Comments Add Comment

चम्पादेवी हाइकिङ : मनमगन यात्रा, मनमोहक गन्तब्य

एक गन्तब्य पुग्न अनेक विकल्प

१० माघ, काठमाडौं । एक दिनको बिदामा कुनै न कुनै गन्तब्य घुम्ने योजना बनाएका सञ्चारकर्मी विश्वास रेग्मी चम्पादेवी डाँडो दुई टक पुगे । दुबै पटक उनले फरक-फरक रुट प्रयोग गरे । गन्तब्य उही थियो, तर अनुभुति फरक । चम्दादेवी हाइकिङ कम्तिमा चार वटा रुटबाट गर्न सम्भव छ ।

एउटै गन्तब्यमा चार वटा रुटबाट पुग्दाको अनुभूतिकै कारण चम्पादेवी हाइकिङ कहिले पनि पट्यारलाग्दो बन्दैन । चम्पादेवी काठमाडौं र मकवानपुरको सीमाना हो । पौराणीक मान्यता अनुसार मन्जुश्रीले चोभारबाट काठमाडौं उपत्यकाको पानी निकास खोल्नु अगाडि चम्पादेवी र फुलचोकीमा आफ्ना दुई श्रीमतीलाई सुरक्षित साथ राखेका थिए भन्ने जनश्रृति छ ।

अहिले पनि चम्पादेवी चुचुरोमा देवीको मन्दिर अवस्थित छ । टाढा-टाढाबाट मन्दिरको दर्शनका लागि मानिसहरु पुग्ने गर्छन् । एक काम दुई पन्थ भने झैं चम्पादेवी पर्यटन र धार्मिक दुबै दृष्टिकोणबाट एक आकर्षक हाइकिङ गन्तब्यका रुपमा स्थापित छ ।

चम्पादेवी काठमाडौं उपत्यकाको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित अटल थुम्को हो । यो घना जंगलले घेरिएको छ । प्रकृतिको समिपमा हराउनेहरुका लागि चम्पादेवीको यात्रा साँच्चिकै अविश्मरणीय बन्न सक्छ ।

यात्राका क्रममा चराचुरुङ्गीको चिरबिर आवाज त सामान्य भयो, जंगली जनावरसमेत देख्ने मौका मिल्न सक्छ । चम्पादेवी पुग्ने सबैजसो रुट व्यवस्थित रहेका कारण तुलनात्मक रुपमा यो गन्तब्य सुरक्षित समेत छ ।

साथिभाइ र परिवारका साथ समुहमा एक दिनको घुमघाम र रिफेसमेन्टका लागि तपाई चम्पादेवीलाई रोज्न सक्नुहुन्छ । जंगलको बीचबाट झल्याकझुलुक शहरदेखि उत्तरतर्फका सेताम्य हिमश्रृङ्खला अवलोकन गरी तपाई साताभरको थकान मेटाउन सक्नु हुनेछ ।

एक गन्तब्य-चार रुट

तपाईंको लक्ष्य चम्पादेवी चुचुरो नै हो, तर यसलाई प्राप्ति गर्ने क्रममा भने तपाईसँग पर्याप्त विकल्प छन् । चम्पादेवीका यात्राका लागि जुन रुटबाट हिँडेपनि एक दिन पुरै छुट्याउनु होस । किनकि यो हतारमा यात्रा गर्दा सहज हुने गन्तब्य होइन । ठाडो उकालो चढ्नुपर्छ ।

पदयात्रा गर्न सिँढीको बाटो बनाइएको छ । ठाडो उकालो भएका कारण हिँड्ने बानी नपरेका र शहरीया जीवनशैलीमा अभ्यस्त भएका मानिसलाई केही मुस्किल पर्न सक्छ । त्यसकारण हतारमा यात्रा नगर्नुहोस् । पर्याप्त समय लिएर चम्पादेवी यात्रामा लाग्नुहोस् ।

चन्द्रागिरि-चम्पादेवी

तपाईं लामो र जंगलको यात्रा गर्न रुचाउनु हुन्छ भने यो रुटको यात्रा तय गर्न सक्नुहुन्छ । यसका लागि तपाईले चन्द्रागिरिको भालेश्वर मन्दिरलाई पहिलो गन्तब्य बनाएर यात्रा सुरु गर्न सक्नुहुन्छ । चन्द्रागिरिबाट भष्माशुर डाँडा हुँदै तपाईले चम्पादेवीलाई पछ्याउन सक्नुहुन्छ ।

चम्पादेवी पुगिसकेपछि भने तपाईं टौदह झर्ने वा भन्ज्याङ हुँदै र्फकने त्यो तपाईंकै हातमा हुन्छ । यात्रा चम्पादेवीबाट शुरु गरी चन्द्रागिरिमा समेत टुंग्याउन पनि सक्नु हुन्छ । तर, चम्पादेवी डाँडासम्म पुग्न नै मिहिनेत गर्नुपर्ने कारण यो रुट कसैका लागि भने केही कठिन हुन सक्छ ।

स्पष्ट र व्यवस्थित रुट रहेका कारण एक दिनको यो यात्रा रोमाञ्चक भने पक्कै हुनेछ । यो रुट वान वे नै करिव २५ किलोमिटरभन्दा बढी पर्छ । त्यसकारण एक दिनको समय पुरै चाहिन्छ । यो रुटमा जाँदा आफ्नो सवारी भने नलैजानुहोस् । किनकी एउटा डाँडाको फेदीबाट अर्को डाँडाको फेँदीमा यात्रा टुंग्याउनु पर्ने हुन्छ ।


कीर्तिपुर-चम्पादेवी

कीर्तिपुर मच्छेगाउँ हुँदै पुष्पलाल पार्क घुमफिर गरी चम्पादेवी निस्कन सकिने गरी अर्को रुट छ । कीर्तिपुरको मच्छेगाउँबाट डाँडा चढ्दै देउरालीको बाटो चम्पादेवी पुग्न सकिने बाटो छ ।

मच्छेगाउँबाट जाँदा मच्छेनारायण दर्शन गरी पुष्पलाल पार्कसमेत घुमफिर गरी चम्पादेवी उक्लन सकिन्छ । कीर्तिपुर दूधपोखरीबाट पुष्पलाल पार्क हुँदै समेत चम्पादेवी चढ्न सकिने अर्को बाटो छ । यो रुट चम्पादेवी चढ्ने अन्य रुटको तुलनामा कम चलेको रुट हो । त्यसकारण यात्रा केही कठिन हुन सक्छ । बाटो नभेटिएर हराउन सक्ने जोखिम पनि हुन्छ ।

टौदङ-बोसन गाउँ-चम्पादेवी

काठमाडौंको चर्चित गन्तब्य टौदहलाई गन्तब्य बनाएर त्यहाँबाट पनि तपाईंले चम्पादेवीको यात्रा थाल्न सक्नुहुन्छ । टौदह आसपासमै सवारी रोकेर त्यहाँबाट पैदल यात्रा थाल्न पनि सकिन्छ । अथवा बोसन गाउँसम्म कच्चि सडकमा आएर त्यहाँबाट चम्पादेवीका लागि पैदलयात्रा गर्न सकिन्छ ।

यो बाटो उकालो लाग्दा बोसनमा चम्पादेवी माइ मन्दिरसमेत अवलोकन गरी उकालो लाग्न सकिन्छ । यो रुटमा बोसन गाउँसम्म मोटर बाटोबाट जाने हो भने पदयात्रा समेत निकै छोटो हुन्छ ।

बोसन गाउँमा खाजा खाइवरी उकालो लाग्न सकिन्छ । किनकी मानिसहरुको आवागमन बढेसँगै अहिले बोसन गाउँमा खाजा घरहरु खुल्ने क्रम बढेको छ ।

दक्षिणकाली-हात्तिवन रिर्सोट-चम्पादेवी

तपाईले पहिलो गन्तब्य दक्षिणकाली नजिकै पर्ने भन्ज्याङ भन्ने स्थानलाई पहिलो गन्तब्य बनाएर पनि चम्पादेवीको यात्रा थाल्न सक्नुहुन्छ । भन्ज्याङस्थित श्रीकृष्ण मन्दिर हुँदै हात्तिवन रिर्सोट जाने बाटो पच्छ्याएर चम्पादेवीतर्फ यात्रा शुरु गर्न सकिन्छ ।

हात्तिवन रिर्सोटसम्म गाडीमा जान सक्ने मोटरबाटो छ । हात्तिवनमा चौरमै सवारी पार्किङ गर्न सकिने पर्याप्त स्थान रहेका कारण यहाँँ सवारी पार्किङको समस्या हुँदैन ।

हात्तिबनबाट करिव दुई घण्टा उकालो चढेपछि चम्पादेवी पुग्न सकिन्छ । आफ्नो सवारी नलगी सार्वजनिक यातायातमा जाने हो भने एउटा रुटबाट चढी अर्को रुटबाट झर्दा यो यात्रा अझ रोमाञ्चक बन्छ । चन्द्रागिरीबाट चम्पादेवी जाने रुट सामान्यतया कम उकाली ओराली पर्छ । अन्य रुट जहाँबाट चढ्दा पनि ठाडो उकाली चढ्नुपर्छ ।

विशेषता

चम्पादेवी धेरै स्थानबाट जोडिएका कारण आफुलाई पायक पर्ने स्थानबाट यात्रा प्रारम्भ गर्न सकिन्छ । यो रुट आसपास नजिकमा सवारी साधन लैजान नसकिने भएकाले शान्त र सफा वातावरणमा मज्जाले हिड्न सकिन्छ । पारिलो घाम लागेको दिन पर्‍यो भने उकालो चढ्दा गर्मी नै अनुभव हुन्छ ।

यद्यपी उचाईमा रहेका कारण माथि हावा चल्छ, चिसोको अनुभव हुन सक्छ । चम्पादेवी चढिसकेपछि माताको थानमा पुजापाठ गर्न सकिन्छ । यहाँबाट हिमाली दृष्यावलोकन तथा घना जंगल अवलोकन गर्न सकिन्छ । टिकटक यूजर्सलाई यूनिक ब्याकग्राउण्डमा टिकटक भिडियो बनाउन यहाँ पर्याप्त दृश्य भेटिने छन् ।

यात्रु थाल्नु अगाडि …

चम्पादेवी जुन रुटबाट अगाडि बढ्ने भएपनि ब्याग अनिवार्य बोक्नुहोस । ब्यागमा आफूलाई चाहिने पानी र तयारी खाना बोक्नुहोस् । किनकी थकानलाई खाना र पानीले केही राहत दिन सक्छ ।

डाँडामा पानीको सुविधा छैन । चम्पादेवीको चुचुरो पुग्ने समयमा ठाडो उकालो चढ्नुपर्छ । त्यसकारण सकेसम्म लठ्ठी बोक्नुहोस् । जुत्ता र कपडा पनि पदयात्रा गर्न सजिलो हुने गरी लगाउनु होस् ।

वर्षातको समयमा चन्द्रागिरीबाट चम्पादेवी लाग्दा जुकाको आतंक हुन्छ । हिँउदमासमा भने जुका लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment