९ माघ, काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा शुक्रबार पर्थ स्कोरचर्सविरुद्ध २ विकेट लिएका छन् ।
होबार्ट हुरिकेन्सबाट बीबीएल खेलिरहेका लामिछानेले दुई खेलको विकेटविहीन यात्रा टुङ्गाएका छन् ।
पछिल्लो दुई खेलमा विकेट लिन नसकेका सन्दीपले शुक्रबार पर्थ स्कोरचर्स विरुद्धको खेलको आफ्नो पहिलो ओभरमै विकेट लिए । सन्दीपले जनवरी १२ मा पर्थसँग र जनवरी १८ मा सिड्नी थण्डरविरुद्धको खेलमा विकेट लिन असफल भएका थिए ।
सन्दीपले पर्थका ओपनर लियम लिभिङ्गसटोनलाई डेविड मालानबाट क्याचआउट गराए । यस्तै सन्दीपले आफ्नो दोस्रो ओभरमा मिचर्ल मार्सलाई एलबीडब्लु गरे ।
सन्दीपले पहिलो ओभरमा ९ रन खर्चे भने दोस्रो ओभरमा ५ रन खर्चिए । तेस्रो र चौथो ओभरमा भने सन्दीपले विकेट लिन सकेनन् । उनले तेस्रो ओभरमा ७ र चौथो ओभरमा ६ रन खर्चिए । सन्दीपले समग्रमा ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिए । ७ बल डट फालेका सन्दीपले एक चौका र एक छक्का दिएका थिए ।
सन्दीपले यस सिजन बीबीएलमा ६ खेल खेल्दा ६ विकेट लिएका छन् ।
बुधबार मात्रै इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज दिल्ली क्यापिटल्सले नयाँ सिजनअघि सन्दीपलाई रिलिज गरेको छ । अब आईपीएल १४ मा सन्दीप अक्सनमा जानेछन् ।
प्रतिक्रिया 4