट भएपनि अर्का ओपनर आसिफले अर्धशतक प्रहार गर्दै एपीएफलाई जितसम्म पुर्याए ।
स्कोर बराबर हुँदा आसिफलाई गण्डकीका विशाल पौडेलले एलबीडब्लु गरेका थिए । आसिफले ५६ बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे ।
यस्तै सुमित महर्जनले १८ रन बनाए । कप्तान शरद भेषावकर ५ र भुवन कार्की १ रनमा अविजित रहे ।
गण्डकीका चन्द्र पौडेलले र विशाल पौडेलले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ४६ ओभर खेल्दै १०६ रनमा अलआउट भएको थियो । गण्डकीका लागि ओपनर समिर कँडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै विष्णु पाण्डेले र दिपेश खत्रीले समान १५ र दिनेश बुढामगरले १२ रन जोडे ।
बाँकी खेलाडी दोहोरो अंकमा रन नजोडी आउट भए ।
एपीएफका कमल सिंह भरीले १० ओभरमा ३ ओभर मेडन राख्दै ११ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले ८ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए । कप्तान शरद भेषावकरले २ र किशोर महतोले १ विकेट लिए ।
प्रतिक्रिया 4