
११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत कार्यक्रमलाई नियमित रुपमा प्रसारण गर्ने भएको हो ।
तर, रवि लामिछानेले पनि केही समयपछि परिस्कृत सोच र स्वरुपमा पुनः कार्यक्रम लिएर आउने उद्घोष टेलिभिजनको अन्तिम कार्यक्रमबाटै गरेका थिए । त्यसपछि उनले सामाजिक सञ्जालमा दुःख पर्दा फोन गर्न सकिने र फेरि कार्यक्रम लिएर फर्किने भन्दै फोन नम्बरसहित पोस्टहरू पनि गरेका छन् ।
लामिछाने र टेलिभिजनको दावीले गर्दा ‘न्युज २४’ र रवि लामिछानेबीच कार्यक्रमको स्वामित्वलाई लिएर विवाद बढेको देखिएको छ ।
करिब पाँच वर्ष ‘न्युज २४’मा कार्यक्रम चलाएका रवि लामिछानेले कार्यक्रम आफ्नो बौद्धिक सम्पत्तिका रुपमा दावी गरेपनि टेलिभिजनले भने लामिछाने कार्यक्रमको प्रस्तोता मात्रै भएको बताएको छ ।
‘न्युज २४’ च्यानलको सञ्चालक नेपाल ब्रोडकास्टिङ च्यानल (एनबीसी) का एक पदाधिकारीले हप्ताको ३ दिन नै पुरानै तालिकाअनुसार नै कार्यक्रम सञ्चालन नियमित हुने बताए । आइतबार, मंगलबार र बिहीबार राति ८.५०मा नियमित प्रसारण हुने गरेको छ ।
न्युज २४ले झुक्याएर लामिछानेले कार्यक्रमको पेटेन्ट (कपि) राइट दर्ता गराएको भए त्यो छलकपट र बदमासी हुने टेलिभिजनले बताएको छ । त्यसो भएमा आफूहरु कानूनी रुपमा नै कार्यक्रमको लागि लड्ने टेलिभिजनका पदाधिकारीहरु बताउँछन् । आफूहरुले त्यस्तो नचाहेको भन्दै उनले लामिछानेको कानूनी दावी रहे आफूहरु पनि कानूनअनुसार नै अघि बढ्ने बताए ।
‘यो कार्यक्रम न्युज २४को आफ्नै भएकाले प्रस्ताताले यसमा दावी गर्न मिल्ने ठाउँ छैन,’ एक पदाधिकारी भन्छन्,’हामीले रविजीसँग गरेको सम्झौतामा उहाँको ‘जब डिस्क्रिप्सन’ स्पष्ट छ, त्यसमा कार्यक्रमको सर्वाधिकार २४मै निहीत उल्लेख छ ।’
कार्यक्रमको ‘क्रेडिट टाइटल’मा पनि कार्यक्रमको सर्वाधिकार कम्पनीको हुने उल्लेख रहेको कम्पनीको दावी छ ।
कार्यक्रमको कपिराइटबारे लामिछानेले सार्वजनिक रूपमा केही बताएका छैनन् । यसबारे बुझ्न खोज्दा लामिछानेको फोन उठेन ।
उनले अन्तिम एपिसोडमा लाइभ गर्न नपाउँदा दुःख लागेको समाजिक सञ्जालमा लेखेका थिए । ‘५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुःख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै काटिएकोमा झन दुःख लाग्यो,’ उनले लेखेका थिए । उनले आफ्नो टिमले तयार पारेको तर, प्रसारण नभएको रिपोर्ट पनि सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया 4