+

अलराउण्ड प्रदर्शन गरेका भुवन भन्छन्- रणनीतिमा सफल भयौँ

२०७७ माघ  १५ गते ८:१३ २०७७ माघ १५ गते ८:१३
अलराउण्ड प्रदर्शन गरेका भुवन भन्छन्- रणनीतिमा सफल भयौँ

१५ माघ, काठमाडौं । भुवन कार्कीले अलराउण्ड प्रदर्शन गरेपछि प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा स्थान बनायो ।

विभागीय डर्बीमा ३० रनको जित हात पार्दा भुवनले एपीएफका लागि दोस्रो धेरै रन बनाए भने सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच समेत बने ।

उनले ओपनिङ बलिङ गरे विकेट समेत लिए । साथै पुलिसको अन्तिम विकेट लिएर गेम समेत फिनिस गरे ।

त्यसअघि उनले टप अर्डर ब्याट्सम्यान नचल्दा सातौँ नम्बरमा ब्याटिङ गर्दै ४२ रन योगदान दिएका थिए । भुवनले ५६ बल खेल्दै १ चौका र २ छक्का समेत प्रहार गरे ।

यस्तै म्यान अफ दि म्याच भुवनले रणनीति अनुसार नै खेलेकाले सफल भएको बताए । उनले भने, ‘सेमिफाइनल म्याच हो, प्रेसर म्याच थियो । हामीले जुन योजना लिएर गएका थियौँ बीचमा केही बिग्रिए पनि लास्टमा सफल भएका थियौँ र खेल जित्यौँ ।’

उनले ४५ ओभरसम्म टिकेर खेल्ने र त्यसपछि रनको लागि जाने योजना रहेको र त्यही अनुसार खेलेको बताए । ‘ब्याटिङ ४५ ओभरसम्म रिक्स नलिई लैजाने योजना थियो। लास्टको ५ ओभर मात्र रनको लागि हेर्ने भनेर खेलेका थियौँ ।’

यस्तै आफू आउट हुँदा अर्धशतक नपुगेको भन्दा पनि टिमलाई रन चाहिएको अवस्था रहेकाले केही निराश भएको सुनाए । ‘आफू आउट हुँदा मेरो ५० भन्दा पनि रनको लागि हेरिरहेको थिएँ र रनको आवश्यकता परिरहेको थियो ।’

भुवनले आफू अनुभवी बलर भएको र पुलिसलाई सुरुदेखि दबावमा राख्न ओपनिङ बलिङ गरेको बताए । ‘खेलमा टार्गेट पनि कम थियो र अनुभवको आधारमा पनि म नै अनुभवी भएकाले सुरुदेखि नै उनीहरुलाई प्रेसरमा राखेर अघि बढ्ने योजना थियो । त्यसैले ओपनिङ बलिङ गरेँ ।’

भुवनले ब्याटिङमा जस्तै बलिङमा पनि पार्टनरसिप महत्वपूर्ण रहेको र पुलिसविरुद्ध कमल ऐरी र आफ्नो जोडीले काम गरेको बताए । ‘ब्याटिङ र बलिङ दुवैमा पार्टनरसिपको महत्व हुन्छ । कमल र मेरो पार्टनरसिप पनि जम्यो । उसले विकेट लिँदा मेले रन च्यापिरहेको हुन्छु मैले विकेट लिँदा उसले रन च्यापिएको हुन्छ ।’

यस्तै उनले आफ्नो चोट छिकै निको हुने समेत विश्वास व्यक्त गरे । ‘मलाई ह्याम्स्ट्रिङ इन्जुरी भयो, खुट्टा फर्किएर । आशा छ केही दिनमा ठिक होला,’ भुवनले भने, ‘ पछि फेरि मैदान फर्किएँ । बलर कम थियो । खेल महत्वपूर्ण थियो । उनीहरुको पार्टनरसिप भइरहेको थियो । फिजिकल्ली नसके पनि मानसिक रुपमा अनुभव प्रयोग गर्नुपर्छ भनेर फेरि बलिङ गर्न गएको थिएँ ।’

पीएम कप क्रिकेट भुवन कार्की

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय