Comments Add Comment

भन्सार पूर्वाधारहरुको निर्माणमा कति भयो प्रगति ?

१२ माघ, काठमाडौं । सरकारले बजेटमै व्यवस्था गरेर प्राथमिकीकरण गरेको अन्तरदेशीय व्यापार पूर्वाधार निर्माणको कार्यले गति लिएको दाबी नेपाल इन्टरमोडल यातायात विकास समितिले गरेको छ ।

चीन र भारत सीमा भएर ति मुलुक तथा तेस्रो देशसँग हुने व्यापार सहजीकरण गर्ने व्यापार सहजीकरण पूर्वाधारका आधि दर्जन परियोजनामा सन्तोषजनक ढंगले काम भइरहेको समितिका कार्याकारी निर्देशक आशिष गजुरेलले बताए ।

निर्माण सम्पन्न भएर सञ्चालनमा आएका ६ वटा सुख्खा बन्दरगाह तथा एकीकृत जाँचचौकीबाट सहज रुपमा व्यापार भएको र निर्माणको चरणमा रहेका ६ वटा आयोजनाको काम पनि प्राथमिकताका साथ अघि बढेको समितिले जनाएको छ ।

हाल वीरगन्ज सुख्खा बन्दरगाह र एकीकृत भन्सार जाँचचौकी, विराटनगर एकीकृत जाँचचौकी तथा काँकडभिट्टा र तातोपानी सुख्खा बन्दरगाह पूर्ण सञ्चालनमा छन् ।

निर्माणको चरणमा रहेको काठमाडौंको चोभार र रसुवाको टिम्मुरेमा सुख्खा बन्दरगाहको काम जारी रहेको समितिले जनाएको छ ।

यस्तै नेपालगन्जमा एकीकृत भन्सार चाँज चौकी (आईसीपी) निर्माणाधीन चरणमै छ भने भैरहवामा प्राथमिक चरणको काम सकिएको समितले जनाएको छ ।

निर्माणाधीन आयोजनाको प्रगति 

दक्षिणको भारती सीमातर्फ तीन, चीनतर्फ दुई र दुवै मुलुक तथा तेस्रो देशबाट प्रत्यक्ष जोडिने एक गरी ६ वटा व्यापार पूर्वाधारका आयोजनामा अहिले काम गरिरहेको छ । कुन पूर्वाधारको काम कति भईरहेको छ ।

काठमाडौंमा निर्माणाधीन चोभार सुख्खा बन्दरगाहको काम ६२ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । काठमाडौंलाई केन्दि्रत गरेर भारत, चीन तथा तेस्रो मुलुक भएर हुने व्यापारको सहजीकरण बिन्दुको रुपमा यस सुख्खाबन्दरगाहलाई लिइएको छ ।

आगामी वैशाखसम्म बन्दरगाह निर्माण सक्ने लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । आन्तरिक प्रशासनिक भवन, वेयर हाउस, एक्जिम एरियाको पूर्वाधार निर्माणको कार्य अहिले सकिएको छ ।

चीनको रसुवागढी नाका भएर नेपालमा हुने व्यापारको सहजीकरण बिन्दुको रुपमा टिम्मुरेको सुख्खा बन्दरगाहलाई मानिएको छ । चीन सरकारको सहयोगमा निर्माण भईरहेको यो आयोजनाको सम्पूर्ण निर्माण जिम्मा पनि चिनियाँले नै लिएका छन् । निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण हुने यो सुख्खा बन्दरगाह पूर्वाधार निर्माणको काम ९ प्रतिशत मात्रै छ ।

भारतको सहयोगमा निर्माण गर्ने भनिएको भैरहवा एकीकृत जाँच चौकीको प्रारम्भिक चरणको काम भइरहेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । यो पूर्वाधारको प्राविधिक, आर्थिक सहयोग भारत सरकारकै हुनेछ भने परियोजनामा काम थाल्न हाल जग्गा अधिग्रहणको काम सकिएको छ । नेपाल भारत बेलहिया -भैरहवा) नाकाबाट हुने व्यापारलाई यो पूर्वाधारले सहज बनाउँछ ।

भारत सरकारकै सहयोगमा निर्माण हुने नेपालगन्ज आईसीपीको प्रारम्भिक चरणको निर्माण गत असोजदेखि सुरु भएको छ । आईसीपी बन्ने जग्गा सम्याउने प्राथमिक चरणको काम अहिले चलिरहेको छ ।

सुदूरपश्चिमको विकाससँग प्रत्यक्ष जोडिएको चाँदनी दोधरा र चीनसँग मध्यनेपाल हुँदै भारत जोड्ने मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न अध्ययन जारी छ । कञ्चनपुरको महाकाली नगरपालिकाको दोधरा चाँदनीमा २८० बिगाहा जमिनमा भारतको बनबासा एकीकृत जाँच चौकी जोड्ने गरी सुख्खा बन्दरगाहको अध्ययन सकिएको छ ।

यो पूर्वाधार निर्माण गर्दा अहिले जमिन प्राप्तिको काम चलिरहेको छ । आगामी वैशाखसम्म आयोजनाको मास्टर प्लान बनिसक्ने छ । अबको २४ महिनामा सबै प्रविधिक काम सकेर निर्माणमा अघि बढ्ने गरी आयोजनामा काम गरिरहेको विकास समितिले जनाएको छ ।

यस्तै चीनतर्फको कोरोला नाकामा सुख्खा बन्दरगाह निर्माण गर्न भौगोलिक अध्ययन तथा सर्भे हुँदैछ भने प्रारम्भिक चरणको रिर्पोट बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment