Comments Add Comment

वीरगञ्जमा पहिलो संक्रमितको उपचार गर्ने नर्सलाई पहिलो खोप

स्वास्थ्यकर्मी भन्छन् : खोप लगाएपछि मनोबल बढेको छ

१४ माघ, वीरगञ्ज । वीरगञ्जमा ०६७ चैत २९ गते तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भयो ।

प्रदेश २ मा भेटिएको कोरोना संक्रमणको पहिलो केस नै यही थियो । त्यसबखत कोरोना भनेपछि चिकित्सक स्वास्थ्यकर्मी स्वयं डराउँथे । शंकास्पद संक्रमितलाई आइसोलेसनमा राखिएपनि संक्रमितको उपचारको अनुभव कसैसँग थिएन ।

त्यो समयमा संक्रमितको उपचार गर्नुलाई जिम्मेवारी ठानेर नर्सिङ स्टाफको नेतृत्व गर्ने व्यक्ति थिइन्, नर्स अहेमा थापा । उनै नर्स थापालाई पहिलो भ्याक्सिन लगाएर वीरगञ्जमा कोभिड–१९ विरुद्धको खोप अभियानको शुरुवात गरिएको छ । नर्स थापा तीन जना भारतीय नागरिकको उपचारमा संलग्न नर्स हुन् ।

नारायणी अस्पतालका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय नर्सिङ स्टाफ र मेडिकल डिपार्टमेन्टले कोरोना नियन्त्रणमा अतुलनीय भूमिका निर्वाह गरेको बताउँछन् । कोरोनाविरुद्ध खोप अभियानको शुभारम्भ फ्रन्टलाइनमा खटिएकी नर्सबाट सुरुवात हुँदा कामको सम्मान समेत भएको उनको भनाइ छ ।

‘कोरोना महामारी नेपालमा भर्खरै प्रवेश गरेको समय थियो । के हो, कसो हो कसैलाई केही थाहा थिएन । चिकित्सक स्वास्थ्यकर्मीसमेत डराउनु स्वाभाविक हो । नर्सिङ र मेडिसिन डिपार्टमेन्टले एकदमै सहयोग गर्नुभयो’ डा. उपाध्यायले भने, ‘४० थान पीपीई सेट, स्वास्थ्यकर्मीको जिम्मेवारी बाहेक हामीसँग केही थिएन, नर्स अहेमाले नर्सिङ स्टाफको नेतृत्व गरेर सहास देखाउनुभएकै हो । उहाँको टिमले गरेपछि अरुले नाई नास्ती गरेनन ।’

एनआईसीयू इन्चार्जसमेत रहेकी नर्स थापाले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउँदा एकदमै खुशी लागेको बताइन् । ‘वीरगञ्जमा कोभिड आउँदा सुरुमा काम गरेका हौं, सुरक्षित बस्ने हो, डराउने कुरै भएन’ उनले भनिन्, ‘भ्याक्सिन लगाउनुर्ने थियो, काम गर्दा पहिलो भएजस्तै खोप लगाउन पहिलो भएँ । खुशी लागेको छ । कोभिड विरुद्ध लड्नका लागि सहयोग मिल्ने भयो ।’

खोप लगाइसकेपछि आफूलाई अप्ठेरो महसुस नभएको उनले बताइन् । कोरोना संक्रमितको उपचारमा पहिलो चरणमा थापा, मनिषा पाण्डेलगायतको टिमले काम गरेको थियो । उनीहरु क्वारेन्टिन बसेपछि संक्रमितको उपचारमा खटिएकी स्टाफ नर्स अञ्जना श्रेष्ठले पनि कोभिड–१९ विरुद्धको खोप लगाएकी छन् । खोप लगाउन पाउँदा गौरवको अनुभूति भएको उनले बताइन् ।

‘परिवारबाट सुरुमा नलगाउने कि भन्ने थियो, तर खोपको बारेमा अध्ययन गरेपछि ठीकै छ भन्ने भयो र लगाउने निर्णयमा पुगेका हौं’ नर्स श्रेष्ठले भनिन् ‘कोभिडमा काम गर्दा पनि अगाडि थियौं, खोप लगाउँदा पनि अगाडि नै लगाउन पायौं, गौरवको अनुभूति भइरहेको छ ।’

खोप लगाएका चिकित्सक डा. निरज सिंहले ढुक्कले बिरामी उपचार गर्ने मनोबल बढेको बताए । ‘कोभिडमा पनि काम त गरिरहेका थियौं । तर मानसिक रुपमा कता कता केही भइहाल्ने हो कि भन्ने डर रहन्थ्यो’ उनले भने, ‘खोप लगाएपछि मनोबल बढेको छ । मानसिक तनाव हटेको छ । स्वास्थ्य सुरक्षा सतर्कताका साथ ढुक्कले विरामी हेर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment