Comments Add Comment

पीएम कप क्रिकेट : बागमती र आर्मी दोस्रो सेमिफाइनलमा खेल्दै

१५ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

बागमती समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । साविक उपविजेता आर्मी भने समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

यी दुईको विजेताले फाइनलमा एपीएफसँग उपाधिका लागि खेल्नेछन् । एपीएफले पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

बागमतीले समूह चरणमा साविक विजेता पुलिसलाई स्तब्ध पार्दै प्रतियोगिता सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिम र प्रदेश २ लाई पराजित गरेको बागमतीले अन्तिम खेलमा लुम्बिनीसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।

उता आर्मीले समूह चरणका कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लाई पराजित गरेको थियो भने एपीएफसँग हारेको थियो ।

वर्तमान राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र र अलराउण्डर पारस बाहेक अन्य खेलाडी तीन वटा विभागीय टिममा बाँडिएका छन् ।

यस्तै राष्ट्रिय टिमका विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीका रोहित पौडेल, भिम सार्की, राजेश पुलामी, विक्रम सोव, अनिल मण्डल जस्ता खेलाडी छन् । युएईमा टी-१० लिग खेल्न गएकाले सोमपाल कामी, करण केसी र कुशल मल्लले यस संस्करण आर्मीबाट खेलेनन् ।

ज्ञानेन्द्रको कप्तानीमा रहेको बागमतीमा युवा खेलाडीको बाहुल्य रहेको छ । पारस खड्का समूहको दुई खेल खेलेर टी-१० लिगका लागि युएई गइसकेका छन् ।

टिममा ज्ञानेन्द्र बाहेक राष्ट्रिय टिमबाट खेलिसकेका पृथु बास्कोटा र इशान पाण्डे छन् । यस्तै रामनरेश गिरी र नन्दन यादव तीव्र बलिङमा छन् भने युवा स्पीनर तिलक भण्डारीले पनि राम्रो खेलिरहेका छन् ।

तेस्रो संस्करणमा पनि आर्मी र बागमती नै सेमिफाइनलमा खेलेका थिए । जहाँ आर्मीले बागमतीलाई पराजित गरेको थियो । यस पटक बागमतीलाई बदला लिने अवसर छ ।

उता अहिलेसम्म तीनवटै संस्करणमा फाइनल पुगेको आर्मी त्यो इतिहासलाई कायम राख्दै फाइनल पुग्ने दाउमा छ ।

पहिलो संस्करणमा पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो र तेस्रो संस्करणमा फाइनलमा पराजित भएको थियो ।

बागमती प्रदेशका खेलाडी सर्वाधिक रन बनाउनेमा र विकेट लिनेमा पनि अगाडि छन् ।

पृथु बास्कोटा २१४ रनसहित सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन् । आर्मीका कप्तान विनोद भण्डारी यस सूचीमा पाँचौ स्थानमा छन् । उनले एक शतक सहित १५७ रन बनाएका छन् । यस्तै बागमतीका आदिल खानले १३५ र बर्मीका अनिल मण्डलले १३४ रन बनाएका छन् ।

यस्तै बलिङतर्फ समूह चरणमा बागमतीका रामनरेश गिरी र आर्मीका शहाब आलमले समान ९ विकेट लिएका छन् । यी दुईभन्दा अगाडि रहेका एपीएफका अभिनाश बोहरा सर्वाधिक विकेट लिनेमा अघि छन् । सेमिफाइनलसहित ४ खेल खेलेका उनले १० विकेट लिइसकेका छन् । शहाबले ३ र रामनरेशले ४ खेल खेलेका छन् ।

यस्तै बागमतीका नन्दन यादव र तिकल भण्डारीले समान ७ विकेट लिएका छन् । आर्मीका पार्ट टाइमर राजेश पुलामी मगरले ६ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment