Comments Add Comment

संसद विघटनबारे जसपामा दुईधार : सार्वजनिक मञ्चमै दुई अध्यक्षले मत बझाए

११ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे जनता समाजवादी पार्टी (जसपा)मा स्पष्ट दुईधार देखिएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममै मत बझाएका हुन् ।

लोकतान्त्रिक पार्टी जसपामा समाहित गर्ने कार्यक्रममा अध्यक्ष ठाकुरले स्पष्ट शब्दमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा धारणा राखे । संसद पुनर्स्थापना भएपनि मुलुकले निकास नपाउने भन्दै उनले अदालतविरुद्ध आन्दोलन गर्न नहुने बताए ।

अर्का अध्यक्ष उपेन्द्र यादवले भने संसद विघटनलाई प्रतिगमनको प्रारम्भीक बिन्दु भएको बताएका छन् । यादवले भने, ‘प्रधानमन्त्रीले जुन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदम उठाउनु भएको छ, यो खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु हो ।’

महन्थ ठाकुर
अध्यक्ष, जसपा

पुनर्स्थापना भएपछि सत्ता कसको हातमा जान्छ ? जो पार्टी असफल भएको छ, सरकारै चलाउन सकेन, प्रतिनिधिसभालाई विघटन गरिदियो । सत्ता त फेरि उसैको हातमा जान्छ । द्वन्द्व त रहिरहन्छ । पुनर्स्थापना भए पनि समस्याको समाधान देख्दिन किनकी नेकपा कानूनी रुपमा अहिले पनि एउटै छ । देश चुनावमा गयो भने ओलीजीको कदम सही छ भन्ने अर्थ लाग्छ । त्यतिबेला आन्दोलनलाई जारी राख्यौं भने अदालतलाई कमजोर बनाउँछौं, अदालतको विरोधमा आन्दोलन हुनजान्छ ।

उपेन्द्र यादव
अध्यक्ष, जसपा

संविधानमाथि प्रहार मात्रै होइन, यो प्रतिगमनको प्रारम्भ हो । यो संघीयता, समावेशीता, गणतन्त्र जस्ता मुद्दाहरूलाई पछाडि पारेर मुलुकलाई फेरि पछाडि धकेल्ने प्रतिगमनकारी प्रयास हो । आजको आवश्यकता भनेको प्राप्त उपलब्धीलाई संस्थागत गरेर थप उपलब्धीका लागि संघर्ष गर्नु हो । थप प्रतिगमन हुनबाट रोक्नु हो । यसलाई रोक्नु भनेको प्रधानमन्त्रीले जुन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदम उठाउनु भएको छ, यो कदम खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment